Comments Add Comment

कथा-पुरुष

आज ठ्याक्कै पाँच वर्षपछि अकस्मात तिमीसँग जम्काभेट भयो । उमेरले, व्यवहारले, या त कुनै पीरले नै पो हो कि, तिमी त अलिक बूढो पो देखिएछौ, चार वर्षभित्रमा ।

हुन त मेरो तिमीसँग कुनै प्रकारको आत्मीय नाता र सम्बन्ध बाँकी थिएन अब । तैपनि किन हो, म सल्याकसुलक भएकी थिएँ तिमीलाई देखेपछि । मन मस्तिष्क मात्र हैन, आँखा पनि एकाएक पग्लिएका थिए । अनि मलाई मान्न करै लाग्यो कि मबाट जति पर भागे पनि मेरो अन्तःस्करणमा अझै पनि रहेछौ तिमी ।

तिम्रो पनि त मुख एक्कासी अँध्यारो भएको थियो । सायद आफ्नो गल्ती महसुस भएर आत्मग्लानिले पो हो कि ? अथवा मप्रतिको मायाले । अलि छुट्याइनँ मैले ।

तिमी आफ्नै परिवारसँग थियौ । सानो परिवार सुखी परिवार । तिम्रो हात समाएर हिँडिरहेको सानो छोरो र श्रीमती । हो, यस्तै सुखी परिवारको कल्पना त गरेकी थिएँ नि मैले पनि तिमीसँग । हाम्रो मायाको चिनो हाम्रो प्यारो सन्तान, तिमी अनि म । योभन्दा खुसी अरु के नै पो हुन सक्थ्यो र जीवनमा…।

तर, यो मेरो कोरा रहर वा अपूर्ण चाहना मात्र थियो । कहिल्यै पूरा नहुने । यो त हामी दुबैलाई थाहा भएकै हो नि है ?

विवाह भएको पाँच वर्षसम्म पनि हाम्रो कुनै सन्तान नभएपछि विभिन्न प्रश्न र टीका टिप्पणी उठ्ने गरेका थिए । सबैका प्रश्नसूचक दृष्टि मतिर नै केन्द्रित भएर तेर्सिएका हुन्थे । शुरुमा त ‘दुबै भर्खरका छन्, रमाइलो गर्न एक दुईवर्ष ढीलो गरेका होलान्’ भन्ने थियो घर माइती सबैको । तर, विवाह भएको तीन वर्ष लागेपछि भने सबैको चासो मात्र होइन, शंका बढेको थियो मप्रति कि म सन्तान जन्माउन असक्षम नारी हो भनेर ।

कुनै पनि प्राणिको शिशु जन्मनका लागि अथवा नयाँ सृष्टिका लागि भाले र पोथीको सहवास हुनुपर्छ । प्रकृति र पुरुषको समान सहभागिता वा रज र वीर्यबाट नै नयाँ जीवको सृष्टि हुन्छ । यो “ुवसत्य कुरा हो । सबैलाई थाहा पनि छ । तापनि हाम्रो हकमा भने एकोहोरो थियो यो कुरा । किनभने, प्रश्न तिमीतिर उठिरहेको थिएन ।

खासगरी मेरा घरपट्टकिा आफन्त सबैले सन्तान नहुनुमा कमजोरी मेरो ठान्न थालेका थिए । त्यसैले त मलाइ नै दोषी ठहर्‍याएर ‘यो आइमाईबाट सन्तान हुँदैन, अब बंश लोप हुनबाट बचाउन अर्कीे केटी बिहे गर्नुपर्छ’ भन्ने दबाव दिन थाले ।

एकाबिहानै तिमीसँग शारीरिक सम्पर्कका लागि मैले किन तिमीलाई उक्साएँ भन्ने कुरासमेत तिमीले ख्यान गरेनौ । अहिले सम्झँदा पनि हाँसो लाग्छ । अन्ततः मेरो शंका, शंका मात्र रहेन । प्रमाणित नै भयो

मलाई सिधै बाँझोपनको आरोप लगाउनेले शंकासम्म पनि गरेनन् कि उनैका छोरा, भाइ, भतिजो नै पो कतै नपुशंक नै छ कि त…?

म आफैँ स्वास्थ्यको क्षेत्रमा काम गर्ने भएकोले मैले आफ्नो परीक्षण गराइसकेकी थिएँ । ढुक्क थिएँ कि म सन्तान उत्पादन कार्यमा पूर्णतः सक्षम नै छु । अब शंका तिमीमा थियो । त्यसैले त मैले ‘एकचोटि तिमी आफ्नो परीक्षण गराऊ न है’ भन्दा कस्तरी रिसाएका थियौ मसँग ?

‘पुरुषमा कहिल्यै पनि अपूर्णता हुनै सक्दैन’ भन्ने परम्परागत रुढीगत मानसिकताबाट तिमी पनि पूर्णतः ग्रस्त नै रहेछौ । पुरुष अहम र इगोले ‘कतै आफू नै पो असक्षम छु कि’ भन्ने शंका मात्र पनि गर्न दिएन आफैँलाई ।

तिमी कतिसम्म आफ्नो अहंको शिकार भएका थियौ भने म स्वास्थ्यको क्षेत्रमा काम गर्ने भएकाले यस विषयमा म जानकारी लिन सक्षम छु, म सक्षम नभए चिकित्सकसँग परामर्श लिनसक्छु भन्ने समेत सोचेनौ र तिमीलाई उपचार गर्ने संकेत गरेको कुरालाई  सामान्य नारी हठका रुपमा मात्र लियौ भन्ने सम्झँदा मलाई तिमीप्रति होइन, तिमीलाई हुर्काउने समाजप्रति नै दया लागेर आयो त्यसबेला ।

खासमा, जुन दिन मैले तिमीलाई उपचारको आवश्यकता छ भन्ने संकेत गरेँ, त्यसको दुई साताअघि नै हाम्रो सम्पर्कका बेला प्रयोग भएको कण्डम बोकेर अफिस गएकी थिएँ । एकाबिहानै तिमीसँग शारीरिक सम्पर्कका लागि मैले किन तिमीलाई उक्साएँ भन्ने कुरासमेत तिमीले ख्यान गरेनौ । अहिले सम्झँदा पनि हाँसो लाग्छ ।

अन्ततः मेरो शंका, शंका मात्र रहेन । प्रमाणित नै भयो । जब मैले तिम्रो रिपोर्ट हेरेँ । म त झण्डै बेहोस नै पो भएकी थिएँ । एकातिर ढुक्क पनि र अर्कातिर दुःख । ढुक्क यसकारण कि म, आमा बन्न सक्ने क्षमता भएकी पूर्ण नारी थिएँ । दुःख यसकारण कि, मभित्र तिम्रो (हाम्रो) सन्तान जन्माउने र हुर्काउने कत्रो ठूलो रहर थियो, तर त्यो सबै चकनाचुर भएको थियो ।

सुरुका केही दिन त मलाई त्यो रिपोर्ट तिमीलाई देखाउन पनि अप्ठ्यारो लागेको थियो । मैले यो रिपोर्ट देखाउने बित्तिकै तिमी अपमानित महसुस गर्छौ भन्ने थाहा नपाएको होइन । तर, अन्तिम पटक जोड गरेर डाक्टरकहाँ जान मैले कर गरेँ । तिमीले पुःन मेरो अस्मितामाथि नै प्रहार गरेर जवाफ दियौ । त्यसपछि भने म बाध्य भएँ ।

मलाई अहिले नि याद छ, जब मैले तिम्रो रिपोर्ट तिमीलाई देखाएथेँ, कस्तरी तिमीले मलाई नै हात उठाएका थियौ ? अनि रिपोर्ट हेर्नेबित्तिकै कस्तरी च्यातेर धुजा धुजा पारेका थियौ ? आफ्नो कमजोरी स्वीकार गर्नुको पीडालाई लुकाउन तिमीले रिपोर्टलाई झुटो सावित गर्नतिर लाग्यौ ।

म त्यति अबुझ पनि कहाँ हो र । एउटा पुरुष, जब आफूलाई नपुंसक भएको महसुस गर्छ, उसलाई कति दबाव पर्छ र त्यो दबाव कसरी कमजोरमाथि बर्सन्छ भन्ने महसुस गर्दा पनि मलाई दुःख लाग्दथ्यो । तर, तिमीले मसँग प्रेमपूर्वक सहयोग लिन छाडेर विज्ञान र प्रविधिलाई मुखले चुनौति दिन थाल्यौ । घर, परिवार, आफन्त याने कि सम्पूर्ण पुरुष प्रवृत्तिमा तिमी जितेर देखाउन चाहन्थ्यौ । तिमी प्रमाणित गर्न चाहन्थ्यौ पुरुषत्वको । तर, यो सम्भव थिएन प्राकृतिकरुपमा । तिमी अपूर्ण पुरुष थियौ । र, यो ध्रुवसत्य थियो ।

म पनि आमा हुन चाहन्थेँ । त्यसका लागि मेरो कुनै पुरुषसँग संसर्ग हुनु पर्दथ्यो, तर मैले जितेँ नि दुवैतर्फबाट । कुनै पुरुषलाई स्पर्श नगरिकन नै, कुनै पुरुषसँगको सहवासविना नै

सबैका सामु बिजेता बन्न पैसा, पद र पावरको प्रयोग तिमीले पनि गर्‍यौ । त्यसैले त तिमीले तुरुन्तै एउटी केटीसँग बिहे गरेर देखायौ । जुन केटीको पेटमा कसैको नाजायज गर्भ थियो । त्यसका लागि उसलाई कुनै पुरुषको नामको जरुरत थियो भने तिमीलाई बच्चाको । जसले समाजमा बाबु हुनुको प्रमाण दिन सक्थ्यो तिमीलाई ।

समाजमा तिमी बाबु बन्यौ र बाबु हुँ भन्ने प्रमाणित गराउन सक्यौ पनि ।

सम्झौतामा गरिएको तिम्रो यो विवाह मलाई पूर्णरुपले हराउन र आफूलाई पूर्णरुपमा जिताउन गरेका थियौ । आखिर सत्य त सत्य नै थियो । न त तिमी नै कहिल्यै बाबु बन्न सक्छौ, न त त्यो बच्चो नै तिम्रो छोरो वा अंश हो । यो तिमीलाई पनि थाहा छ र मलाई पनि । बाँकी त सबै भ्रममा त छन् नि ।

तिमी जस्ता कपटी । ढोँगी मानिसको असली चरित्र देखेपछि आफ्नै प्राणभन्दा पनि बढी लाग्ने तिम्रो माया मर्‍यो तिमीप्रति । घृणा उब्ज्यो । स्वर्गजस्तो हाम्रो घर । राधाकृष्णजस्तो हाम्रो जोडी …! उफ…! सबै लथालिंग र भताभुंग । मसानघाटजस्तै लाग्यो माया फल्ने प्यारो हाम्रो त्यो घर… । अनि तिमी त्यो मसानघाटको निर्दयी..! पाषाण…!!

एकदिन चुपचाप त्यो मसानघाट त्यागेँ मैले ।

म त नारी थिएँ । पूर्णतः नारी । श्रृष्टि गर्न सक्षम । प्रकृतिले सुम्पिदिएको उत्तरदायित्व पूरा गर्ने क्षमता भरिपूर्ण थियो मभित्र पनि । म पनि आमा हुन चाहन्थेँ । मातृत्व पोख्न चाहन्थेँ । तर, यसका लािग त मेरो कुनै पुरुषसँग संसर्ग हुनु पर्दथ्यो । सहवास गर्नुपर्थ्यो मैले । तर, म चाहन्नथेँ कि कुनै पुरुषसँग बिटुलो होउँ…. । कुनै पुरुषसँगको संसर्गबाट पोखिएको उसको वीर्यले म आफ्नो गर्भ भरुँ । किनकि मलाई तिमी र तिम्रो अहमको कारणले गर्दा सम्पूर्ण पुरुषप्रति नै घृणा उब्जाएको थियो । त्यसकारण कुनै पुरुषसँग संसर्ग त के, स्पर्शसम्म पनि घृणा लाग्थ्यो मलाई ।

अर्काेतर्फ कुनै पुरुष अंश वा पुरुषको वीर्यविना त म आमा बन्न पनि त सक्दिनथेँ । संसारको ध्रुवसत्य कुरा हो यो कि, पुरुषको वीर्य र स्त्रीको रजबाट मात्र कुनै पनि जीवको जन्म हुन्छ ।

थाहा छ, तिमीलाई..? तर, मैले जितेँ नि दुवैतर्फबाट । कुनै पुरुषलाई स्पर्श नगरिकन नै, कुनै पुरुषसँगको सहवासविना नै म आमा बन्न सक्षम भएँ नि । मान्छेले धोका दिए पनि प्रविधिले साथ दियो मलाई । प्रकृतिले ठगेका र पुरुषले धोका दिएका महिलालाई प्रविधिले साथ दिएको छ आजको समयमा । मैले पनि प्रविधिको उपयोग गरेँ । टेस्ट्युव बेबीको प्रकृयामार्फत मैले पनि गर्भधारण गरेँ र आमा बनेँ ।

मलाई आमा बन्ने रहर तीव्र थियो । यसका लागि त मलाई प्रमाणित पुरुष चाहिन्थ्यो । लोग्ने नामको परिचयपत्र झुण्याइएको । मसँग मेरो लोग्ने त थियो, तर असक्षम । अझ भनौँ न अपुरुष । जसले कुनै पनि महिलालाई वीर्यदान गरेर सन्तान उत्पादन गर्न सक्दैन । यस्तो अपुरुष लोग्नेले मलाई नै उल्टै असक्षम स्त्रीको उपाधि दिएर त्यागेको थियो ।

आमा बन्न पाउनु त महिलाको नैसर्गिक अधिकार हो नि । यो अधिकारलाई हाम्रो समाजमा त लोग्ने नामको तगारोले छेकिन्छ । तर, म त यो तगारोबाट बाहरिइसकेकी थिएँ । त्यसैले मैले पनि आमा बन्ने रहर पूरा गरेँ ।

सायद तिमीले पनि आफ्नो जन्मजात भएको कमजोरीलाई वा शास्वत सत्यलाई खुरुक्क स्वीकार गरेको भए कति राम्रो हुन्यो होला आज हाम्रो जिन्दगी । आखिर आजभोलि सन्तान जन्माउन असक्षम भएका दम्पतिले टेस्ट्युव बेबीको माध्यमबाट सन्तान जन्माउन सकिहाल्थे ।

यदि कोही पुरुषसँग वीर्य उत्पादन क्षमता नभए पनि आजभोलि वीर्य किन्न पाइन्छ । त्यो वीर्य र महिलाको रज निकालेर दुवैलाई टेस्टट्युवमा उमारेर फेरि महिलाको पाठेघरमा नै राखेर सन्तान जन्माउन सकिन्छ । दुबैको राजीखुसीमा हामीले पनि सुटुक्क वीर्य किनेर टेस्टट्युबमा उमारेपछि मैले मेरो गर्भाशयमा गर्भाधारण गरेर हामी पनि हाम्रो सन्तान जन्माउन सकिहाल्थ्यौँ नि ।

कहिलेकाहीँ उसले सोध्छे, खै बाबा भनेर । म आकाशमा उडेको ठूलो हवाइ जहाज देखाएर भन्छु ‘ऊ त्यो ठूलो पिलेनमा हुनुहन्छ नि तिम्रो बाबा त’

यो कुरा मलाई त थाहा थियो र कतिपटक तिमीलाई सम्झाउन पनि खोजेकी थिएँ । अहँ तिमीले कहिल्यै मेरो कुरा सुन्न नै पो कहाँ चाहृयौ र ।

आखिर तिमीले अर्को पुरुषसँग बिटुलिएकी अनि समाजले नरुचाएको नाजायज सम्बन्ध राखेकी स्वास्नी मानिसबाट जन्माएको सन्तानलाई सजिलै आफ्नै स्वीकार्न सक्यौ ।

हुन त यो कार्यका लागि त म तिमीलाई महान नै ठान्छु । म स्वयं महिला भएर पनि सजिलै बुझ्न सक्छु ती महिलाको परिबन्दलाई । किनभने ती महिलाको प्रेमी पनि त तिमी जस्तै पुरुष नै त थियो । तर, त्यो तिमीभन्दा पनि कायर रहेछ । त्यसैले त प्रेमको अवमूल्यन गरेर गर्भधारण गराइदियो र त्यागिदियो आफ्नो प्रेम र प्रेमको निशानी ।

तिमीले निर्दोष ती महिलाको सम्मान गर्‍यौ । निरपराध शिशुलाई आफ्नो-आफ्नो नाम दियौ । यो गर्न सक्नेले बरु अरु कसैको नै वा त किनेको वीर्यवाट गर्भाधारण गरी मैले नै जन्माएको सन्तान स्वीकारेको भए कति राम्रो हुन्थ्यो ? किनकि त्यो आइमाई भन्दा त म र मेरो गर्भ नै पवित्र हो नि । किनकि मलाई त तिमीभन्दा अरुले स्पर्श पनि गर्न सकेको छैन र थिएन पनि । अनि हाम्रो सम्बन्ध पनि समाजले प्रमाणित गरेको नै थियो ।

तिमीले गरेको यो काम महान त हो, तर प्रक्रिया गलत भयो । यदि तिमीले आफ्नो सत्य स्वीकार गरेर उसको सन्तानलाई आफ्नो नाम दिएको कुरा यदि प्रष्टसँग भन्देको भए अझै महान बन्थ्यौ सबैको नजरमा तिमी ।

एउटीलाई सम्मान गर्ने बहानामा मलाई अपमान गर्‍यौ ।

कति रमाइलो हुन्थ्यो होला हगि सल्लाह गरेर नै ती महिलाको गर्भ हामीले स्वीकार गरेको भए ? समाजमा म पनि आमा बन्न सक्थेँ । तिम्रै नाउँको सन्तानकी आमा । अनि हामी कहिल्यै छुट्टनिु पनि पर्दैन थियो ।

हाम्रो योजना थियो नि हगि ! पहिलोचोटि छोरी नै जन्माउने । मेरो मन मस्तिष्कमा पनि छोरीकै प्रतिबिम्ब थियो हरघडी । हेर त, आखिरीमा फूलजस्ती छोरी नै जन्माएँ मैले ।

थाहा छ ! एकदिन मेरो काखमा बसेर मेरी छोरी खेलिरहेकी थिई । म विगतका दिन अझ सत्य भनौँ भने ‘तिमीलाई’ नै सम्झेर टोल्हाइरहेकी थिएँ । अकस्मात मेरा आँखाबाट बर्रर आँसु खस्यो । त्यो देखेर मलाई मेरी चार वर्षे छोरीले तोतेबोलीमा सोधेकी थिई, ‘आमा किन लोको ? बाबालाई सम्झेल हो ।’

मैले अनायास नै भनेँ हो ।’

हुन त मलाई थाहा छ, न त तिमी उसको बाबु हौ, न त ऊ नै तिम्री छोरी । तैपनि अनायाश मुखबाट निस्किएपछि महसुस गरेँ, आखिर जे भए पनि पहिलो पटक पुरुषका रुपमा तिमीलाई माया गरेकी रहेछ ।  कहिलेकाहीँ उसले सोध्छे, खै बाबा भनेर । म आकाशमा उडेको ठूलो हवाइ जहाज देखाएर भन्छु ‘ऊ त्यो ठूलो पिलेनमा हुनुहन्छ नि तिम्रो बाबा त ।’

किनकि योभन्दा बढी बुझ्ने क्षमता छैन उसको । ऊ अहिले बुझ्दिन म एक्लैले उसलाई जन्माएको हो भन्ने कुरा । पछि बुझ्ने भएपछि भनुँला सबै ।

आज तिमी एक्कासी सामु पर्दा म तिमीलाई हेरेर टोलाएकी थिएँ निकैबेरसम्म । तिमी पनि मजस्तै भयौ । मेरो खाली सिउँदो र रित्तो गला । हातका औँला समातेर टुकुटुकु हिँडेकी मेरी छोरी देखेर के के सोचेर टोलाएको होला तिमी पनि .।

कतै आफँैलाई बिर्सेर मेरै छोरी हो कि भन्ने पनि पो सोच्यौ होला तिमीले ..सायद ।

सत्यबोध भएर होला, तुरुन्तै सम्हालिएका थियौ तिमी । लाजले, अहंले हो वा हीनतावोधले, के ले हो कुन्नि मसँग बोल्न सकेनौ । लुसुक्क अर्काेपट्टि फर्केर हात समातेर हिँडिरहेको सानो केटो उर्फ तिम्रो छोरोलाई सोधेका थियौ मैले सुन्ने गरी, ‘छोरा, तिमीलाई के किनिदिउँ ?’

मलाई आफू पनि बाबु हँु भनेर सुनाउँदै वा भ्रममा बाबु हुनुको गर्व बोकेर नजिकैको पसलतिर लागेपछि किनकिन फेरि पनि मेरा आँखाबाट बर्रर आँसु खस्यो । सँधै आँखाबाट आँसु खस्दा बाबाको यादले रोएकी भन्ने बुझेकी मेरी सानी चार वर्षे छोरीले तिमीलाई देखाउँदै उही तोतेबोलीमा सोधेकी थिई ‘आमा, त्यो को हो ? मेलो बाबा ?’

मैले उसको शीर मुसार्दै भनेँ, ‘हैन छोरी त्यो त मेरो लोग्ने थियो, तर तिम्रो बाबा भने हैन ।’

उसले मेरो मुख हेरिरही ।

मलाई थाहा छ, छोरीले यो पनि बुझिन । पछि बुझ्ने भएपछि कुनै दिन उसैले सोध्ली सायद ‘आमा ! आमाको लोग्ने नै मेरो बाबु हुन्छ हैन र ?’

अनि म त्यसबेला सबै कुरा भनुँला ‘नानु सबै पुरुषहरु लोग्ने त हुन सक्छन् । तर, सबै लोग्नेहरु बाबु हुन भने सक्दैनन् ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment