Comments Add Comment

कलंकी–कोटेश्वर सडकको त्रुटि पहिल्याउन विज्ञलाई जिम्मा

२५ माघ, काठमाडौं । सडक विभागले कलंकी–सातदोबाटो–कोटेश्वर सडकखण्ड निर्माणका क्रममा कमजोरी केलाउन विज्ञ समूहलाई अध्ययनको जिम्मा दिने भएको छ ।

चीन सरकारको सहयोगमा ८ लेनको बनाइएको यो सडक हालै मात्र नेपाल सरकारलाई हस्तान्तरण भएको थियो । त्यसलगतै प्रारम्भिक अध्ययन गरेको सडक पैदलयात्रु र चालकमैत्री नदेखिएपछि विज्ञ समूह नै खटाएर अध्ययन गर्ने निश्कर्षमा सडक विभाग पुगेको छ ।

विभागका सडक तथा ट्राफिक इकाई प्रमुख दीप बाराहीले आगामी आइतबार सम्झौता गरी विज्ञ समूहलाई अध्ययनको जिम्मा दिइने जानकारी दिए । उक्त समूहले एक महिनाभित्र अध्ययन सकेर त्रुटि किटान गरी विभागलाई प्रतिवेदन दिनेछ ।

‘पैदलयात्रुलाई प्राथमिकता नदिएको देखियो, यो सडकमा चालकलाई पनि उस्तै समस्या पर्ने देख्यौं, चिनियाँहरुले एक्प्रेस–वे बनाइदिएकाले हाम्रो अनुकूल नभएको देखिएको छ’, उनले भने ।

सडकखण्डको बीचको ४ लेनको अधिकतम स्पिड लिमिट ५० किलोमिटर प्रतिघण्टा हो । दायाँबायाँका सर्भिस लेनमा २० किलोमिटर प्रतिघण्टाका दरले सवारी चलाउन सकिन्छ ।

तर, चिल्लो सडक देखेपछि सवारी चालकले अधिकतम् गति सीमाको समेत ख्याल नगरी रफ्तारमा गाडी चलाउने गर्छन् । साथै सहरी सडकमा तोकिएको सीमा पनि अधिकतम् हुने विज्ञहरु बताउँछन् । चालकहरुले ५० किलोमिटर प्रतिघण्टाको गति पनि उल्लघंन गरेर मनपरी सवारी हाँक्दा पैदलयात्रु समस्यामा पर्ने गरेका छन् ।

यो पनि पढ्नुहोस् : विस्तारित चक्रपथ : भब्य सडकमा त्रुटि नै त्रुटि (भिडियोसहित)

त्यसैले सवारी गति नियन्त्रण गर्न तत्कालै ठाउँठाउँमा ‘ब्रेकर’ राखेर ट्राफिक प्रहरीसँगको सहकार्यमा स्पिड लिमिट कन्ट्रोल गर्ने विभागको तयारी रहेको बाराहीले बताए । यो सडकखण्डमा पर्याप्त जेब्रा क्रसिङ नहुँदा पैदलयात्रुले जोखिम मोलेर सडक पार गर्दै आएका छन् । कोटश्वर, ग्वार्की, सातदोबोटो, एकान्तकुना, बल्खु र कलंकीमा मात्र जेब्रा क्रसिङ छ । यहाँ पैदलयात्रुका लागि फुटपाथ छैन, साइकल पनि लेन छैन ।

काटेश्वर, ग्वार्को र बागडोलमा मात्रै आकाशे पुल बनेको छ । करिब ३ किलोमिटर पार गरेपछि मात्रै अहिले आकाशे पुलहरु भेटिन्छन् । मुख्य चोकहरुमै आकाशे पुल नहुँदा बाटो काट्न गाह्रो छ । सडक विभागले अन्य ६ स्थानमा आकाशे पुल थपिने बताएको छ ।

चिनियाँ कम्पनीको डिजाइनलाई जस्ताको तस्तै स्वीकार्दा नेपालको सडक संरचना, आवश्यक्ता, स्थानीय परिवेश, नेपाली चालक र पैदल यात्रुहरुको प्रवृत्ति अनुकुल सडक नबनेको विज्ञहरु बताउँछन् ।

चक्रपथ सुधार आयोजना अन्तर्गतको १०.३९ किलोमिटरको कलंकी–सातदोबाटो–कोटेश्वर खण्ड ५ वर्ष लगाएर निर्माण सम्पन्न गरी चीनले गत १३ माघमा नेपाल सरकारलाई हस्तान्तरण गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment