Comments Add Comment

भ्रष्टाचारविरुद्ध पशुपतिको छक्का प्रहार, ‘अरिंगाल’को चर्तिकला

नेकपा कार्यकर्तालाई सुझाव– पशुपतिको गीतको प्रचार गरौं

पशुपति शर्माले आजसम्म सयौं गीत गाए । उनले मायापिरतीका धेरै गीत गाएका छन् । उनले सन्देशमूलक गीत पनि त्यत्तिकै गाएका छन् । लोकभाकामा गाइने ती गीतहरु धेरै लोकप्रिय पनि छन् ।

पशुपति शर्माले उनले आजसम्म गाएका मध्ये दुईवटा झनै सशक्त गीत गाए । एउटा जातीय छुवाछूतविरुद्ध सशक्त गीत थियो । त्यसलाई केही जातिवादीले विरोध गरे । उक्त गीतको सन्देश जताबाट घुमाए पनि छुवाछुत विरुद्ध इतिहासमै सबैभन्दा धेरै प्रहार गरिएको गीत थियो । त्यसलाई प्रतिबन्ध गरियो ।

अहिले भ्रष्टाचारविरुद्ध खतरनाक प्रहार गरिएको गीत पशुपति शर्माले गाएका छन् । त्यसलाई पनि नेकपा कार्यकर्ताले युट्युबबाट हटाउन बाध्य पारिएको छ । यो कम्युनिस्ट सत्ताको आडमा गरिएको गुण्डागर्दीबाहेक केही होइन ।

पशुपति शर्माले नेकपा कार्यकर्तासंग माफी माग्नु र नमाग्नुको खासै अर्थ थिएन । उनले डर, धम्की र आलोचनाको कारण माफी मागे पनि उनले माफी माग्नुपर्ने कुनै आवश्यकता पनि थिएन ।

प्रधानमन्त्री केपी ओलीले भाषणमा जतिसुकै दम्भ प्रदर्शन गरे पनि उनले भ्रष्टहरुलाई संरक्षण गरेकै छन् । मन्त्रिपरिषदबाट वाइड बडी छानविन समिति बनाए, तर ४५ दिनसम्म पनि उनीहरुलाई नियुक्तिपत्र नदिइकनै समितिको म्याद सकियो

एक दशक पहिले यशकुमारले मैले छोएको पानी चल्दैन भनेर एउटा गीत गाएका थिए । उक्त गीतमा रोईकराईको भावबाहेक केही सन्देश थिएन । त्यसले कुनै मुक्तिको कुरा उठाएको थिएन । बरु त्यो भन्दा धेरै पहिले, मैले स्कुल पढ्दाको समयमा नै ‘गाइने दाइको सारंगीले जीवनको कथा भन्छ, काम गर्ने भोकै मर्ने चलनको अन्त्य हुनुपर्छ’ भन्ने गीति रेडियो नेपालबाट बज्थ्यो । मलाई सम्झना भएसम्म त्यो गीतमा मीना स्वर्णकारले स्वर दिएकी थिइन् । उनको कुनै दुर्घटनाको कारण मृत्यु भएको भनेर रेडियो नेपालले नै भनेजस्तो लाग्छ ।

त्यो गीत त्यति सशक्त थिएन, सन्देशमूलक चाहिँ अवश्य थियो । रेडियो नेपालबाट छुवाछूत कहिलेसम्म भन्ने केही सन्देश दिने र छुवाछूत गर्न हुँदैन भन्ने सन्देश भरिएका गीतहरु प्रशारण हुन्थे ।

ती सारा इतिहासलाई ब्रेक गर्दै चार वर्ष पहिले पशुपति शर्माले एउटा तीजको गीतमार्फत् छुवाछूतको विरुद्ध एउटा क्रान्ति नै ल्याइदिएका थिए । त्यसमा व्यक्त गरिएका शब्दको भाव कसैप्रति पनि लक्षित थिएनन् । थिए त केवल छुवाछूतविरुद्ध, समाजलाई उन्नत बनाउने सन्देश थियो । तर, केही एनजीओ, आइएनजीओका मान्छेहरुले उक्त गीतको विरोध गरे । त्यो घटिया चेतनास्तरको पराकाष्ठा नै थियो । बरु पशुपति शर्माको गीतको व्यापक प्रचार–प्रसार गर्नुपथ्र्याे ।

भ्रष्टाचारविरुद्ध ८ अन्तरामा छक्का प्रहार

पशुपति शर्माले तीनदिन पहिले लुट्न सके लुट कान्छा बोलको गीत युट्युबमार्फत् सार्वजनिक गरे । त्यो गीत छिटै नै लोकप्रिय बन्यो । व्यंग्यात्मक शैलीमा केटालाई विम्ब बनाएर गीतको रचना गरेका छन् । लुट्न सके लुट कान्छा…।

गीतमा आठवटा अन्तरा छन् । ती आठ अन्तरामध्ये सातवटा अन्तरामा भ्रष्टाचाररिुद्ध सशक्त ढंगले छक्का नै प्रहार गरिएको छ । गीतका शब्दहरुमा शब्द–शब्द केलाउँदा पनि धेरै ठाउँमा खोट देखिंदैन । यमराजलाई विम्बकै रुपमा प्रयोग गरिएको छ । गीतमा केपी ओलीलाई यमराज भनिएको होइन । यमराजलाई विम्ब बनाएर शासन ठीक भएन भन्न खोजिएको हो । गीतमा ठ्याक्कै त्यही भनेर लामा–लामा लेखमा जस्तो विश्लेषण गरिँदैन नै । विम्ब नै उतार्ने हो ।

पशुपति शर्माले सरकारी स्कुलका गैरजिम्मेवार शिक्षक, सरकारी अस्पतालका गैरुजिम्मेवार डाक्टर, घुस्याहा सरकारी कर्मचारी, भ्रष्ट नेता, भ्रष्ट ठेकेदार, ट्राफिक बत्ती समेत जडान गर्न नसक्ने सरकारी संयन्त्र आदि सबैलाई प्रहार गरेका छन् । जुन सही मात्रै होइन, कि सयमा सय प्रतिशत सही छ । नेकपाका कार्यकर्ता यो गीतबाट तर्सिनुपर्ने कुनै कारण छैन ।

बरु अन्तिम अन्तरामा दिन खोजिएको यो गीतको सन्देशचाहिँ गलत छ । उनले ‘अब गर्न छोड्दे कान्छा, आदर्शको खेती’ भनेका छन् । भन्न के सक्नुपथ्र्याे भने आदर्श ठीक छ र हुनुपर्छ । त्यो कुरामा पशुपति शर्मा चुकेका छन् ।

यदि आदर्श छोड्ने हो भने समाजको परिवर्तनका लागि गरेको संघर्षको वास्तविक स्वरुप लोप हुन्छ । बरु तेरो आदर्श कायम राखेर भ्रष्टाचारविरुद्ध निरन्तर लड्नुपर्छ भनेर भन्न सक्नुपथ्र्याे । त्यस कुरामा उनमा परिपक्वता देखिएन ।

तर, समग्र गीत हेर्दा नियतबस त्यस्तो गरेका हुन् भन्ने देखिँदैन । पशुपति शर्मासँग राजनीतिक ज्ञानको कमी नै हो भन्ने बुझिन्छ । जुन कुरा उनले आफ्नो स्टाटसमा पनि व्यक्त गरेका छन् । भ्रष्टाचार विरुद्ध लड्नका लागि आदर्श व्यक्ति चाहिन्छ नै । तर, उनले तँ पनि भ्रष्ट नै हुनुपर्छ भन्ने भाव व्यक्त गर्न खोजिएको छ । त्यसो गर्नु हुँदैनथियो ।

मार्क्सवाद आफैंमा आलोचनात्मक दर्शन हो । मार्क्सवादले आफैंप्रति आलोचनात्मक हुन सिकाउँछ । यो दुई तिहाइको सरकारलाई केही आलोचना गर्‍यो कि अरिङ्गालहरु आक्रमण गर्न तम्तयार भएर बसेका छन् । राजनीति पनि आलोचनात्मक हुन्छ । संसदमा प्रतिपक्ष मात्रै होइन, सत्तापक्षले पनि आलोचना गरिरहेकै हुन्छन् । प्रतिपक्षको त काम नै सरकारका कमजोरी औंल्याइदिने हो ।

झन् लेखरचनाहरु, गीतसंगीत र साहित्य त झनै आलोचनात्मक हुन्छन् । समाजको यथार्थ चित्रण आउने भनेकै लेखरचना, गीतसंगीत, कविता, निबन्ध इत्यादि साहित्यको मार्फत् हो ।

भ्रष्टाचार विरुद्ध अन्य गीत

आजसम्म भ्रष्टाचारविरुद्ध यति सशक्त गीतहरु गाइएकै थिएनन् । जीवन शर्माले नै ‘हजार हजार घुस खायो हाम्रो नाउँबाट, घुस खाने घुस्याहालाई खेद गाउँबाट’ भन्ने गीत ०५० को दशकमा गाएका थिए ।

भ्रष्टाचारविरुद्ध त्यति धेरै गीतहरु गाइएका थिएनन् । सयौं हजारौं लेख रचनाहरु भन्दा पशुपति शर्माको एउटै गीतले भ्रष्टाचारविरुद्ध खतरनाक प्रहार गर्न सफल भएको छ । यो गीत/संगीतको शक्ति नै हो ।

भ्रष्टहरुका संरक्षक केपी ओली ?

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका आयुक्त राजनारायण पाठकको घुससम्बन्धी भिडियो करिब चार महिना पहिले नै प्रधानमन्त्रीसमक्ष पुगेको खबर आएको छ । यदि त्यसो हो भने केपी ओली भ्रष्टहरुका सबैभन्दा ठूला संरक्षक हुन् त ? उक्त घुसकाण्डमा पाठक मात्रै दोषी छैनन्, नेपाल इञ्जिनियरिङ कलेजका लम्बोधर न्यौपाने पनि उत्तिकै दोषी छन् । घुस लिने र दिने दुवैलाई कडा सजायँ हुनुपर्छ । घुस लिने कारवाहीमा पर्ने डरले राजीनामा दिने, लम्बोधर न्यौपानेहरुले काम फत्ते नभएपछि गोप्यरुपमा भिडियो बनाएको देखिन्छ । त्यसैले पाठक र न्यौपानेको ग्रुप दुबै उत्तिकै दोषी छन् ।

प्रधानमन्त्री केपी ओलीले भाषणमा जतिसुकै दम्भ प्रदर्शन गरे पनि उनले भ्रष्टहरुलाई संरक्षण गरेकै छन् । मन्त्रिपरिषदबाट वाइड बडी छानविन समिति बनाए, तर ४५ दिनसम्म पनि उनीहरुलाई नियुक्तिपत्र नदिइकनै समितिको म्याद सकियो ।

मन्त्रिपरिषद्बाट गरिएको निर्णयसमेत कार्यान्वयन हुँदैन भने यो दुनियाँमा कुन चाहिँ निर्णय कार्यान्वयन हुन्छ ? व्यवहारबाट पटक– पटक के पुष्टि भएको छ भने प्रधानमन्त्रीले आफ्नो भनाइमा इमान्दार प्रदर्शन गरेका छैनन् ।

पञ्चायतलाई सम्झौं

पञ्चायतकालमा जीवन शर्माले रचना, संगीत र स्वर दिएका गीतहरु पञ्चायती व्यवस्थाका लागि अहिले पशुपति शर्माको भन्दा कैयौं खतरनाक थिए । पञ्चायतकालमा जीवन शर्माका सबैजसो गीतहरु पञ्चायतविरुद्ध नै थिए ।

बहुदल आएपछि पनि जीवन शर्माले ‘जनतालाई ठगी खाने सामन्तलाई चोट, लुटेराहरुलाई किन दिने भोट’ भन्ने गीत गाए । राजा ज्ञानेन्द्रका विरुद्ध सडकमा व्यक्तिगतरुपमा कैयौं अपमानजनक शब्दसमेत प्रयोग गरेर सडक कविता, गीतहरु गाइएका थिए । कसैको व्यक्तिगत जीवनको कुरा गर्ने हो भने त्यो गलत मान्न सकिएला । तर, ती व्यक्ति ज्ञानेन्द्रका विरुद्ध नभएर निरंकुश राजा ज्ञानेन्द्रका विरुद्ध थिए ।

पशुपति शर्माले दुई तिहाइ सरकारका विरुद्ध गीत गाए भन्ने जत्तिको खुला प्रकारको झूट अर्काे हुन सक्दैन । उनले दुई तिहाई सरकारका विरुद्ध गीत गाएका होइनन् । भ्रष्टाचार, कुशासनका विरुद्ध गीत गाएका हुन् ।

‘अरिङ्गालहरु’ लाई सुझाव

यहाँ अरिङ्गाल भनेर सबैलाई भन्न खोजिएको होइन । विवेकहीन तरिकाले सत्तापक्षका भ्रष्ट र असक्षमताहरुलाई खास्टोले बिरालो छोपेजस्तै छोप्ने अनि विपक्षीहरुमाथि खनिने झुण्डलाई भनिएको हो ।

नेकपाका युवा विद्यार्थीहरु अहिले सरकारको रक्षाकवचका रुपमा सडकदेखि सामाजिक सञ्जालसम्म धेरै नै सक्रिय छन् । तिनीहरुले सरकारको आलोचना गर्ने हो भने हामीलाई पनि कांग्रेस भन्छन् । तर, मेरो कलम कांग्रेसी गुण्डागर्दीविरुद्ध सधै थियो र रहनेछ ।

मैले नेकपाका अरिङ्गालहरुलाई के पनि भन्छु भने कांग्रेसको शासन भन्दा केपी ओलीको शासन केही प्रगतिशील चाहिँ छ । यसले विदेश नीतिलाई अलिकति भए पनि लिकमा लिएको छ । जनतालाई थोरै भए पनि सार्वभौमसत्ता सम्पन्न छौं है भन्ने देखाउन खोजेको छ । भेनेजुयलाका बारेमा अमेरिकासँग नक्कली भए पनि निहुँ खोज्यो । ०४८ सालमा कांग्रेसले एकमना सरकार चलाउँदा गाउँगाउँमा जुन प्रकारको राज्यआतंक र कांग्रेसी आतंक थियो, अहिले नेकपाको सरकारले त्यसो गरेको छैन । त्यति हुँदाहुँदै पनि यो सरकारको क्रियाकलापमा र जनताको दैनिक जीवनमा कम्युनिस्टको गन्ध चाहिँ कहीँ कतै भेटिँदैन ।

अन्त्यमा, ती अरिङ्गालहरु र नेकपाका कार्यकर्ता सबैले पशुपति शर्माको गीतको व्यापक प्रचार–प्रसार गर्नुपर्छ । कांग्रेसहरुले त गरेकै होलान् । यो केवल गीतको प्रचार मात्रै होइन कि भ्रष्टाचारका विरुद्ध सशक्त आवाज हो । आन्दोलन हो ।

( लेखक पोखरेल अखिल छैठौंका केन्द्रीय अध्यक्ष हुन्)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment