Comments Add Comment

रेलबाट समान ल्याउँदा इलेक्ट्रोनिक ट्रयाकिङ सिस्टम अनिवार्य

२ फागुन, वीरगञ्ज । कलकत्ता बन्दरगाह हुँदै रेलबाट समान आयात गर्दा इलेक्ट्रोनिक कन्टेनर ट्रयाकिङ सिस्टम -ईसीटीएस) अनिवार्य गरिएको छ ।

ईसीटीएस कन्टेनरको विद्युतिय ट्रयाकिङ गर्ने आधुनिक प्रणाली हो । कलकत्ता पोर्ट ट्रष्टले सञ्चालन गरिरहेको कलकत्ता बन्दरगाहबाट छुट्ने प्रत्येक कन्टेनरमा भोलि शुक्रबारदेखि ईसीटीएस प्रणाली अन्र्तगत जीपीएस डिभाइस जडान हुनेछ ।

त्यसका लागि व्यापारीहरुले ३ हजार ३ सय भारु तिर्नुपर्ने छ । एसियाली विकास बैंक -एडिबी) को सहयोगमा यो सिस्टम लागू गरिएको कलकत्ता पोर्टका अधिकारीहरुले बताएका छन् । ईसीटीएस सिस्टम हृयान्डलिङको काम गरिरहेको कम्पनी ट्रान्स सेक्युरका प्रतिनीधि उदीप चौधरीले दुनियाँ आधुनिक प्रविधिमा गइसकेको अवस्थामा कलकत्ता मात्रै म्यानुअल रहेकाले बदल्न खोजिएको बताए ।

‘ईसीटीएस सिस्टम कार्गोको सुरक्षाका लागि लाभदायक छ । आफ्नो कन्टेनर कहाँ छ, कहिलेसम्म आइपुग्छ, घरमै बसेर इमेल र एसएमएसबाट जानकारी मिल्छ’ उनले भने, ‘अर्को पेपरलेस सिस्टम हो, यसमा सिपिङ लाइन एजेन्सी र कन्कोरको मात्रै भूमिका रहन्छ, प्रक्रियामा कुनै परिवर्तन गरिएको छैन ।’

पाइलट बेसिसमा रेलमा लागु गरिएको ईसीटीएसलाई एक/दुई वर्षपछि रोडबाट हुने आयात निर्यातमा समेत लागु गर्ने तयारी भइरहेको छ । यो सिस्टम लागु भइसकेपछि कलकत्तामा रहेका क्लियरिङ एजेन्ट -सिएचए)सँग समन्वय नगरी पनि नेपाली व्यापारीहरुले डाईरेक्ट समान आयात निर्यात गर्न सक्नेछन् । पहिला सीआईएफ कलकत्ता लेखिन्थ्यो भने अब सीआईएफ वीरगञ्ज अर्थात कन्टेनर सिधै वीरगञ्ज स्थित सुख्खा बन्दरगाहमा आइपुग्छ । यसले पेपरसम्बन्धी झन्झटिलो कामहरु गर्न लाग्ने र पैसा दुवैको बचत गर्ने दाबी गरिएको छ ।

कलकत्ता पोर्टका ट्राफिक म्यानेजर हिमांसु शेखरले नयाँ सिस्टममा जाँदा नेपाली व्यापारी र आयातकर्तालाई लाभदायक भएको बताए । ‘ईसीटीएस सिस्टममा डकुमेन्ट अनलाइन गर्न सकिन्छ । त्यो काम गर्न समय लाग्दैन’ उनले भने, ‘यसमा सिएचएको सट्टामा सिपिङ कम्पनीसँग काम हुन्छ, लोकल लजिस्टिक कम्पनीसँग सहकार्य गर्नुपर्छ ।’

सुख्खा बन्दरगाह सञ्चालक कम्पनी हिमालयन टर्मीनलका प्रमुख कार्यकारी अधिकृत विष्णु चौधरीले ईसिटिएस सिस्टमबाट जाँदा नेपाली आयातकर्ता र व्यापारीलाई धेरै फाइदा रहेको बताए । ‘यो सिस्टम लागु भईसकेपछि कलकत्ता पोर्टमा सिएचएबाट हुने हैरानीको अन्त्य हुन्छ, अहिले रेलबाट शुरु भएको छ । पछि त्यसलाई सफल पार्नुपर्छ’ उनले भने, ‘अहिले नै कलकत्तामा हुने जाम कम भईसकेको छ, ड्यारेज र डिटेन्सन घटेको छ ।’

भारतीय महावाणिज्य दुतावासका आर्थिक वाणिज्यदूत कोत्रास्वामीले अब कन्कोर र सिपिङ लाईनले सिधै सुख्खा बन्दरगाहमा समान झार्ने बताए ।

कलकत्ता पोर्ट ट्रष्टका डेपुटी चेयरम्यान बालाजी अरुण कुमारले नयाँ सिस्टममा जाँदा केहि समस्या आउने तर त्यसलाई समाधान गर्दै लैजान सकिने बताए । ‘नेपालीहरुलाई फाइदा हुन्छ भने एक दुई वर्षपछि रोडमा पनि लागु हुन्छ’ उनले भने, ‘यसबीचमा आउने समस्यालाई समाधान गर्दै लैजान सकिन्छ ।’

हल्दिया पोर्टका जनरल म्यानेजर सपन साह रोयले ठूलो परिमाणमा समान आयात गर्दा हल्दिया पोर्टको प्रयोग गर्न आग्रह गरे । ईसीटीएसबारे जानकारी दिन वीरगञ्ज उद्योग वाणिज्य संघमा आयोजित कार्यक्रममा उद्योगी व्यवसायीहरुले राखेको जिज्ञासाका बारेमा सरोकारवालाहरुले जवाफ दिएका थिए ।

यसअघि विशाखापटनमबाट पहिलो पटक ईसीटीएस -इलेक्ट्रोनिक कन्टेनर ट्रयाकिङ सिस्टम) जडित कन्टेनर नेपाल भित्रिएको ५ महिनापछि कलकत्ताले पनि त्यसलाई अनिवार्य गर्न लागेको हो । वीरगञ्जस्थित सुख्खा बन्दरगाहमा रेलमार्ग हुँदै गत भदौ २५ गते पहिलो पटक ईसीटीएस अन्र्तगत जीपीएस डिभाइस जडित कन्टेनर आइपुगेको थियो ।

वीरगञ्जका व्यापारीहरु पनि खुशी

ईलेक्ट्रोनिक ट्रयाकिङ सिस्टमबाट कन्टेनर मगाउन शुरु गरिसकेका व्यापारीहरुले यसलाई स्वागत गरेका छन् । उनीहरुले वीरगञ्जका आयातकर्ता, व्यापारीहरुले भोग्नुपरेको समस्याको बारेमा जानकारी गराउँदै दुवै पक्ष मिलेर त्यसलाई समाधान गनुपर्ने बताए ।

वीरगञ्ज उद्योग वाणिज्य संघ यातायात व्यवस्था समितिका संयोजक समेत रहेका अशोक टेमानीले तत्काल केहि झन्झट भएपनि विस्तारै सकारात्मक प्रभाव पर्ने विश्वास व्यक्त गरे । ‘अहिले कतिपय साथीहरुले सिस्टमको बारेमा नबुझेर बेकारमा ३३ सय भारतीय रुपैयाँ प्रति कन्टेर लिइरहेको भनेर गुनासो पनि गर्नुभएको छ । तर, एजेन्टको रोल नहुने र पेपरलेस सिस्टम भएकोले समय र पैसा दुवैको बचत हुन्छ भन्ने छ’ उनले भने, ‘के कस्तो प्रभाव पर्छ, यसको यथार्थ त भोलिबाटै थाहा हुन्छ ।’

वीरगञ्ज उद्योग वाणिज्य संघका अध्यक्ष गोपाल केडियाले विलम्ब शुल्क लगायत विभिन्न शुल्कको मारमा परेका नेपाली व्यापारी तथा आयातकर्तालाई विद्युतिय ट्रयाकिङ प्रणाली लाभदायक हुने विश्वास व्यक्त गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment