Comments Add Comment

जसले नेपालीलाई साउदीमा फाँसीबाट जोगाए

सरोज रायलाई भेट्दा उनी मोवाइलमा कान थापिरहेका थिए । मैथिली भाषामा भनिरहेका थिए, ‘मैले सीडीओ र परराष्ट्र मन्त्रालयमा कुरा गरिसकेको छु ।’

फोन राखेपछि हामीलाई सुनाए, ‘फोन गर्नेको श्रीमान डेढ वर्षदेखि मलेसियामा बेपत्ता छन् । कन्सुलर सेवा विभागसँग पटक-पटक भनिसकेको छु कि यथार्थ खोज्नुस् । मृत्यु भएको छ भने जानकारी दिनुस् ।’

धनुषा उर्मिला महरा दिनदिनै सिउँदोमा सिन्दुर भरेर श्रीमान जोगिन्धर महराको बाटो कुरिबसेकी छिन् । विदेशिने नागरिकलाई हरियो पासपोर्ट हातमा थमाउने सरकारले उनलाई श्रीमानको स्थितिबारे जानकारी दिन सकेको छैन । कुराकानीबाट यति बुझियो, अहिले उनी जोगिन्धरको खोजीमा जुछटेका छन् ।

सरोज कुनै जिम्मेवार सरकारी पदमा रहेको व्यक्ति होइनन् । एक सर्वसाधारण हुन् । तर, एक शक्तिहीन व्यक्तिले पनि दुःखीहरुको पीडामा मल्हम लगाउन सक्छ भन्ने पुष्टि गरेका छन् । यिनै सरोजले साउदीको मरुभूमिमा फाँसीमा झुण्डाउन तयार पारिएका उमेश यादवलाई बचाए । दलालबाट बेचिन लागेका ३९ नेपाली महिलालाई भारतबाट उद्दार गर्न भूमिका खेले ।

आफ्नो कर्मबारे सरोज भन्छन्, ‘यो मेरो मिसन होइन । जीवनको एउटा भाग हो, मानवीयता हो । म त सिंगो देश समृद्ध भएको हेर्न चाहन्छु ।’

सरोजको पुरानो घर जनकपुर हो । उनको परिवार बसाई सरेर अहिले काठमाडौंको बुद्धनगरमा छ । तर, उनी काठमाडौंमा कम तराईका विभिन्न गाउँमा बढी भेटिन्छन् ।

भर्खरैमात्र सर्लाही र सप्तरीका तीन सय परिवारलाई कम्बल वितरण गर्न पुगेका थिए । जाडोमा काँपिरहेका स्कुले विद्यार्थीलाई ट्र्याक उपलब्ध गराए । गरिबीका कारण आत्महत्या गर्न खोजेका इनरुवाका २४ वर्षीय सन्तोष यादवलाई टिचिङमा ल्याएर भर्ना गरेका छन् । आगलागी र बाढीपहिरो आए पीडितलाई महलम लगाउन पुग्छन् । असहायको बस्तीमा पुगेर गुनासो पोको पारेर ल्याउँछन् र सहयोगको अपिल गर्छन् । अनि उनीहरुको घाउमा मल्हमपट्टी लगाउँछन् ।

यसरी जोगाए फाँसीबाट

१५ मेमा सरोजले न्यायाधीशसँग भटेर भने, ‘म तपाईंलाई च्यालेन्ज गर्न आएको होइन । जीवनको राहत माग्न आएको हुँ ।’ अनि मन्जुरीनामा बुझाए । त्यसपछि सरोजको फाँसी टर्‍यो ।

२०१८ को एक दिन उनले पत्रिकामा समाचार पढे, ‘साउदी सरकारले धनुषाका उमेश यादवलाई फाँसी दिँदैछ ।’ यसै पनि यादवले जेलको छिँडीमा १२ वर्ष बिताइसकेका थिए । सरोजले यो पनि थाहा पाए कि १७ लाख रुपैयाँ ब्लड मनी जुटाउन सके उमेशको सजाय खारेज हुनसक्छ । बेचैन भएको सरोजको मनलाई पछिल्लो विकल्पले केही हदसम्म सितल बनायो । त्यसपछि उनले आफैसँग सोधे, ‘बचाउन सकिन्छ भने किन प्रयास नगर्ने ?’

त्यसपछि उमेशको परिवार भेट्न पुगे । सरियत ल (इस्लामिक कानून) पढ्न थाले । पटकपटक परराष्ट्र मन्त्रालय र कन्सुलर विभाग गएर जानकारी लिए । उमेशको परिवारले उनलाई घटनाको बेलिविस्तार लगाएका थिए, ‘पाकिस्तानका मोहम्मद लफी बसिर तल बसिरहेको थियो र उमेश माथिबाट काम गरिरहेको थियो । बसिरको गल्तीले माथिबाट उमेश खस्यो । त्यसैले उमेशले एक झापड हानेछ । बसिरले पनि कसेर दिएछ । नजिकै रड थियो, उमेशले त्यही उठाएर हिर्काएछ । हस्पिटलमा भर्ना भएको बसिरको केही दिनपछि मृत्यु भयो ।’

यही बीचमा सरोजले दूतबासबाट उमेशबारे १५ पेजको अदालतको कागज पनि हात पारे । उनले यो पनि जानकारी पाए कि अदालतले पटक-पटक पाकिस्तानी परिवारलाई ‘क्लेम’ गर्ने मौका दिएको थियो । बसिरको परिवारको लागि तीनवटा विकल्प थिए, एउटा मृत्युदण्ड हुनुपर्छ भन्ने, अर्को अल्लाहको नाम लिएर माफी दिने र तेस्रो ब्लडमनी लिएर फाँसीबाट जोगाउने । तर, उमेशको पक्षमा एउटा पनि वकिल थिएनन् । त्यसैले उनीसँग मात्र एउटा विकल्प थियो फाँसीमा झुण्डिने । नभन्दै १५ अप्रिलमा अदालतले उमेशलाई मृत्युदण्डको सजाय सुनायो ।

सरोज फेरि परराष्ट्र मन्त्रालयमा पुगेर पाकिस्तान जान अनुमति मागे । २२ अप्रिलमा पाकिस्तानको फैसलाबाद पुगे । जहाँ बसिरको परिवार बसिरहेको घर थियो । उनले माफीका लागि प्रयास थाले । उमेशको तर्फबाट माफी मागे । सरोजलाई थाहा थियो कि यो काम त्यति सजिलो छैन । तर, उनीसँग दह्रो आत्मविश्वास थियो । त्यसैले ४५ दिनमा ब्लड मनि बुझाउने गरी परिवारको मन्जुरीनामा हात पारिछाडे । मन्जुरीनामा कागजमा लेखिएको थियो, ‘मैले ३० लाख रुपैयाँ ब्लडमनी लिएर अल्लाहको नाममा क्षमा गरिदिएँ ।’

सरोजको हातमा मन्जुरीनामा आउनसाथ ब्लड मनी सहयोग गर्न सामाजिक सञ्जालमा आव्हान गरे । मृत्युदण्ड तोकेको एक महिनासम्म अदालतले समय दिँदोरहेछ । त्यसैले उनीहरुसँग सहयोग संकलन गर्ने समय थयो ।

३० होइन ४० लाख रुपैयाँ सहयोग जुट्यो । फेरि सरोज फैसलाबाद पुगे र उमेश छुटेपछि मात्र रकम दिने बताए । रकम उनले पाकिस्तानको लागि नेपाली दुतावासमा बुझाएका थिए । त्यसपछि उनी साउदीको अदालत पुगे । १४ मेको राति उमेशलाई भेटे । अर्को दिन त्यही दिन उमेशलाई फाँसीमा झुण्ड्याइँदै थियो ।

१५ मेमा सरोजले न्यायाधीशसँग भटेर भने, ‘म तपाईंलाई च्यालेन्ज गर्न आएको होइन । जीवनको राहत माग्न आएको हुँ ।’ अनि मन्जुरीनामा बुझाए । त्यसपछि उमेशको मृत्युदण्ड टर्‍यो । तर, उनीहरू जेलमुक्त भएका छैनन् । मानिसको जीवन बचाउनु सबैभन्दा ठूलो न्याय हो । सायद सरोजले यही मन्त्रलाई आत्मसात गरेका छन् ।

भारतमा ३९ नेपाली चेलीको उद्दार

सरोजलाई कैयन फोन आउँछन् । कसैले म यहाँ अलपत्र छु भन्छन् । कसैले नेपाली विदेशमा कोमामा रहेको सुनाउँछन् । कसैलेसन्तान मृत्युसँग लड्दै छ भनेर रुन्छन् ।

उनलाई एक वर्ष पहिले पनि एउटा फोन आएको थियो, ‘नयाँ दिल्लीको दुई-तीन वटा हाटेलमा अवैधानिक रुपमा विदेश लान खोजिएका १२५ जना चेली राखिएको छ ।’ यस्ता सूचनाले सरोजलाई भावुक र उद्येलित दुवै बनाउँछ । अर्को दिन उनी हुत्तिएर नयाँदिल्ली पुगे । अनि त्यस होटेलको खोजी गर्न थाले ।

उनले यो राम्रोसँग बुझिसकेका छन् कि भारतको बाटो हुँदै वैदेशिक रोजगारका नाममा थुप्रै नेपाली बेचिन्छन् । उनीहरुसँग न श्रम स्वीकृति हुन्छ, न दुतावास वा नेपालसँग नै उनीहरुको रेकर्ड हुन्छ । विभिन्न देशमा सञ्जाल फिँजाएका दलालले उनीहरुको हातमा दुईप्रति भिसा र टिकेट थमाउँछन् । एउटा भिजिट भिसा हुन्छ, जुन उड्ने बेला उनीहरुले हातमा राख्छन् । अनि अर्को प्लेन टिकट, भिजा र मिन्सुरेसन प्याड, जुन कसैले थाहा नपाउने ठाउँमा लुकाउँछन् ।

प्लेन उड्नसाथ उनीहरुले भिजिट भिसा-टिकट च्यातिदिन्छन् र जुन देशमा जाने हो त्यो देशको भिजा टिकट निकाल्छन् । र, त्यही टिकट र भिजा ट्रान्जिटमा देखाउँछन् ।

‘यसरी गएका महिलाले न राम्रो काम पाउँछन्, न त सुरक्षा नै हुन्छ’, सरोज भन्छन्, ‘अधिकांशलाई घरेलु कामदारमा हालिन्छ, यौनशोषण हुन्छ । मृत्यु भयो भने उतै गुपचुप पारिन्छ ।’ यसलाई मानव बेचविखनकै उपमा दिन्छन्, सरोज ।

सरोज दिल्ली पुगेपछि तीन होटेल भेटाए, जहाँ १२५ जना नेपाली चेलीको होहल्ला थियो । अनि सिधै गएर दिल्ली महिला अयोगकी अध्यक्ष स्वाती मालिपाललाई जानकारी दिए । सरोजले लिखित उजुरी दर्ता गराउनुपर्‍यो । त्यसपछि प्रहरीले दुई होटेलमा छापा हानेर ३९ जनाको उद्दार गर्‍यो । अनि नेपाली दूतावासमा पठायो ।

‘यो अहिलेसम्मकै ठूलो छापा थियो’, उनी भन्छन्, ‘उता छापा हान्यो, म नेपाल फर्किएँ ।’ केही दिन दूतावासमै रहेका ती चेलीलाई केआई नेपालको सहयोगमा नेपाल ल्याइयो ।

पूर्णकालीन समाजसेवा

केही समय पहिले उनले साउदीमा दुर्घटना भएर खुट्टा गुमाएका धर्मनाथ पासवानलाई दुई वर्षपछि उद्धार गरेका थिए । उनको घर पनि बन्दैछ अहिले । विना श्रमस्वीकृति इराकमा पुर्‍याएर अलपत्र पारेको १० जना युवकलाई इजरायलमा रहेकी सारिन तामाङको सहयोगमा उनले उद्धार गरे । दलालविरुद्ध मानव वेचविखनको मुद्दा दायर गरेका छन् । सरोजको यस्तो व्यस्तताले सबैको मनमा प्रश्न जन्माउँछ, ‘यो मान्छे आफ्नो परिवारको लागि सोच्छ कि सोच्दैन ?’

केही समय पहिले काठमाडौंमै रेष्टुरेन्ट थियो । अहिले छैन । साथीरुसँग मिलेर महेन्द्रनगरमा डेरी उद्योगको प्लान्ट लगाउँदैछन् । काठमाडौंमा टायल्सको व्यवसाय छ । सरोज भन्छन्, ‘साथीहरुले मलाई सामाजिक काममै लाग्न सल्लाह दिनुहुन्छ । मलाई व्यवसायमा फुलटाइम दिने अनिवार्यता छैन ।’

कहिलेकाँही श्रीमतीले समय नदिएको गुनासो गरे सरोजले श्रीमतीलाई पनि पीडितसँगै भेटाउँछन् । सरोज भन्छन्, ‘जव उनले पीडितहरुको कथा सुन्न थाल्छिन्, काम गर्नको लागि प्रोत्साहन दिन्छिन् ।’ छोराछोरीलाई पनि त्यही गर्छन् ।

‘एकपटक म सिराहा, सप्तरी, धनुषा, महोत्तरी टि्रप गएँ । गाडीमा राखेर छोराछोरीलाई पनि लगेँ’, उनले आफ्नो काइदा सुनाउँछन्, ‘छोराछोरी सोचिरहेका थिए कि हामी भ्याकेसन टि्रपमा छौं । मेरो भने विभिन्न ठाउँबाट कागजपत्र लिने काम थियो ।’

कतिपय सामाजिक ठाउँमा जाँदा आफ्नै भ्यानको प्रयोग गर्छन् । उनको व्यवसायले परिवार बचाइरहेको छ भने अमेरिकामा चिकित्सक पेसा गरिरहेका भाइ डा. सुनिल रोयले पनि सहयोग गर्छन् । यद्यपि उनले आफ्नो केही खर्च कटौती गरेर पनि सामाजिक काममा सक्रियता बढाएका छन् ।

आफ्नै बाबा प्राडा. राम स्वार्थबाट पनि धेरै कुरा सिकेका छन् । उनले धनुषा साइन्स क्याम्पस स्थापना गरेका छन् तर, ट्रस्टमा परिणत गरेर । मधेसी मुलका सरोज मधेसमै बढी सक्रिय छन् । ‘मैले मधेस राम्रोसँग बुझेको छु, त्यसैले यहीबाट काम शुरु गरेको छु, हुम्ला-जुम्लामा त जान र घुममिल हुन गाह्रो छ’, उनी भन्छन् ।

तराई मधेस राष्ट्रिय परिषद् नामक उनीहरुको संस्था पनि छ । उनी भन्छन्, ‘हामीले रुटबाट काम गरिरहेका छौं । तर, विपत् परेको बेला राहत बोकेर थुप्रै पहाडी जिल्ला पनि पुगेको छु ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment