Comments Add Comment

तनहुँ हाइड्रोपावरले पनि सीएमसीसँगको ठेक्का सम्झौता रद्द गर्ने

५ फागुन, काठमाडौं । तनहुँ हाइड्रोपावर लिमिटेडले पनि इटालियन ठेकेदार कम्पनी सीएमसीसँगको ठेक्का सम्झौता रद्द गर्ने भएको छ । मेलम्चीबाट काम छाडेर भागको सीएमसीलाई तनहुँ हाइड्रोपावर लिमिटेड साइटमा काम थाल्न २८ दिनको समय दिएको थियो ।

तर, शुक्रबारसम्मको समयसीमामा सीएमसी काममा नफिर्कएपछि ठेक्का रद्द गर्ने प्रक्रिया सुरु गरिएको तनहुँ हाइड्रो पावर लिमिटेडका प्रवन्ध सञ्चालक प्रदिपकुमार थिकेले बताए ।

‘अब सीएमसीसँगको सम्झौता तोड्ने प्रक्रिया थालनी भएको छ । छिटै कम्पनीलाई टर्मिनेसन लेटर दिन्छौं,’ थिकेले भने ।

उनकाअनुसार अब लगत्तै नयाँ टेन्डर पनि गरिनेछ । आयोजनालाई अघि बढाउन ढिलाइ नगर्ने भन्दै थिकेले सीएमसीलाई विदाइ गर्ने र नयाँ टेण्डर गर्नेबारे एसियाली विकास बैंक (एडीबी)सँग छलफल भइरहेको बताए ।

उनका अनुसार सीएमसीको कार्यसम्पादन जमानत जफत गर्न पनि दावी गर्ने तयारी छ । सीएमसीले ठेक्का सम्झौता गर्दा १ अर्ब ९७ करोड धरौटी राखेको छ ।

१४० मेगावाट जडित क्षमताको तनहुँ जलविद्युत आयोजनाको नदी फर्काउने, बाँध लगायतका पहिलो प्याकेजका संरचना (हेड वक्र्स) निर्माणका लागि इटालियन कम्पनी सिएमसी छनोट भएको थियो । मेलम्ची खानेपानी आयोजनाको सुरुङ निर्माण गरिरहेको कम्पनीले तनहुँ जलविद्युत आयोजनाको काममा नजाँदै आर्थिक संकटमा फसेपछि नेपालबाट बाहिरिएको छ ।

कम्पनीसँग २० अर्ब ६४ करोड ५२ लाख रुपैयाँ (प्रोभिजनल सम र मूल्य अभिबृद्धि करसहित)मा खरिद सम्झौता भएको थियो ।

आयोजनाको सुरुङ, विद्युत गृह निर्माण र हाइड्रोमेकानिकल तथा इलेक्ट्रोमेकानिकल उपकरण आपूर्ति, जडान तथा सञ्चालन लगायतका दोस्रो प्याकेजका काम गर्न चिनियाँ कम्पनी सिनो हाइड्रो कर्पोरेसन लिमिटेड छनोट भएको छ ।

यो आयो जनाको सम्पूर्ण निर्माण कार्य डिसेम्बर २०२३ भित्र सक्ने लक्ष्य लिइएको छ । तर, सीएमसीका कारण आयोजना समयमै सक्न कठिन हुन सक्ने देखिएको छ ।

आयोजनाको कुल लागत अमेरिकी डलर ५० करोड ५० लाख (प्रसारण लाईन, ग्रामिण विद्युतिकरण तथा निर्माण अवधिको व्याज समेत) रहेको छ ।

यसमध्ये एसियाली विकास बैंक (एडीबी)ले अमेरिकी डलर १५० मिलियन, जापान अन्तराष्ट्रिय सहयोग नियोग (जाइका)ले अमेरिकन डलर १८४ मिलियन, युरोपियन इन्भेस्टमेन्ट बैंक (ईआईबी)ले अमेरिकन डलर ८५ मिलियन र नेपाल सरकाररनेपाल विद्युत प्राधिकरणले अमेरिकी डलर ८७ मिलियन व्यर्होने गरी वित्तीय व्यवस्थापन गरिएको छ ।

यसको लागि सम्बन्धित दातृ निकायहरु र नेपाल सरकारबीच ऋण सम्झौताहरु तथा नेपाल सरकार र प्राधिकरण एवम् प्राधिकरण र यस कम्पनीबीच सहायक ऋण सम्झौताहरु सम्पन्न भइसकेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment