Comments Add Comment

फेरि डेरा सर्दै काठमाडौं महानगर, विद्यासुन्दरलाई दुःखले  छाडेन

पूर्वसांसदको सीटीसी मलमा काठमाडौं महानगरपालिकाको कार्यालय रहने

४ फागुन, काठमाडौं । व्यापारिक प्रयोजनमा बिक्न नसकेको बागदरबार छेउको सीटीसी मलमा काठमाडौं महानगरपालिको कार्यालय सार्ने तयारी भएको छ । घरजग्गा व्यवसायी तथा पूर्वएमाले सांसद इच्छाराज तामाङको सीटीसी मल पूरै भाडामा लिएर कार्यालय सञ्चालन गर्ने महानगरपालिकाको तयारी छ ।

एकीकृत सेवा केन्द्र नहुँदा सेवाग्राहीलाई सास्ती भइरहेकाले सीटीसी मल भाडामा लिन लागिएको महानगरपालिकाका प्रवक्ता ईश्वरमान डंगोलले जानकारी दिए ।

अब छरिएर रहेका महानगरपालिकाका सबै कार्यालयहरु सिटीसी मलमा सर्नेछन् र त्यहीँबाट सेवा दिने छन् । त्यहाँ नअटेका केही विभाग, परियोजना, इकाईलाई जेडिए कम्प्लेक्समा राख्ने तयारी छ ।

सीटीसी मल भएको ९ तलाको भवन हाल व्यापारिक प्रयोजनमा प्रयोग हुँदै आएको छ ।

घरभाडामा लिन बुधबारको गोरखापत्रमा सार्वजनिक सूचना समेत प्रकाशन गरेको महानगरपालिकाले सीटीसी मलसँग ‘फाइनल डिल’ गरिसकेको स्रोत बताउँछ ।

‘कुराकानी लगभग टुंगिसकेको छ, प्रक्रिया पुर्‍याएर कार्यालय सार्ने काम शुरु हुन्छ’, स्रोतले भन्यो ।

सीटीसी मलका मालिक तामाङले पनि भवन काठमाडौं महानगरपालिकालाई भाडामा कुराकानी भइरहेको पुष्टि गरे ।

महानगरपालिकाका विभिन्न कार्यालय छरिएर रहेकाले बागदरबार नजिकै सीटीसी मलमा सार्न महानगरबाट प्रस्ताव आएको उनले बताए ।

डेराबाट डेरामै !

काठमाडौं महानगरपालिका नेपालको केन्द्रीय शहर तथा मुलुककै पहिलो महानगर पनि हो । बसोबासका हिसाबले पनि ठूलो जनघनत्व रहेको महानगरपालिकाको सेवा चुस्त दुरुस्त हुन जरुरी छ । तर, विडम्वना के छ भने महानगरपालिकासँग आफ्नै कार्यालय भवनसमेत छैन ।

हाल अख्तियार दुरुपयोग तथा अनुसन्धान आयोगको कार्यालय रहेको टंगालको भवनमा विगतमा काठमाडौं महानगरपालिकाको कार्यालय थियो । तर, उक्त भवन पनि जीर्ण हुँदै गएपछि सरकारले सट्टामा महानगरपालिकालाई बागदरबार दिएको थियो ।

अहिले टंगालमा अख्तियारको भव्य महल बनिसकेको छ । महानगरपालिका भने कार्यालयविनाको कंगाल बनेको छ ।

भूकम्पले बागदरबारमासमेत क्षति पुर्‍याएपछि महानगरपालिकाले केही समय राष्ट्रिय सभागृहबाट सेवा दिन थालेको थियो । सरकारले राष्ट्रिय सभागृह कार्यालय प्रयोजनका लागि प्रयोग नगर्न भनेपछि जेडीए कम्प्लेक्स र अन्य स्थानहरु भाडामा लिएर विभागीय कार्यालय स्थापना गरेको महानगरपालिकाका प्रवक्ता डंगोल बताउँछन् ।

हाल महानगरपालिकाका १३ विभागअन्तर्गतका कार्यालयहरु ७ ठाउँमा छन् । महानगरपालिका अन्तर्गतका सबै विभागीय काम ०७२ सालको भूकम्पअघिसम्म सुन्धारास्थित बागदरबारबाटै हुँदै आएको थियो । तर, भूकम्पले बागदरबारमा क्षति पुर्‍याएपछि महानगरपालिकाले विभिन्न स्थानमा कार्यालयहरु सारेको हो ।

बागदरबार आडैको जेडीए कम्प्लेक्सका दुईवटा फ्ल्याट महानगरपालिकाले भाडामा लिएर सेवा दिँदै आएको छ । महानगरका मेयर, उपमेयरसहितको कार्यकक्ष सोही कम्प्लेक्समा छ ।

बागदरबार र जेडीए कम्प्लेक्स बाहेक महानगरपालिकाको सार्वजनिक निजी साझेदारी र सूचना प्रविधि महाशाखा बबरमहलस्थित जिल्ला समन्वय समितिको कार्यालयमा छ ।

महानगरको वातावरण विभाग टेकुमा छ । वातावरण विभागले भूकम्प जानुअघिदेखि नै टेकुबाटै सेवा दिँदै आएको छ ।

यस्तै नक्सा र भौतिक पूर्वाधार महाशाखा साविकको कर कार्यालय रहेको बबरमहलको भवनमा छ । महानगरपालिका अन्तर्गतका अन्य केही काम राष्ट्रिय सभागृहबाट समेत हुँदै आएको छ ।

विद्यासुन्दरको दुःख

ऐतिहासिक महत्वको बागदरबार भूकम्पले जीर्ण भएपछि महानगरपालिकाका प्रमुख विद्या सुन्दर शाक्यले त्यसलाई भत्काउने बताएका थिए ।

हाल रहेको बागदबारलाई भत्काएर सोही ठाउँमा नयाँ भवन बनाउन बोलपत्र आह्वान गरेर प्रक्रियासमेत अघि बढाइएको थियो । तर, सम्पदा संरक्षण अभियन्ताहरुले पुरातात्विक महत्वको ऐतिहासिक बागदरबार भत्काउन नहुने भन्दै सर्वोच्च अदालतमा रिट हालेपछि शाक्यको उक्त निर्णयमा ब्रेक लाग्यो ।

बागदबार

जनप्रतिनिधि आउनुअघि पनि महानगरपालिकाले बागदरबारलाई पूर्णरुपमा भत्काएर सोही स्थानमा अत्याधुनिक नयाँ भवन खोज्दा पुरातत्व विभागले रोकेको थियो ।

त्यसपछि महानगरपालिकाका तत्कालीन प्रमुख रुद्रसिंह तामाङले कार्यालय प्रयोजनका लागि टेकुमा अत्याधुनिक भवन बनाउने प्रक्रिया अघि बढाएका थिए । तर, स्थानीय तहको निर्वाचनसँगै काठमाडौं महानगरपालिकाको नेतृत्वमा शाक्य आएपछि यो योजना तुहिएको स्रोत बताउँछ ।

मेयर शाक्यले बागदरबार नै भत्काउने अडान लिँदै टेकुको नगर प्रहरी बसेको ७ रोपनी जग्गामा स्टिल स्ट्रक्चरमा बनाइने भनिएको ‘काठमाडौं ट्वीन टावर’ नाम दिइएको उक्त प्रोजेक्ट रोकेका छन् ।

बागदरबारका सम्बन्धमा सर्वोच्चको अन्तिम फैसला आइसकेको छैन । तर, विज्ञहरुको टोलीले बागदरबार भत्काउन नपर्ने राय दिएकाले महानगरपालिका अदालतको फैसला कुरेर नबस्ने निश्कर्षमा पुगेको छ ।

प्राविधिकहरुले बागदरबारलाई रेट्रोफिटिङ गरेर पुनर्निर्माण गर्न सकिने बताएपनि महानगरपालिकाका अधिकारी भने अब कुनै हालतमा त्यहाँ कार्यालय नराख्ने मनस्थितिमा पुगेका छन् ।

महानगरपालिकाले बागदरबार भत्काउने बाहेक अरु विकल्प नसोच्दा समस्या सुल्झन नसकेको सम्बद्ध अधिकारीहरु नै बताउँछन् ।

‘टेकुमै नयाँ भवन बनाउन सकिन्थ्यो तर, त्यसतर्फ कसैको ध्यान गएको छैन’, एक अधिकारीले भने ।

चालु आर्थिक वर्षको बजेटमा नयाँ भवन बनाउनका लागि महानगरपालिकाले ४० करोड बजेट छुट्याएको छ ।

नबिकेको भवनमा महानगरपालिका

सीटीसी मलका युनिटहरू बजार मूल्यमा नबिकेपछि महानगरपालिकालाई भाडामा लगाउन चलखेल भएको स्रोतले बतायो । नौ तलाको उक्त भवनमा ८ तलासम्म विभिन्न पसलहरु छन् । त्यहाँ एउटा फिल्म हल, सिभिल बैंकको शाखा र धेरैजसो मोबाइल पसलहरु छन् । ०७२ को भूकम्पले क्षति पुर्‍याएपछि उक्त मल १० महिना बन्द भएको थियो ।

भूकम्पले क्षति पुर्‍याएपछि असुरक्षितको संकेत रातो स्टिकरसमेत टाँसिएको थियो । महानगरपालिकाको भवन निर्माण तथा इजाजत विभागका प्राविधिकहरुको टोलीको सुझाव अनुसार मर्मत गरिएपछि सञ्चालन गर्न दिइएको थियो ।

भूकम्पपछि यो मलको व्यवसाय सुक्न थाल्यो । सीटीसी मललाई व्यापारी केन्द्र बनाउन तामाङले भाडामा छुट, रेन्टल ग्यारेन्टी फिर्ता गर्ने जस्ता अनेक योजना ल्याए पनि त्यसले काम गरेन ।

भूकम्पको एक वर्षपछि तामाङले नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नायक राजेश हमाल लगायतलाई लगेर भब्य मोबाइल शोरुमको उदघाटन पनि गराए । तर, त्यसबाट खासै व्यवसायमा उपलब्धी भएन ।

नजिकैको उनकै सिभिल मलमा ग्राहकको अत्यधिक भीडभाड हुने गरेपनि सीटीसी मल भने सुख्खा रहने गरेको छ ।

मुख्य बजारभन्दा केही पर रहेकाले पनि सीटीसी मलमा व्यापारीको नजर पर्दैन । व्यापारिक प्रयोजनमा उपयोग हुन नसकेको भवन महानगरपालिकालाई भाडामा दिन उच्चस्तरीय लबिङ भएको स्रोत बताउँछ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment