Comments Add Comment

रात्रिकालीन बस सञ्चालनको तयारी, साझासँग महानगरको छलफल

Photo Credit : फाइल तस्वीर

४ फागुन, काठमाडौं । काठमाडौं महानगरपालिकाले नगरभित्र पुनः रात्रिकालीन बस सञ्चालनका लागि गृहकार्य सुरु गरेको छ । त्यसका लागि उसले साझा यातायातसँग संवाद थालेको छ ।

साझा यातायात तयार भए छिट्टै काठमाडौंमा रात्रिकालीन बस सेवा सञ्चालनमा आउने महनगरपालिकाको भनाइ छ ।

साझाले अहिले पनि वीर अस्पताल, शिक्षण अस्पताल क्षेत्रमा राति अबेरसम्म बस सेवा सञ्चालन गर्दै आइरहेको छ ।

यसलाई थप विस्तार गरेर नगरभित्रका सबै क्षेत्रमा राति पनि बस सेवा पुर्याउन पहल थालिएको महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले जानकारी दिए ।

शाक्यका अनुसार बस सञ्चालन गर्ने रुटबारे छलफल भइरहेको छ ।

बस सञ्चालनमा साझा तयार भए पनि उसले सुरक्षाको प्रत्याभूति खोजेको मेयर शाक्यले बताए ।

शाक्यले रात्रिकालीन बस सञ्चालन खर्चिलोसमेत हुने भएकाले यसबारे समेत छलफल भइरहेको बताए ।

सुरक्षाका विषयमा प्रहरीसँग सहकार्य गर्न सकिने भए पनि खर्चको विषयमा टुंगो लाग्न बाँकी रहेको उनको भनाइ छ ।

‘रातिको समयमा यात्रु कम हुने भएकाले खर्च धान्न नसक्ने अवस्था छ’, शाक्यले भने, ‘यसलाई कसरी सञ्चालन गर्ने भन्नेबारे हामी छलफल गरिरहेका छौं ।’

विगतमा पनि काठमाडौं महानगरपालिकाले रात्रिकालीन बस सञ्चालन गरेको थियो । तर केही समयपछि नै त्यो बन्द भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment