Comments Add Comment

केही तत्वहरु आलोचनामै सुत्छन्, आलोचनामै ब्युँझन्छन् : गोकुल बास्कोटा

३ फागुन, काठमाडौं । केपी ओली नेतृत्वको सरकारले एक वर्षमा केके काम गर्‍यो ? यसको विवरण प्रधानमन्त्रीबाटै विहीबार सार्वजनिक भइसकेको छ । यसबारेमा सरकारका प्रवक्ताले बताइरहनु पर्ने अवस्था नै रहेन ।

तथापि हामीले एक वर्षमा सरकारले के–के काम गर्‍यो भन्ने प्रश्न सरकारका प्रवक्ता एवं सञ्चारमन्त्री गोकुल बास्कोटालाई समेत सोधेका छौं ।

सरकारका कामबारे मन्त्री बास्कोटासँगको भिडियोवार्तामा फेहरिस्थ प्रस्तुत छ । त्यसअघि यहाँ सरकारको आलोचनाको ग्राफ घटेको हो कि हैन भन्ने प्रश्न र मन्त्रीको जवाफ प्रस्तुत गरिएको छ ।

हामीले मन्त्री बास्कोटासँगको भिडियो वार्ता व्यक्तिगत प्रश्नबाट सुरु गरेका थियौं–

धेरै मानिसहरुले तपाईलाई प्रधानमन्त्री केपी ओलीको ‘कार्बनकपी’ ‘फोटोकपी’ इत्यादि भनेर टिप्पणी गर्छन्, किन होला ?

त्यो उहाँहरुले नै जान्नुपर्छ । त्यसको जवाफ मसित हुँदैन । सकारात्मक वा नकारात्मक कोणबाट विश्लेषण आ–आफ्नै हुन्छन्, त्यसमा मेरो कुनै टिप्पणी रहँदैन । यस कारणले भनेको हुनुपर्छ कि प्रधानमन्त्रीको प्रवक्ता त म आफैं हुँ ।

लोकतान्त्रिक प्रणालीमा आलोचनाविनाको नेतृत्व सम्भव हुँदैन । त्यसैले सबैभन्दा बढी केही पात्रहरुले आलोचना गर्नुभयो होला । जनताले सबैभन्दा बढी गर्नुभएको छैन । जहाँसम्म कार्बन कपी भन्ने छ, त्यो उहाँहरुको दृष्टिदोष हुन सक्छ ।

तपाई मन्त्री क्वार्टरमा नभई केपी ओलीको घर (बालकोट) मै गएर बस्नुभएको छ, त्यही भएर पनि त्यसो भनिएको हो कि ?

केपी ओली प्रधानमन्त्री हो । मेरो पार्टीको अध्यक्ष हो । उहाँले नियुक्ति गरेको म सञ्चारमन्त्री हुँ । र, म यसबाट (बालकोटमा बस्दा) राज्यलाई के घाटा परेको छ र ? घरमा बस्ने कुरा र कार्बनकपीको कुरा त एउटै हुनै सक्दैन । त्यो भिन्न कुरा हो ।

संयोगले त्यस्तो पर्न गयो । मैले डेरा नपाएपछि गएर बसें । सरकारको ४० हजार रुपैयाँ त महिनामा जोगिएकै छ । त्यो गरीब जनताके पैसा जोगिएको छ । मन्त्रीले पाउने घरभाडा मैले लिएको छैन ।

एक वर्ष पुगेको उपलक्ष्यमा बधाइ दिइरहँदा तपाईहरुले जनताबाट बधाई पाउने गरी कम गर्नुभएन । यो कुरालाई तपाई कति प्रतिशत स्वीकार गर्नुहुन्छ ?

हाम्रो समाज त हिजो निर्वाचनकै बेलामा पनि विभाजित थियो । दृष्टिकोण विभाजित थियो । कार्यशैली विभाजित थियो । उद्देश्यहरुमा विभाजन थियो । यस हिसाबले अहिले आलोचनारहित भइयो भन्ने लाग्दैन । तर, आलोचनाको पहाडले नै थिच्यो, अब हामी त्यहाँबाट निस्कनै सक्दैनौं, हाम्रो अन्तिम विन्दु नै यत्ति हो भन्ने विन्दुमा पुगेका छैनौं । आलोचनाहरु छन् भने हामी दुई कान खोलेरै सुन्छौं । आँखा खुल्ला राखेरै हेर्छौं र जनताको आशा, अपेक्षा र भरोसालाई हामी गिर्न दिँदैनौं ।

तपाईले एउटा कार्यक्रममा भन्नुभएको थियो, सरकार जनताको आँखाको नानी पनि हो, तारो पनि हो । एक वर्षमा आँखाको नानी बन्ने काम गर्न सक्नुभएन, त्यसैले तारो बन्नुभयो हैन त ?

के केमा बनेन ? जस्तो कि म तपाईलाई बताउँछु, हामीले सरकार सम्हालिरहँदा यो देशमा संघीयताको परिकल्पना थियो तर त्यसको व्यवस्थापनको पहिलो दायित्व र चुनौती हाम्रो हातमा थियो ।

तीन तहको सरकारका निम्ति कर्मचारीहरुको व्यवस्थापन, संगठनात्मक संरचनाको व्यवस्थापन मात्रै होइन, त्यसको कानूनी व्यवस्थापनका निम्ति पनि आजसम्म हामीले प्रयत्न गरिरहेका छौं ।

हामीले फागुन २१ गतेसम्म ४०/५० वटा कानूनहरु टुंगो लगाउन बाँकी छ, जसले संघीयता कार्यान्वयन गर्नुपर्ने हुन्छ । के संघीयता कार्यान्वयनको प्रश्नमा सरकार चुक्यो ? किनभने, पहिलो काम यही थियो ।

तर, तपाईहरुमाथि संघीयता कार्यान्वयन गर्न चुकेको भन्ने आरोप छ । प्रदेशहरुलाई अधिकार दिइएन भन्ने कुराहहरु त उठिरहेका छन् नि ? मुख्यमन्त्रीहरुबाटै यस्ता कुरा आइरहेका छन्….

सुन्नोस्, हामी नयाँ व्यवस्थामा छौं । नयाँ व्यवस्थामा सोचेको जति सबै कुरा सम्भव नहोला । तर, के कुरा बुझ्नुपर्छ भने हामीले परिकल्पना गरेको व्यवस्था पहिलोपल्ट कार्यान्वयनमा जाँदैछ भनेपछि केही न केही राष्ट्रको क्षमताको कुरा पनि त होला । यी कुरालाई भुलेर आलोचना आलोचना आलोचना । केही तत्वहरु त आलोचनामै रमाएका छन्, आलोचनामै सुत्छन्, आलोचनामै ब्युँझन्छन्, आलोचनामै रुन्छन्, आलोचनामै हाँस्छन् ।

सरकारको समग्र असफलताको उद्देश्य राखेर त्यसमा रमाउनेहरुलाई हामी केही पनि भन्न सक्दैनौं । तपाईले पनि असफल असफल मात्रै भनिरहनुभयो, म बताउँदै थिएँ, हामीले केही कानूनहरु ल्यायौं । केही कानूनहरु बन्दैछन्, यो यही वर्षभित्र पूरा हुँदैछ ।

कानून कार्यान्वयनको विषयमा हामी आउँला, तपाईले केही मान्छेहरु आलोचनामै रमाउँछन् भन्नुभएको छ, हिजो केपी ओलीका प्रशंसकहरु पनि अहिले आलोचक बनेका हुन् कि ? सरकारको लोकप्रियताको ग्राफ घटेको हो कि हैन ?

यसो भन्न सक्छु म– ग्राफ कति घट्यो घटेन भन्ने कुरा पनि काठमाडौंभित्र बसेर विभिन्न मिडियाहरुबाट चलाइएको अभियानले भ्रम पारेको छ । आलोचनाको ग्राफ बढेको छ म भन्न सक्दिनँ । आलोचनाको ग्राफ छ भने पनि क्रमशः कमजोर यस कारणले हुँदै जान्छ कि मैले बताएँ, संघीयता कार्यान्वयन यो एक वर्ष पूर्णरुपमा भइसक्छ । यो पहिलो काम हामीले गर्‍यौं । यही हो एक नम्बरको ठूलो चुनौती ।

भनेपछि ग्राफ घटाएर भए पनि यसमा लाग्नुभयो ?

हामी सधैं ग्राफको चिन्ता गर्दैनौं, हामी कामको चिन्ता गर्छौं । ग्राफ त पछि काम हेरेपछि जनताले आफैं मूल्यांकन गर्दिन्छन् । यो नौ महिने सरकार होइन नि । यो ५ वर्षका लागि निर्वाचित भएको सरकार हो । तपाईले नयाँ गाडी किन्नुभयो, तर, तपाईसँग राजमार्ग थिएन । राजमार्ग भनेको कानून हो । कानून टुंग्याएपछि अब हाम्रो सम्पूर्ण ध्यान जनताको दैनिक जीवनसँग जोडिएको विषयमा केन्द्रित हुन्छ ।

अहिले पनि कतिपय कानूनहरु पेश गर्न पाइएको छैन । पेश गरिएका कानूनहरु छलफलमा ल्याउन पाइएको छैन । काम गर्न आफूले नदिने अनि सरकारले गरेन भनेर गीत बजाएर, मादल ठोकेर, तबेला बजाएर, कर्नाल फुकेर चोक गल्लीमा नाच्ने कुरा पनि त राम्रो हैन होला ।

तर, यो भनिरहँदा प्रधानमन्त्री र तपाई दुबैले अलि बढी बोलेर विपक्षीमाथि प्रहार गर्ने, काम नगर्ने, गालीमात्रै गर्ने छवि बनाउन थालेको जस्तो लाग्दैन ?

एक वर्षमा हामीले के–के काम गर्‍यौं भन्ने कुराको म तपाईलाई फेहरिस्त दिन सक्छु ।

हेर्नुहोस् भिडियो वार्ता

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment