Comments Add Comment

श्रवण-लक्ष्मीलाई मन्त्री गोकर्ण बिष्टको २० हजार सहयोग

थोत्रो त्रिपाल फेरियो, चामल छिमेकमा

३ फागुन, बिराटनगर । श्रम तथा रोजगार मन्त्री गोकर्ण बिष्टले मोरङको बुढीगंगा गाउँपालिका २ मा दयनीय अवस्थामा बसोबास गरिरहेको एक दम्पतीलाई २० हजार रुपैयाँ सहयोग गरेका छन् । कृष्टकर रुपमा बाँचिरहेका श्रवण र लक्ष्मी मण्डलको प्रेम कथा अनलाइनखबरमा पढेपछि मन्त्री बिष्टले २० हजार रुपैयाँ सहयोग गरेका हुन् ।

सुनसरी मोरङ सिचाई आयोजनाको नहरको डिलमा थोत्रो त्रिपालमुनि कष्टकर जीवन यापन गरिरहेका श्रवण र लक्ष्मीको प्रेम कथा पढेर प्रभावित भएको बताउँदै मन्त्री बिष्टले भने ‘उहाँहरुका बारेमा अनलाइनखबरमा पढ्दा मेरो आँशु आयो । र, मेरो कर्तव्य सम्भिmएर व्यक्तिगत तलवबाट सानो सहयोग गरेँ ।’

मन्त्रीले उपलब्ध गराएको २० हजार नगद अनलाइनखबरकर्मी हरि अधिकारीले शुक्रबार श्रवणलाई उनको बासस्थानमै पुगेर हस्तान्तरण गरेका छन् । रकम हस्तान्तणपछि मन्त्री बिष्ट र श्रवणबीच छाटो टेलिफोन सम्वाद पनि भयो । टेलिफोन सम्वादमा मन्त्रीसँग श्रवणले आफ्नो दुःख बिसाए । ‘यहाँ नहरमा बस्दा कतिबेला उठाउँछन् टुंगो छैन’ मन्त्री बिष्टलाई श्रवणले भने ‘यसो तीन धुर जति जमिन भए ओत लाग्ने छाप्रो बनाउथेँ ।’

श्रवणले नहरको डिलमा गाडेका दुईवटा बासको टेको आफ्नै जमिनमा सार्ने इच्छा मन्त्रीसँग जाहेर गरे । मन्त्री बिष्टले व्यक्तिगतरुपमा आफूले सक्ने सहयोग गरेको बताउँदै घरका लागि स्थानीय सरकार, गाउँपालिकासँग समन्वय गर्नुपर्ने बताए ।

थोत्रो त्रिपाल फेरियो, चामल छिमेकमा

थोत्रो त्रिपालमा दुईवटा बासका टेका लगाएर बसिरहेका श्रवण र लक्ष्मीको घरको छानो अनलाइनखबरको समाचारपछि फेरिएको छ । पानीसमेत नछेक्ने थोत्रो त्रिपाल हटाएर विराट मेडिकल कलेजका तर्फबाट विद्यार्थीहरुले नयाँ त्रिपाल लगाइदिएका छन् ।

मागेर बिरामी श्रीमतीको उपचार एवं पालनपोषण गरिरहेका श्रवणको घरमा ओड्ने ब्लाङकेट पनि नयाँ आएको छ । बिराटनगरका केही मनकारीहरुले चामल, भुजा र बिस्कुट पनि सहयोग गरिदिएका छन् । श्रवणले अनलाइनखबरसँग भने, अस्ति सरहरु आएर २५ किलो चामल दिनुभयो । यहाँ चोरी हुन्छ भनेर पर एकजना बहिनीकोमा राखेको छु ।’

सहयोग गर्ने व्यक्तिहरुले नजिकैको होटलमा १५ दिनका लागि खाना खाने व्यवस्थापन पनि मिलाइदिएका छन् ।

लक्ष्मीलाई रिक्सामा राखेर बजार घुमाउने रहर

बिराटनगर नजिकै रहेको कटहरी चोकमा साइकलमा हिँडिरहेका बेला लक्ष्मीलाई ट्रकले ठक्कर दिएको १३ बर्ष बितेको छ । १३ बर्षयता थला परेकी लक्ष्मी उठेर बस्न सक्दिनन् ।

त्रिपालभित्रबाट देखिए भन्दा उनले बाहिरको संसार देख्न खासै पाएकी छैनन् । बषर्ाैंदेखि थला परेकी श्रीमतीलाई रिक्सामा हालेर बजार घुमाउने श्रवणको सपना अहिलेसम्म अधुरै छ । ‘तीन पाङ्रे रिक्सा भए उनीलाई राखेर घुमाउने थिएँ’ श्रवण भन्छन् ‘आफू त घुम्छु, एकै ठाउँ बसिरहँदा उनलाई कस्तो भएको होला ।’

७० बर्षे श्रवणको चाहना थलिएकी श्रीमतीलाई ग्यास चुल्होमा आफैं खाना पकाएर खुवाउने र रिक्सामा हालेर घुमाउने छ । यसबाहेक ओत लाग्ने सानो झुपडी बन्छ कि भन्ने आशा पनि अहिलेसम्म मरेको छैन ।

लक्ष्मी र श्रवणको दुःखको कथा पढेर मोरङ बाहिरबाट पनि सहयोग गर्ने ईच्छा कतिपयले व्यक्त गरे पनि सहयोग उनीहरुको हासम्म पुग्ने संयन्त्र छैन । श्रवण- लक्ष्मीसँग नागरिकता, टेलिफोन केही पनि छैन । उनीहरुको बैंक खाता पनि हुने कुरै भएन । यस्तो अवस्थामा स्थानीय गाउँपालिकाले समन्वय गरिदिएको अवस्थामा मात्रै टाढाबाट सहयोग जुट्ने र पीडितसम्म पुग्ने अवस्था देखिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment