Comments Add Comment

पशुपति शर्माको गीतमा के छ त्यस्तो ? (पूर्णपाठसहित)

५ फाुगन, काठमाडौं । चर्चित लोकदोहोरी गायक पशुपति शर्माले तीन दिनअघिमात्रै सार्वजनिक गरेको ‘लुट्न सके लुट’ बोलको गीत उनले आफैं युट्युवबाट हटाएको घोषणा गरेका छन् । गीतका रचनाकार एवं गायक शर्माले भिडियो हटाए पनि यो गीत सामाजिक सञ्जालमा भाइरल बनिरहेको छ ।

गायक शर्माले यो गीत कुनै राजनीतिक दलप्रति लक्षित थिएन भन्दै अब केही शब्दहरु परिमार्जन गरेर ल्याउने जनाएका छन् । (हेर्नुहोस्– सत्तापक्षीय आक्रोशपछि पशुपति शर्माले हटाए लुट्नसके लुट)

गायक शर्माले यो गीत आफ्नो रहरले भन्दा पनि नेकपाका कार्यकर्ताहरुको आक्रोश र धम्कीपछि हटाएका हुन् । नेकपा कार्यकर्ताहरुले आपत्ति जनाएपछि शर्माले युट्युवबाट गीत त हटाए, तर यस्तो गीतमाथि सत्तापक्षका कार्यकर्ताहरुको बक्रदृष्टि परेकोमा सोसियल मिडिया तरंगित बनेको छ ।

यतिसम्म कि परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले ‘काठमाडौंमा भूकम्पको धक्का’ भन्दै गरेको सामान्य ट्विटमा पशुपति शर्माको गीतले भूइँचालो आएको हो ? भन्ने व्यंग्यात्मक प्रश्नहरु गरिएका छन् ।

गायक शर्माले गीतमा प्रयोग गरेका केही शब्दहरुमा नेकपा कार्यकर्ताले आपत्ति जनाएका छन् । जस्तो राष्ट्रपतिले डेढ अर्बको हेलिकप्टर चढेको कुरा, भिजुअलमा नेकपा कार्यकर्ताको झण्डा देखाइएको र कार्यकर्तालाई कुकुरजस्तै भुक्छन् भनेको कुरामा पनि सत्तापक्षको आपत्ति देखिन्छ ।

त्यसैगरी वाइडबडीमा भ्रष्टाचार भनेर अप्रमाणित विषयमा गीत गाइएको सत्तापक्षको तर्क सुनिएको छ । भलै वाइड बडीमा भ्रष्टाचार भएको संसदीय लेखा समितिले ठहर गरिसकेको विषय हो ।

गायत शर्माले आफ्नो गीतमा ‘यमराजको शासन’ भनेका छन् । भ्रष्टाचारको विरोध गर्ने क्रममा उनले सरकारी कर्मचारीले दुई वर्षमा घर बनाएको, सरकारी शिक्षकले छोराछोरी बोडिङमा पढाएको र सरकारी डाक्टरले बिरामीलाई निजी क्लिनिकमा पठाउने गरेको जस्ता विकृतिलाई औंल्याएका छन् ।

शर्माको गीतको विषयमा नेकपा सरकार वा उसको दलले औपचारिक धारणा सार्वजनिक नगरे पनि युवासंघले वक्तव्य निकालेर आपत्ति जनाएको छ ।

के छ शर्माको गीतमा ?

हाम्रा गामको एउटा भाइ स्थायी शिक्षकमा लड्यो

स्थायी शिक्षक हुन्छु भनी पढ्नुसम्म पढ्यो

बल्ल बल्ल नाम निकाल्यो अहिले जागिर खान्छ

त्यसकै छोरो पढ्न फेरि बोडिंगतिर जान्छ

लुट्न सके लुट कान्छा, लुट्न सके लुट

अरु देशमा पाइँदैन, नेपालमै हो छुट

००००

डाक्टरले नि जागिर यहाँ सरकारी कोटामा खान्छ

बिरामी जाँच्न फेरि क्लिनिकतिर तान्छ

हाम्रा गामको अर्को भाइले सुब्बामा जागिर खायो

दुईवर्षमै घर ठड्यायो, कहाँबाट पैसो आयो ?

लुट्न सके लुट कान्छा, लुट्न सके लुट

अरु देशमा पाइँदैन, नेपालमै हो छुट…

००००

गणतन्त्र ल्यायौं भन्छन्, फाल्यौं भन्छन् राजा

त्यै फालेका राजाजस्ता कैंयौं निस्के आज

जनताको मुटुभित्र काँडा कति कति

डेढ अर्बको हेलिकप्टर चढ्छिन् राष्ट्रपति

लुट्न सके लुट कान्छा, लुट्न सके लुट

अरु देशमा पाइँदैन, नेपालमै हो छुट…

००००

वाइडबडी जहाँज किने अरे लुट्नुसम्म लुटे

सुनकाण्ड खोई कहाँ पुग्यो, जेलमै छन् कि छुटे ?

ठूलै नेता भ्रष्टाचारी न डराउँछन् लुक्छन्

कार्यकर्ता केही बुझ्दैनन्, कुकुरजस्तै भुक्छन्

लुट्न सके लुट कान्छा, लुट्न सके लुट

अरु देशमा पाइँदैन, नेपालमै हो छुट…

००००

हजुरबा नि यसै मरे बाऊ नि यसै मर्छन्

हाम्रो पनि त्यै हो गति, विकास कैले गर्छन् ?

गर्ने काम केही हैन, ठूला ठूला भाषण

स्वर्गजस्तो देशमा हजुर यमराजको शासन

लुट्न सके लुट कान्छा, लुट्न सके लुट

अरु देशमा पाइँदैन, नेपालमै हो छुट…

००००

सडकतिर त्यस्तै जात्रा ट्राफिक लाइट छैन

ट्राफिक पुलिस सीटी फुक्छ, कोहीले सुन्ने हैन

त्यति जाबो ट्राफिक लाइटलाई कति लाउँछ खर्च

हाम्ले भन्न पर्ने हो कि आफैं बुझ्न पर्छ ?

लट्न सके लुट कान्छा, लुट्न सके लुट

लुट्न सके लुट कान्छा, लुट्न सके लुट

अरु देशमा पाइँदैन, नेपालमै हो छुट…

००००

ठेकदारले नि टेन्डर पार्छ लिन्छ ठेक्का पट्टा

झनै बिजोग पार्छ छोड्छ काम भ्याउनुको सट्टा

यता गयो लुटेकै छन् लुट्छन् उता गयो

सब जनालाई लुट्नैपर्छ भन्नेमात्रै भयो

लट्न सके लुट कान्छा, लुट्न सके लुट

अरु देशमा पाईँदैन नेपालमै हो छुट…

०००००

ड्यांगडुंग गर्ने, हल्ला गर्ने ठूला मान्छे बन्छन्

तँलाई सोझो भन्दैनन् भाइ नामर्द हो भन्छन् ।

अब गर्न छोड्दे कान्छा आदर्शको खेती

केही न केही त बुझिस होला भनेपछि यति

लट्न सके लुट कान्छा, लुट्न सके लुट

अरु देशमा पाईँदैन नेपालमै हो छुट…

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment