Comments Add Comment

काठमाडौंमा अन्तर्राष्ट्रिय औद्योगिक व्यापार मेला तथा घरेलु उद्योग महोत्सव हुँदै

५ फागुन, काठमाडौं । काठमाडौंमा १५ औं अन्तर्राष्ट्रिय औद्योगिक व्यापार मेला तथा घरेलु उद्योग महोत्सव आयोजना हुने भएको छ ।

नेपाल घरेलु तथा साना उद्योग महासंघले हरेक वर्ष आयोजना गर्दै आएको औद्योगिक व्यापार मेला तथा घरेलु उद्योग महोत्सव यस वर्ष फागुन २३ गतेदेखि सञ्चालन गर्ने भएको हो ।

‘नेपाली वस्तु प्रयोग गरौं, नेपाली भएकोमा गर्व गरौं’ र ‘मेहनत, श्रृजना, उत्पादन र वस्तु मैरै नेपालको’ भन्ने नाराका साथ आयोजना हुने महोत्सव फागुन २७ गतेसम्म चल्ने महासंघका कार्यबाहक अध्यक्ष उमेश प्रसाद सिंहले जानकारी दिए । सिंहका अनुसार यस वर्ष तेस्रो संस्करणको प्राङ्गारिक कृषि मेला पनिसँगै आयोजना हुनेछ ।

‘समृद्ध नेपाल, सुखी नेपालीको नारा’लाई अभियानका रुपमा सञ्चालन गर्ने उद्घोष गरेको वर्तमान सरकारको कार्य मुलुकको समृद्धीतर्फ केन्द्रीत हुनुपर्ने परिप्रेक्ष्यमा मुलुकभरका झण्डै चार लाख लघु, घरेलु तथा साना उद्योगहरुलाई प्रतिबिम्बित गर्ने प्रदर्शनीको मुख्य उद्देश्य रहेको कार्यबाहक अध्यक्ष सिंहले बताए ।

लघु घरेलु तथा साना उद्योगहरू आर्थिक विकास र समृद्धिका संवाहकका रुपमा रहेको भए पनि प्रविधि प्रयोग र अन्य क्षमता विकासका हिसाबले यस्ता उद्योगहरु प्रतिस्पर्धी बन्न नसकेको हुँदा आकर्षक प्रतिफल दिन नसकिरहेको भन्दै उनले मेलाले यस्ता पक्षलाई सम्वोधन गर्ने बताए ।

विगत केही वर्षदेखि राष्ट्रिय औद्योगिक प्रदर्शनीलाई अन्तर्राष्ट्रिय औद्योगिक व्यापार मेलाको रुपमा आयोजना गर्न शुरु गरेको सन्दर्भमा यो प्रदर्शनी यस वर्ष ‘नेपाल १५आंै अन्तर्राष्ट्रिय औद्योगिक व्यापार मेला तथा घरेलु उद्योग महोत्सव र तेश्रो प्राङ्गारिक कृषि मेला-२०७५’ को नाममा आयोजना हुँदैछ ।

मेलामार्फत नेपालको अर्गानिक तथा प्राकृतिक कृषि उपजहरुको राष्ट्रिय, अन्तर्राष्ट्रिय बजारीकरणमा टेवा पुर्‍याउने उत्पादक र उपभोक्ताहरुलाई एउटै थलोमा ल्याउनेे उद्देश्य लिइएको छ ।

उत्पादक र उपभोक्ता बीचको मूल्य अन्तरलाई न्यूनीकरण गर्दे उपभोक्तालाई सुपथ मूल्यमा अर्गानिक तथा प्राकृतिक उपभोग्य सामाग्रीहरु उपलब्ध गराउने वातावरण बनाउने प्राङ्गारिक कषि मेलाको उद्देश्य रहेको छ ।

मेलाको सह-आयोजकको रुपमा नेपाल सरकार, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय- व्यापार तथा निकासी प्रवर्द्धन केन्द्र, लघु, घरेेलु तथा साना उद्योग विकास कोष, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय-राष्ट्रपति महिला उत्थान कार्यक्रम रहने छन् । त्यसैगरी अन्य सरकारी निकाय तथा गैह्रसरकारी संघसंस्थाहरु यसका प्रवर्द्धक र सहयोगी रहने बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment