Comments Add Comment

महिला फुटबल : इतिहास रच्नबाट चुक्यो नेपाल, फाइनलमा पराजित

काठमाडौं । फाइनलमा म्यानमारसँग पराजित हुँदै नेपाल हिरो महिला गोल्डकपको उपविजेतामा सीमित भएको छ ।

शुक्रबार साँझ भएको फाइनलमा नेपाल बलियो टोली म्यानमारसँग ३–१ ले पराजित भएको हो । यद्यपी फाइनलमा पुग्ने क्रममा भारत र इरानमाथि हात पारेको जित भने नेपाली महिला फुटबलको उपलब्धी हो ।

भारत भुवनेश्वरको कालिंगा रंगशालामा भएको फाइनल खेलको ३४ औँ मिनेटमा म्यानमारले गोल गर्दै बनाएको १–० को अग्रता नेपालकी मञ्जली योञ्जनले ४५ औं मिनेटमा बराबरी गरेकी थिइन् । पहिलो हाफमा १–१ को बराबरी भएको खेलको दोस्रो हाफ नेपालका लागि राम्रो हुन सकेन ।

खेलको ५२ औैं मिनेटमा म्यानमारले अग्रता बनाएर खेल २–१ मा पुर्‍याएको थियो । त्यसको १० मिनेटपछि ६२ औं मिनेटमा म्यानमारले अग्रता ३–१ बनाएको थियो ।

६७ औं मिनेटमा मिडफिल्डर रेनुका नगरकोटीको स्थानमा फरवार्ड निरु थापालाई मैदान छिराए पनि प्रशिक्षक हरि खड्काको योजना सफल हुन सकेन । पहिलो हाफमा राम्रो बचाव गरिरहेको नेपाल टिममा दोस्रो हाफमा स्टामिनामा समस्या देखिएको थियो ।

फिफा वरियतामा म्यानमार ४४ औं स्थानमा छ भने नेपाल १०८ औं स्थानमा । आफूभन्दा ६४ स्थानमाथिको टीमसँगको खेलमा नेपालले केही सम्हालिएको खेल देखाए पनि डिफेन्स लाइन सोचेजस्तो बलियो बन्न सकेन ।

४–५–१ को फर्मेसनमा खेलेको नेपालका लागि फरवार्ड लाइनमा पनि सावित्राले बनाएका केही राम्रा मुभ रिसिभ गर्ने खेलाडीको अभाव देखिएको थियो । त्यसले गर्दा बलियो टोली म्यानमारलाई हराएर पहिलो अन्तर्राष्ट्रिय उपाधि जित्ने नेपालको अवसर गुम्न पुग्यो ।

गोल्डकपकै राउण्ड रोबिनको पहिलो खेलमा पनि नेपाल म्यानमारसँग ३–० ले हारेको थियो । त्यसपछिका खेलमा भने नेपालले भारतलाई २–१ ले र इरानलाई ३–० ले हराएर फाइनल पुगेको थियो । म्यानमारले भने राउण्ड रोबिनमा पनि तीनै खेल जितेर दबदबा देखाएको थियो ।

यसअघि गएको कात्तिक २५ गते ओलम्पिक महिला फुटबलको एसिया छनोटमा नेपालले म्यानमारसँग १–१ गोलको बराबरी खेलेको थियो ।

हिरो महिला गोल्डकप प्रतियोगितालाई आउँदो मार्चमा नेपालकै विराटनगरमा हुने पाँचौ संस्करणको साफ महिला च्याम्पियनसिपको तयारीका रुपमा लिइएको थियो ।

साफ च्याम्पियनसिपको यसअघिका चार संस्करण सकिँदासम्म नेपाल तीनपटक उपविजेता बन्दा भारत हरेकपटक विजेता बनेको छ । त्यसैले पनि हिरो गोल्डकपमा भारतविरुद्धको जित नेपालको मनोबल बलियो बनाउन फलदायी भएको छ ।

साफ च्याम्पियनसीपमा समूह ए मा आयोजक नेपालसँगै बंगलादेश, पाकिस्तान र भुटान छन् भने समूह बीमा भने भारत, माल्दिभ्स र श्रीलंका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment