Comments Add Comment

डीपीएल ३ : मौसमको अवरोध, मैदानको विजोग

४ फागुन, काठमाडौं । तेस्रो संस्करणको धनगढी प्रिमियर लिग (डीपीएल) क्रिकेटलाई खराब मौसमले दुःख दिएको छ । प्रतियोगिताका आगामी खेलहरु बर्षाले विथोल्न सक्ने चिन्ताले आयोजक र सहभागी टिमहरु चिन्तित बनिरहेका छन् ।

‘पहिलो गाँसमै ढुँगा’ भने झै उद्घाटन खेल नै वर्षाका कारण दुई दिनपछि धकेलिएको थियो । शनिबार हुने भनिएको उद्घाटन समारोह सोमबारलाई सारियो । प्रतियोगिता करिब आधा यात्रामा रहँदा मौसममा सुधार आएको छैन ।

बिहीबार बिराटनगर किंग्स र महेन्द्रनगर युनाइटेड मैदानमा भिडिरहेको बेला पानी परेपछि खेल रद्द नै गर्नुपर्‍यो । टस जितेर पहिले ब्याटिङ गरेको विराटनगरले १८.३ ओभरमा ७ विकेट गुमाएर ८२ रन बनाउँदा पानी पर्न थालेको थियो ।

शनिबारको खेल पनि पानीका कारण रद्द भयो ।

धुलाम्य र हिलाम्य मैदान

आयोजक धनगढी क्रिकेट एकेडेमीलाई तेस्रो संस्करणको डीपीएल आफ्नै अभियानमा निर्माण हुँदै गरेको डि्रम फाप्ला क्रिकेट मैदानमा सञ्चालन गर्न निकै संघर्ष गर्नु पर्‍यो । निर्माणाधीन अवस्थामै रहेको मैदान प्रतियोगिताकै लागि भनेर करिब तीन महिनाअघिदेखि तयारी गर्न थालियो । पाँचवटा पिच र दर्शकका लागि प्याराफिट बनाइएको छ ।

तर यतिबेला प्रश्न उब्जिएको छ, के डि्रम फाप्ला मैदान डीपीएलका लागि तयार भइसकेको थियो ?

धनगढी क्रिकेट एकेडेमीका अध्यक्ष सुवास शाहीले लामो समय लगाएर मैदान निर्माण गरेको र तयारीमा कुनै कमी नभएको बताए । उनी भन्छन्, ‘हामीले करिब तीन महिना लगाएर मैदान बनाउनेदेखि पाँच वटा पिच निर्माण कार्य गरेका हौ ।’

डीपीएलको यसअघिका दुई संस्करण एसएसपी क्रिकेट मैदानमा सम्पन्न भएका थिए । तर तेस्रो संस्करणदेखि आफ्नै अभियानमा निर्माण भइरहेको डि्रम फाप्लामा प्रतियोगिता गरिरहँदा मैदानको गुणस्तरबारे प्रश्न उठेका छन् ।

आयोजकले मैदानमा दुबो उमार्नेदेखि सबै कार्यहरु थालेको थियो । तर अहिले डीपीएलका खेल चलिरहँदा मैदानमा घाम लागेको बेला धुलो उड्ने गरेको छ । मैदानको सबै भागमा राम्ररी दुबो उम्रिएको छैन, जहाँ पानी पर्दा मैदान ओसिलो मात्रै हैन हिलाम्य पनि हुने गरेको छ ।

अध्यक्ष शाही भन्छन्, ‘नयाँ मैदानमा प्रतियोगिता गर्न निकै जोखिम थियो । भारतबाट क्युरेटर बोलाएर विगत तीन महिनादेखि पिच बनाएका हौं । मैदान नयाँ, विकेट नयाँ भएको कारण खेलाडीहरुलाई केही गाह्रो भएको हुन सक्छ ।’

रन बनाउन कठिन

जारी डीपीएलको आठ खेल सकिँदासम्म कुनै पनि टिमले उच्च स्कोर बनाउन सकेका छैनन् । सानो लक्ष्य भेट्टाउन पनि ब्याट्सम्यानहरुले संघर्ष गर्नुपरेको छ ।

काठमाडौं गोल्डेन्सले महेन्द्रनगर युनाइटेडविरुद्ध बनाएको १३४ रनको स्कोर नै अहिलेसम्मको सर्वाधिक उच्च रन हो ।

महेन्द्रनगरलाई १२७ रनमै रोक्दै काठमाडौंले सात रनले खेल जित्यो । त्यस्तै, डीपीएलको उद्घाटन खेलमा धनगढी स्टार्सले १३३ रन बनायो । जवाफी ब्याटिङ गरेको काठमाडौं गोल्डेन्सले ६ विकेट गुमाउँदै चार विकेटको जित निकालेको थियो ।

बाँकी पाँच खेललाई हेर्ने हो भने कुनै पनि टिमको ब्याटिङ वाह भन्न लायकको छैन । रुपन्देही च्यालेन्जर्सलाई १११ रनमा अलआउट गरेको महेन्द्रनगर १०९ रनमै समेटियो ।

सीवाईसी अत्तरिया र धनगढी स्टार्सबीको खेलमा ब्याटिङ विजोग नै थियो । अत्तरियाले निर्धारित ओभरमा ५ विकेटको क्षतिमा ९५ रन मात्रै बनायो । झिनो चुनौती पछ्याएको धनगढी स्टार्स ९० रनमै रोकिएपछि खेल अत्तरियाले पाँच रनले जित्यो ।

त्यस्तै, विराटनगरले ९३ रन बनाउँदा जवाफी ब्याटिङ गरेको रुपन्देहीको पाँच विकेटको जित, विराटनगरले दिएको १०४ रनको लक्ष्य पछ्याउँदै ब्याटिङ गरेको धनगढी ८२ रनमा अलआउट । अत्तयिाले दिएको १२२ रनको लक्ष्य पछ्याएको रुपन्देही ८२ रनमा अलआउट ।

डीपीएल क्रिकेटमा बलर उत्कृष्ट र ब्याट्सम्यान कमजोर भएर न्युन रन बनेको हो ? होइन । विश्वकपदेखि घरेलु प्रतियोगितामा उत्कृष्ट र विष्फोटक ब्याटिङ गरेका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय ब्याट्सम्यान छन् । डीपीएलमा रन नबन्नुको मुख्य कारण मैदानको पिच नै हो ।

आयोजकले पिच निर्माण गर्नका लागि भारतबाट क्युरेटर झिकाएर बनाएको थियो । तर पर्याप्त समय नपुग्दा र मौसमले साथ नदिँदा पीच परिपक्व नबनेको क्युरेटर विशन मण्डल बताउँछन् ।

उनी भन्छन्, ‘प्रतियोगिता सुरु हुनुभन्दा अघि परेको पानीले पनि खेल र ब्याटिङमा केही समस्या देखिएको हो । प्रतियोगिता अघि निरन्तर ४-५ दिन हुस्सु लाग्दा पनि असर पर्‍यो ।’

मैदान चिसो भएको कारण बलरले साथ पाएका छन् । तर, मैदान र पिच नै नयाँ भएको कारण पनि बल स्वीङ भइरहेको छ । क्युरेटर भन्छन्, यो पिच नराम्रो होइन, तर निर्माण गर्न समय कम भयो । पिचले राम्रोसँग पानी खान पाएन ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment