Comments Add Comment

प्रचण्ड प्रधानमन्त्री बन्ने ‘च्याप्टर क्लोज’ भएकै हो ?

नेकपामा केपी ओली समूह थप हाबी

३ फागुन, काठमाडौं । जतिबेला तत्कालीन माओवादी केन्द्र र एमालेवीच पार्टी एकताको गृहकार्य भइरहेको थियो, त्यसबेला केपी ओली र प्रचण्ड आलोपालो प्रधानमन्त्री हुने चर्चा चलेको थियो । अढाइ/अढाइ वर्ष ओली/प्रचण्डले आलोपालो प्रधानमन्त्री चलाउने चर्चा त्यसबेला खुबै चल्यो । विशेष गरी माओवादी कित्ताबाट यो विषयलाई बढी जोड दिइयो ।

अहिले केपी शर्मा ओलीको नेतृत्वमा सरकार गठन भएको एक वर्षसम्म आइपुग्दा ‘आलोपालो प्रधानमन्त्री’ को मुद्दा लगभग खारेज भएको छ । प्रधानमन्त्री ओलीले सार्वजनिक मञ्चबाटै पटक पटक दोहोर्‍याइसकेका छन् कि यो सरकार ५ वर्ष आरामले चल्छ । सरकार फेरिँदैन, बानी फेरौं ।

केही दिनअघि नेपाल प्रहरीले आयोजना गरेको कार्यक्रममा प्रधानमन्त्री ओलीले यो सरकार ५ वर्षसम्म चल्ने बताए । उनले यही कुरा प्रधानमन्त्री रोजगार कार्यक्रम उदघाटनमा पनि दोहोर्‍याए । विहीबार देशवासीका नाममा सम्वोधन गर्ने क्रममा पनि प्रधानमन्त्री ओलीले सरकारको आयुको सन्दर्भ कोट्याउन बिर्सिएनन् । प्रधानमन्त्रीको पटक–पटकको यस्तो अभिव्यक्तिले अब नेकपामा ‘आलोपालो प्रधानमन्त्री’ को अध्याय लगभग समाप्त भएको स्पष्ट सन्देश दिएको छ ।

पार्टीभित्र पराकम्प आउँदा ओली नै ‘शक्तिशाली’

सुरुमा पार्टी एकता हुँदै गर्दा अध्यक्ष प्रचण्डले प्रधानमन्त्रीको पालो पर्खिएको बुझ्न गाह्रो थिएन । तर, एक वर्षको अवधिमा नेकपाभित्र आएका केही पराकम्पहरुले प्रचण्ड र माधव नेपाल खेमालाई कमजोर बनाइदियो । र, केपी ओलीलाई बलियो बनाउँदै लग्यो ।

सुरुमा वामदेव गौतमले प्रतिनिधिसभामा आउन अधीक जोड गरे । विभिन्न जिल्लाबाट उपचुनाव लड्ने प्रयास गर्दैगर्दै नेता गौतमले काठमाडौं ७ का सांसद रामवीर मानान्धरलाई प्रचण्डनिवासमा बोलाएर राजीनामा गर्न लगाए । यो प्रकरणबाट ओलीलाई के पर्‍यो भने वामदेव गौतम प्रधानमन्त्रीकै कुर्सी ताक्नका लागि संसदमा आउन खोजिरहेका छन् र यो डिजाइन दक्षिणतर्फबाट रचिँदैछ ।

अन्ततः प्रधानमन्त्री ओलीले वामदेवको अस्त्र निस्तेज पारिदिए । उनले प्रचण्डलाई विश्वासमा लिए । प्रधानमन्त्रीले वामदेव खेमालाई कमजोरमात्रै होइन, निरीह नै बनाइदिए । अहिले त्यही रामवीर प्रकरणको धक्काका कारण वामदेवको राजनीतिक ‘तेजोबध’ भएको छ । वामदेवसँग मिलेर रामवीर प्रकरणको साक्षी किनारामा बसेका प्रचण्ड भने ओलीसँग थप नजिक पुगेका छन् । यो प्रकरणले वामदेव र प्रचण्डको पुरानो घनिष्ठतामा दुरी बढाइदिएको छ ।

यो एकवर्षको वीचमा नेकपामा देखिएको दोस्रो पराकम्पका सर्जक माधव नेपाल रहे । प्रधानमन्त्री ओली विदेशमै रहेका बेला नेता नेपालले नयाँ बानेश्वरको इन्द्रेणी फुडल्याण्डमा स्थायी कमिटीका सदस्यहरुको अनौपचारिक जमघट गराए ।

पार्टी एकता र सरकार गठनका बेला प्रचण्डलाई साइजमा राख्न ओली पक्षलाई साथ दिएका नेता नेपालले सरकार गठनपछि प्रधानन्त्री ओलीमाथि असन्तुष्टि जनाउन थाले । यसवीचमा विशेष गरी पार्टीभित्रको पूर्वगुटको विषयलाई लिएर ओली र माधव नेपाल पक्षवीच अन्तरसंघर्ष चर्कन थाल्यो ।

माधव नेपाल पक्ष प्रचण्ड समूहलाई केपी ओलीबाट छुटाएर आफू नजिक ल्याउन चाहन्थ्यो । तर, सुरुमा माधव नेपाल आफैंले ओलीसँग नजिकिएर आफूलाई कर्नरमा पारेको महसुस गरेका प्रचण्डले माधव नेपाललाई खुलेर साथ दिएनन् । यसले गर्दा माधव नेपाल समूहको असन्तुष्टि विस्तारै निस्तेज बन्दै गयो र केपी ओली पार्टीभित्र थप हाबी हुँदै गए ।

यस अवधिमा, नेकपाभित्र धेरैवटा उपकाण्डहरु मच्चिए । जस्तो– बालुवाटारमा माधव नेपाल, झलनाथ खनाल, वामदेव गौतम र नारायणकाजी श्रेष्ठले एकसाथ सचिवालय बैठक बहिस्कार गरेर ओली समूहलाई अत्याउने प्रयास गरे । तर, यसमा पनि प्रचण्ड र बादलको साथ लिएर केपी ओली नै सफल बने ।

सचिवालय बैठक बहिस्कारपछि त्यसैको रापमा स्थायी कमिटीको बैठक त बस्यो । तर, त्यसलाई पनि केपी ओलीले सहजै पचाइदिए । केही दिनसम्म लगातार चलेको बैठकमा प्रधानमन्त्रीले सबै नेताहरुको विरोध र आलोचना सुने र असन्तुष्टिलाई एउटा कनले सुनेर अर्को कानले उडाइदिए । अन्ततः माधव नेपाल, झलनाथ खनाल र वामदेव समूह त्यत्तिकै मच्चियो मच्चियो अनि थच्चियो ।

यसैवीच, पार्टीमा अर्को ‘स्क्याण्डल’ मच्चियो । माधव नेपाल ‘एशिया प्यासिफिक सम्मेलन’ मा फसे । उनले आफूमात्रै होइन, प्रधानमन्त्री ओलीलाई पनि फसाए । यो घटनाले नेकपाभित्र ठूलै बैलाबैला मच्चियो । भीम रावलजस्ता नेताहरुले सम्मेलनको चर्को आलोचना गरे । प्रचण्ड, नारायणकाजी, घनश्याम भुसाललगायतका नेताहरु पनि माधव नेपालसँग झस्किए ।

यो ‘होलीवाइन काण्ड’ ले नेकपाभित्र माधव नेपाललाई थप कमजोर बनायो । जसरी वामदेव गौतमलाई रामवीर प्रकरणले खुइल्याउने काम गर्‍यो, माधव नेपाललाई एशिया प्यासिफिक सम्मेलनले पार्टीभित्र र बाहिर दुबै ठाउँमा खुइल्यायो । अन्तरराष्ट्रिय सम्बन्धमा पनि यो सम्मेलनले छिमेकीलाई झस्कायो । सम्मेलनबाट देश, पार्टी र माधव नेपाल कसैलाई पनि फाइदा भएन ।

नेकपाका अर्का शीर्षनेता झलनाथ खनालले पनि यसवीचमा घनश्याम भुसालहरुले आयोजना गरेका कार्यक्रममा उपस्थित भएर प्रधानमन्त्री ओलीको आलोचना गर्न थालिसकेका थिए । अहिले माधव नेपाल र वामदेव गौतम कमजोर भएसँगै झलनाथ खनाल पनि कमजोर बनेका छन् । उनको स्वर मथ्थर देखिएको छ ।

वामदेव, माधव र झलनाथपछि खुइलिने पालो आयो प्रचण्डको ।

नेकपामा पूर्वएमालेवीचको अन्तरविरोधकै वीचमा निरन्तर प्रधानमन्त्री केपी ओलीकै साथमा रहेर आफ्नो राजनीति सुनिश्चित गरिरहेका प्रचण्ड एकाएक ओलीसँग चिढिन थाले । त्यसैको परिणामस्वरुप वामदेव गौतम समूहका नेता बलराम बास्कोटाले तयार पारेको डिजाइन अन्तरगत भेनेजुएलासम्बन्धी प्रेस विज्ञप्तिमा प्रचण्डले जानाजान हस्ताक्षर ठोकिदिए । प्रधानमन्त्री ओली विदेशमै भएका बेला यो प्रकरण बाहिर आयो ।

भेनेजुएला प्रकरणलाई ओली समूहले मथ्थर पार्न र ‘डयामेज कन्ट्रोल’ गर्न खोज्दाखोज्दै प्रचण्डले ‘अर्को माओवादी जन्मन्छ’ भनेर सार्वजनिक मञ्चबाटै ओलीलाई थप चुनौती दिए । अन्ततः ओली र प्रचण्डवीच तीनघण्टा वार्ता भयो । यो वार्तापछि प्रचण्ड अहिले नर्भस बन्न पुगेका छन् । अब ओली समूहका अगाडि लत्रिने पालो वामदेव, झलनाथ र माधव नेपालपछि प्रचण्डको आएको छ ।

यी सबै परिस्थितिहरुले नेकपाभित्र प्रधानमन्त्री ओलीलाई बलियो बनाउँदै लगेको छ । र, यही तागतका आधारमा प्रधानमन्त्रीले हरेक कार्यक्रमहरुमा भन्न थालेका छन् कि यो सरकार अब आरामले ५ वर्षसम्म चल्छ, कसैले सरकार ढल्छ कि भनेर चिन्ता नगरे हुन्छ । भैंसी मर्छ कि भनेर चिन्ता नगरे हुन्छ ।

प्रचण्डलाई फकाउने, अरुलाई थकाउने

प्रधानमन्त्री ओलीले विहीबार उर्जा मन्त्रालयको कार्यक्रममा प्रचण्डसँगको आफ्नो एकता कमजोर धरातलमा नरहेको सन्देश दिन खोजे । बुधबारको अर्को कार्यक्रममा उनले आमा र बाबु दुबैको कान फुकेर नेकपामा झगडा ल्याउन खोजिएको आरोप लगाए ।

प्रधानमन्त्रीका अभव्यक्तिहरुबाट के देखिन्छ भने उनी अर्का अध्यक्ष प्रचण्डलाई फकाएर पार्टीभित्रका अन्य समूहलाई साइजमा राख्न चाहन्छन् । यसका लागि प्रचण्ड पनि सहज बन्दै आइरहेका छन् ।

अन्ततः केही दिनअघिसम्म मात्रै ‘अर्को माओवादी जन्मन्छ’ भनेजुएलाबारे सचिवालयले बोलिसक्यो भनिरहेका प्रचण्डको अभिव्यक्तिको भोल्युम एकाएक घटेको देखिन्छ भने प्रधानमन्त्रीको अभिव्यक्तिको भोल्युम ‘लाउड’ बन्न थालेको छ । प्रचण्डले फगुन १ गते जनयुद्ध दिवसका दिन धुम्बाराहीमा आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीको प्रशंग कोट्याए । प्रधानमन्त्री ओली व्यस्त भएकाले कार्यक्रममा आउन नपाएको तर, उनीसँग आफूले बालुवाटारमा भेटेर सल्लाह गरेरै अघि बढ्ने काम भएको भन्दै प्रचण्डले ओलीको बचाउ गरे ।

कार्पेटमुनि कोइला !

नेकपाभित्रको अन्तरविरोधमा प्रधानमन्त्री केपी शर्मा ओली हाबी हुन थालेको देखिए पनि परिस्थिति उनका लागि सहज बनिसकेको छैन । प्रधानमन्त्री ओलीले पार्टीभित्रका सबैलाई चित्त बुझाएर भन्दा पनि ह्याकुलाले मिचेर आफूलाई अफेन्सिभ बनाउँदै लगेको देखिन्छ । यो स्थितिमा भोलि कुनै पनि बेला पार्टीभित्रको अन्तरविरोध अर्को पराकम्पका रुपमा देखा पर्ने सम्भावना टरिसकेको छैन ।

सत्तारुढ दल नेकपामा अझै केही समस्याहरु विद्यमान छन् । जस्तो– माधव नेपाल, वामदेव, र झलनाथ खनाल पक्षका पूर्वएमाले नेताहरुले ओली सरकारलाई मनैदेखि सहयोग गरेका छैनन् । अरिंगाल बन्न आग्रह गर्दा पनि उनीहरु सरकारको बचाउमा हैन, आलोचनामै केन्द्रित छन् । यो, मौन बसेका छन् ।

यो परिस्थितिलाई अर्को भाषामा भन्ने हो भने प्रधानमन्त्री ओलीले पार्टीभित्रको ठूलो समूहलाई साथमा लिएर अगाडि बढ्न सकिरहेका छैनन्, आफ्नै गुटका भरमा मात्रै सरकार चलाइरहेका छन् । प्रधानमन्त्री ओलीले सबैसँग मिलेर अघि बढ्ने भन्दा पनि आलोचकहरुलाई गाली गर्दै घमण्ड प्रदर्शन गर्ने पुरानै बानीलाई निरन्तरता दिइरहेका छन् ।

ओली पक्षका नेताहरुको गुनासो के छ भने माधव नेपाल पक्षका नेताले सरकारलाई सहयोग गरेनन् । उता माधव पक्षका नेताको गुनासो छ– ओलीले हामीलाई बाइपास गरेर एक्लै हिँड्न खोजे ।

नेकपामा अर्को भवितव्यको खतरा के छ भने पार्टी सञ्चालन प्रक्रिया विधिसम्मत हुन सकेको देखिँदैन । पार्टीले सरकार होइन, सरकारले पार्टी चलाइरहेको अवस्था छ । सरकार बनेको एक वर्षसम्म पार्टीले गर्ने भनेको समीक्षा बैठक बस्न सकेको छैन । जबकि नारायणकाजी श्रेष्ठ लगायतका केही नेताले करिब दुई दिनसम्म सरकारको मूल्यांकन र भावी योजनाबारे बेग्लै कार्यशाला सञ्चालन गरियोस् भन्दै आएका छन्, अहिलेसम्म त्यो ‘कार्यशाला’ बसेन । सरकारको मूल्यांकन पार्टीले गरिरहेको छैन, प्रधानमन्त्री एक्लैले गरिरहेका छन् ।

पार्टी एकतासम्बन्धी कार्यदलको विवाद टुंगिइसकेको छैन । स्थानीय तहमा पार्टी एकीकरणको विषय पनि टुंगिइसकेको छैन । पार्टीमा पूर्वएमाले समूहको अन्तरविरोध समाधान भएको छैन, मथ्थर मात्रै भएको छ ।

सरकार बनेको एक वर्ष बित्दै गर्दा अब प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी ओली र अर्का अध्यक्ष प्रचण्डका सामु अब नयाँ चुनौतीहरु थपिँदो अवस्थामा छन् । राम्रो काम गर्न नसक्ने मन्त्रीलाई हटाएर नयाँ टीमलाई ल्याउने कि नल्याउने ? पार्टीको महाधिवेशन कहिले र कसरी गर्ने ? अनि असन्तुष्ट बन्न थालेका मधेसी दलहरुलाई विश्वासमा लिइराख्नका लागि संविधान संशोधन गर्ने कि गत वर्षजस्तै यसबारे मौन बस्ने ? यी विविध प्रश्नमा पार्टीभित्र बुझाइमा एकरुपता ल्याउनुपर्ने चुनौती ओली र प्रचण्डसँग यथावत छ ।

सरकारका सामु सबैभन्दा ठूलो चुनौती त के छ भने र सरकारको काममा आफ्नै पार्टीको अर्को गुटलाई कसरी एकतावद्ध बनाएर अघि बढ्ने ?

यसवीचमा प्रधानमन्त्री केपी ओलीले भनेजस्तै नेकपाभित्र फुट ल्याउन, प्रचण्ड र ओलीलाई विभाजित पार्न र सरकारलाई असफल पार्न देशी विदेशीहरु प्रयास नगरेको पनि होइन । तर, राजनीतिमा यसरी विपक्षीले खेल्न खोज्नु अनौठो परिघटना होइन ।

तर, पार्टीभित्र लोकतान्त्रिकरण र सिस्टमको कुरा गरिरहँदा आफ्नो आलोचना गर्नेजति सबैलाई ‘प्रतिक्रियावादी’ वा ‘षड्यन्त्रवादी’ ठान्ने दृष्टिदोष प्रधानमन्त्री ओली र उनी निकटका नेताहरुमा देखिँदै आएको छ । यस्तो सोचाइले नेकपालाई कुनै पनि बेला दुर्घटनामा पुर्‍याउन सक्छ ।

सरकार सञ्चालनको एक वर्ष पुगेको अवसरमा अब महत्वपूर्ण प्रश्नचाहिँ के छ भने प्रधानमन्त्री एवं पार्टी अध्यक्ष ओलीले आफ्नो पार्टीलाई एक ढिक्का बनाएर चुनौतीहरुको सामना गर्छन् या अहिलेजस्तै सानो गुटको सहारामै अघि बढ्ने प्रयास गर्छन् ? यसैमा उनको आगामी सफलता वा असफलता निर्भर रहने देखिन्छ ।

अर्कोतर्फ आफ्नै पार्टीको सरकारलाई असहयोग गरिरहने नीति माधव नेपाल पक्षका नेताहरुले कहिलेसम्म जारी राख्लान् ? यिनै प्रश्नहरुमा पार्टी र सरकारको भविश्य लुकेको छ ।

तर, जे होस् नेकपाभित्रको एक वर्षको उतार–चढावपछि ‘आलोपालो प्रधानमन्त्री’ को एजेन्डामा प्रधानमन्त्री ओली पूर्णरुपमा हाबी भएकै हुन् । प्रचण्ड रक्षात्मक बनेकै हुन् ।

केपी ओलीको एकवर्षे प्रधानमन्त्रित्व कालमा सरकारले द्वन्द्वकालीन मुद्दाहरु टुंग्याउने विषयमा कुनै पनि काम गरेन । पानीजहाजको कार्यालय उदघाटन गर्न हतारो गर्ने सरकारले शान्ति प्रक्रियाका बाँकी काम टुंग्याउने विषयमा सिन्कै भाँचेन । अन्तिममा आएर सत्यनिरुपण मेलमिलाप आयोगको म्याद बाध्यतावस थपिएको छ । द्वन्द्वकालीन मुद्दाको जाँतो आफ्नो शीरमा झुण्डिएका कारण प्रचण्डले आफूलाई थप कमजोर महसुस गरिरहेका छन् र गरिरहने छन् भन्ने कुरा प्रधानमन्त्री ओलीलाई राम्रोसित थाहा छ ।

विगतमा प्रचण्ड र उनी निकटका नेताहरुले आलोपालो प्रधानमन्त्रीको ‘जेन्टलमेन एग्रिमेन्ट’ भएको दाबी गर्दै आएका थिए । तर, नेपाली राजनीतिमा यस्ता ‘एग्रिमेन्ट’हरु भएकै भए पनि केपी ओलीबाट तोडिएका उदाहरण धेरै छन् । चाहे गोविन्द केसी प्रकरणमा होस् वा वामदेव गौतमलाई संसदीय दलको नेता बनाउने कुरामा नै किन नहोस् । माधव नेपाल वा प्रचण्डलाई अगामी महाधिवेशनमा पार्टी अध्यक्ष बनाउने उधारो आश्वासन त धेरै परको कुरा हो ।

त्यसो त नेकपामा दुई वर्षपछि नै ओलीको साटो प्रचण्ड वा माधव नेपाल नै प्रधानमन्त्री बन्नुपर्ने किन ? नेकपाभित्र प्रधानमन्त्रीका दाबेदारहरुले यसको औचित्य सिद्ध गर्न नसक्दासम्म ‘आलोपालो प्रधानमन्त्री’ को सम्भावना लगभग टरेकै देखिन्छ । पार्टीभित्र सरकारको काँध फेर्ने कुरा उठ्नासाथ ओली समूहले यसमा ‘भारतीय डिजाइन’ देख्न थाल्ने निश्चित छ ।

अब हेरौं, आगामी दिनमा पनि प्रधानमन्त्री केपी ओली पार्टीभित्र यसैगरी हाबी हुँदै जानेछन् या नेकपामा अर्को स्क्याण्डल मच्चिने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment