Comments Add Comment

गर्भको बच्चालाई कसरी स्वस्थ्य र आकर्षक बनाउने ?

कतिले यसैपाली विवाह गरे होलान् । कति फेमेली प्लानिङको तयारीमा होलान् । विवाहपछि आफ्नै कोखको बच्चा हुर्काउने रहर हुन्छ, दम्पतीलाई ।

जब गर्भ रहन्छ, मन शान्त भने हुँदैन । अनेक उथलपुथल हुन्छ । आफ्नो बच्चा कस्तो होला ? स्वस्थ्य होला ? यस्ता जिज्ञासा उठ्छ । यही जिज्ञासाले मनलाई बेचैन बनाउँछ । निश्चय पनि आफ्नो गर्भमा कस्तो बच्चा हुर्कदैछ भन्ने कुराको निक्र्यौंल गर्न गाह्रो हुन्छ ।

यद्यपी गर्भ रहेदेखि नै केही कुरामा सर्तकता अपनाउने, सजग हुने, खानपान र दिनचर्यालाई सन्तुलित राख्ने हो भने धेरै हदसम्म ढुक्क हुन सकिन्छ, जन्म लिने बच्चा स्वस्थ्य हुनेछ ।

हुन त गर्भाधान प्रक्रियाबाटै दम्पतीले विशेष सर्तकता अपनाउनुपर्छ वा तयारी गर्नुपर्छ भनिन्छ । जब हामी बच्चा जन्माउने योजना तय गरेर शारीरिक क्रिया गर्छौं, त्यही विन्दुदेखि दम्पतीले अनुशासित जीवन अपनाउनुपर्ने मान्यता छ । किनभने दम्पतीले गर्ने कतिपय गल्तीले गर्भको बच्चालाई असर गर्छ । नतिजा, बच्चा जन्मजात कुनै शारीरिक विकार बोकेर आउँछ । त्यही विकारले ति बच्चालाई जीवनभर सताउँछ । उसले पूर्ण स्वस्थ्य जीवन विताउन सक्दैन ।

एउटा अबोध, बेकसुर बच्चालाई रोगी बनाउने काम खासमा आमाबुवाबाट नै हुन्छ । जानेर होस् वा नजानेर, आमाबुवाले त्यस्ता गल्ती गर्छन् जो गर्भको बच्चालाई भार बन्छ ।

गर्भमा हुर्कने बच्चाको स्वास्थ्य उनको आमासँग जोडिएको हुन्छ । आमाले भोग्ने अप्ठ्यारा, गर्ने गल्ती सबैको प्रभाव गर्भको बच्चामा पर्छ । त्यसैले गर्भावस्थामा दम्पतीले धेरै कुरामा सर्तकता अपनाउनुपर्छ ।

गल्ती के हुन्छ भने, अक्सर दम्पती पारिवारिक जीवनमा राम्ररी एडजस्ट नहुँदै बच्चा जन्माउने तयारी गर्छन् । यस्तो अवस्थामा दम्पतीबीच मनमुटाव, ठाकठुक पर्छ । उनीहरु भनाभन गर्छन्, झै-झगडा गर्छन् । यसको सोझो प्रभाव गर्भको बच्चालाई पर्छ ।

गर्भवतीको मनमा पैदा हुने वेचैनी, आवेग, आक्रोस, पीडा, वेदनाले समेत गर्भको बच्चालाई असर गर्छ । त्यही कारण गर्भ रहेदेखि नै महिलाले मनलाई शान्त तुल्याउनुपर्छ, खुसी हुनुपर्छ । सकारात्मक हुनुपर्छ ।

श्रीमान्को भूमिका

श्रीमती जब गर्भवती हुन्छे, श्रीमान्ले आफ्नो दायित्व बोध गर्नुपर्छ । श्रीमतीको गर्भबाट जन्म लिने बच्चा दुबैको हो । त्यसमा दुबैको समान हक लाग्छ । दुबैले त्यसबाट उत्तिनै सन्तान सुख प्राप्त गर्छन् । तर, गर्भमा बच्चा हुर्काउनुपर्छ महिलाले । प्रसव पीडा सहनुपर्छ महिलाले । ज्यानको बाजी लगाउनुपर्छ महिलाले ।

महिला त्यसैपनि संवेदनशिल हुन्छन् । आफ्नो गर्भमा बच्चा हुर्काइरहँदा उनीहरुको मनोदशा कस्तो हुन्छ होला ? त्यसमाथि परिवारले उनको भावना बुझिदिएन भने ? उनलाई आत्मिय साथ र सहयोग मिलेन भने ?

एक महिलाका लागि आमा हुन वास्तवमै कठिन काम हो । यस्तो अवस्थामा उनको मनोभावलाई बुझ्ने सबैभन्दा नजिकको मान्छे भनेका श्रीमान् नै हुन् । यसर्थ श्रीमान्ले आफ्ना श्रीमतीको सुख र खुसीका लागि आवश्यक बन्दोबस्ती मिलाइदिनुपर्छ ।

श्रीमतीलाई कस्तो वातावरण दिने ? कसरी खुसी तुल्याउने ? कसरी शान्त राख्ने ? कसरी उनको मनबाट भय हटाउने ? यी सबै कुरामा श्रीमान्ले खास भूमिका खेल्नुपर्ने हुन्छ ।

गर्भवतीको स्वास्थ्यसँग गर्भमा हुर्कने बच्चाको स्वास्थ्यको गहिरो प्रभाव रहनछ । साथै गर्भवतीको सोंच-चिन्तनले पनि गर्भको बच्चामा प्रभाव पार्छ । यो तथ्यलाई बुझेर श्रीमान् तथा उनका घर परिवारले यस्तो माहौल तयार गरिदिनुपर्छ, जहाँ गर्भवतीले उन्मुक्त रमाउन सकोस् । सधै खुसी र शान्त रहन सकोस् ।

गर्भवती तनावरहित हुनुपर्छ । यसका लागि ध्यान, प्राणायाम जस्ता विधी पनि उपयोगी हुन्छ । यसका लागि श्रीमान्ले प्रेरित गर्न सक्छन् । गर्भावस्थामा गरिने केही योग आसन र व्यायाम हुन्छन् । नियमित व्यायामले गर्भवतीको स्वास्थ्य राम्रो बनाउँछ । यसका साथै खानपान पनि स्वस्थ्य, सन्तुलित, पोषकयुक्त हुनुपर्छ । अप्राकृतिक खानेकुराबाट बच्नुपर्छ । पर्याप्त पानी पिउने, आरम गर्ने, गहिरो निद्रा लिने जस्ता कार्यले पनि गर्भवतीको स्वस्थ्य राम्रो हुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment