Comments Add Comment

काठमाडौं मल सञ्चयकोष आफैले चलाउने, सकियो गुण्डाराज

३ फागुन, काठमाडौं । कर्मचारी सञ्चय कोषले आफ्नो स्वामित्वमा रहेको सुन्धाराको व्यापारिक भवन ‘काठमाडौं मल’ लाई कर्पोरेट कार्यालयका रुपमा सञ्चालन गर्ने जनाएको छ ।

हाल सपिङ सेन्टरका रुपमा प्रयोग भइरहेको भवनलाई खाली गराएर कोषले कर्पोरेट हाउस बनाउन लागेको हो ।

ठेक्कामा दिँदा पटक-पटक समस्या आएपछि आफैंले सञ्चालन गर्ने निर्णय भएको कोष स्रोतले अनलाइनखबरलाई जानकारी दियो ।

अब विस्तारै काठमाडौं मलमा हाल सञ्चालनमा रहेका पसल हटाइनेछ । त्यहाँ व्यवसाय गरिरहेकाहरुलाई हटाएर कर्पोरेट कार्यालय राख्न भाडामा दिने कोषको योजना छ ।
पछिल्लो समय काठमाडौं मल गुण्डा नाइके राजु गोरखालीको समूहले भाडामा लिएर चलाउँदै आएका थिए ।

व्यवसायी प्रवीण शमशेर राणाले शुरुवातदेखि नै १५ वर्षका मलको व्यवस्थापनको जिम्मा पाएका थिए ।

०६२ भदौ १ गतेबाट मासिक ६४ लाख रुपैयाँ डिल भएकोमा ०७२ सम्म आइपुग्दा कोषले भाडा बढाएर ७५ लाखसम्म पुर्‍याएको थियो । तर, मलमा फाइदा नहुने देखेर राणा ५ वर्ष अगाडि नै ०७२ मा जिम्मेवारीबाट हटे ।

राणाले ठेक्का तोडेपछि ०७३ माघसम्म कोष आफैलें मल सञ्चालन गर्दै आएको थियो । त्यस दौरान सर्भे गर्दा मल मासिक ९० लाखसम्म भाडामा जाने देखियो ।
तर, टेण्डर आहृवान गर्दा शिवलक्ष्मी कोजुले २ करोड ७१ लाख बोलकबोल गरेपछि कोष नै चकित परेको थियो ।

मनपरी भाडा असुल्न सक्ने देखेर त्यतिबेला यो समूहले यति ठूलो मूल्य कबोल गरेको हुनसक्ने कोष स्रोत बताउँछ । मल व्यवस्थापकको सतहमा कोजु देखिएपनि उनी राजु गोरखाली समूहकै हुन् ।

०७३ माघदेखि मल व्यवस्थापनको जिम्मा गुण्डा नाइके राजु गोरखालीको हातमा गयो । गोरखाली समूहसँगको ठेक्का गत पुसमा समाप्त भएको छ । उनलाई भाडामा दिएदेखि मलको दुर्दशा शुरु भएको कोषका अधिकारी बताउँछन् ।

पसल सञ्चालन गर्नेहरुसँग मनपरी भाडा असुल्ने, भवनको व्यवस्थापनमा ध्यान नदिने जस्ता ठेकेदार गोरखालीको क्रियाकलापले कोष आजित बनेको थियो ।
गुण्डागर्दीमा सक्रिय उनले मल हातबाट फुत्किन नदिन राजनीतिक र प्रशासनिक शक्ति समेत प्रयोग गरेका थिए ।

ठेक्का सम्झौता सकिएपछि नविकरण गराउन पछिल्लो पटक पनि उनी ठूला राजनीतिक दलका नेताकोमा दौडधुपमा थिए ।

सभामुख कृष्णबहादुर महरादेखि नेकपाका वरिष्ठ नेता माधव कुमार नेपालसँग उनको बाक्लै भेटघाट हुने गरेको स्रोत बताउँछ । तर, उनी कांग्रेस निकट भएको बताइन्छ ।

उनले पसल चलाउनेलाई धम्क्याएर बढी भाडा असुल्ने तर, कर्मचारी सञ्चय कोषलाई कम भाडा दिने गर्दै आएका थिए । मलमा ३ सयभन्दा बढी व्यवसायीले व्यवसाय गर्दै आएका छन् ।

त्यहाँ व्यवसाय गर्नेहरु गुण्डा नाइके गोरखालीसँग आजित बनेका थिए । ५ गुणासम्म भाडा वृद्धि गरेपछि व्यवसायीले प्रशासनमा उजुरी समेत दिएका थिए ।

शक्ति सम्बन्धका कारण काठमाडौं मलमा उनको मनपरी चल्दै आएको थियो । भाडा विवाद चर्किएपछि पछिल्लो पटक माघ २० गते प्रहरीले उनलाई पक्राउ गरेको थियो । ०७४ जेठ मा पनि उनी भाडा विवादमा परेर प्रहरीको फन्दामा परेका थिए ।

सञ्चय कोषले मल खाली गराउने जनाएपछि व्यवसायी विरोधमा छन् । मल खाली गराउन कोषले सार्वजनिक सूचना नै जारी गरेपछि व्यवसायी आक्रोशित बनेका छन् । कोषको यो कदम गैरकानूनी भएको उनीहरुको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment