Comments Add Comment

ऋणीलाई डेपुटी गभर्नरको प्रश्न : ७ प्रतिशतमा ऋण लिने, निक्षेपमा १२ खोज्ने ?

बैंकर्स संघका नेता भन्छन्– उद्योगी व्यवसायीले आत्तिनुपर्दैन

Photo Credit : शनिबार बालुवाटारमा प्रधानमन्त्रीसँगको भेटघाटमा उद्योगी व्यवसायी

५ फागुन, काठमाडौं । प्रधानमन्त्रीनिवास बालुवाटार पुगेको उद्योगी व्यवसायीहरुको टोलीले शनिबार प्रधानमन्त्री केपी शर्मा ओलीलाई बैंकको ब्याजदर घटाउन आग्रह गर्‍यो । बैंकको ब्याजदर चर्को हुँदा उद्योग व्यवसाय चलाउन नै गाह्रो परेको भन्दै व्याजदर कम हुनुपर्ने उद्योगी व्यवसायीहरुको माग थियो ।

उद्योगी व्यवसायीको गुनासोबाट प्रभावित भएर प्रधानमन्त्रीले ३ दिनभित्र ब्याजदर घटाउन अर्थमन्त्री डा. युवराज खतिवडालाई निर्देशन दिएपछि व्यवसायीहरु प्रशन्न बनेर बालुवाटारबाट फर्किएका छन् । अब यस विषयमा छलफलका लागि सोमबार अर्थमन्त्री एवं राष्ट्र बैंकका गर्भनरले उद्योगी व्यवसायीलाई सिंहदरबारमा बोलाएका छन् ।

प्रधानमन्त्री ओलीले तीन दिनभित्रै ब्याजदर घटाउन बैंकहरुलाई निर्देशन दिन अर्थमन्त्रीलाई भनेता पनि प्रधानमन्त्रीको निर्देशन कार्यान्वयनमा आउन जटिल रहेको बैंकर्स एसोसिएसनका कतिपय नेताहरुको तर्क छ । राष्ट्र बैंकका अधिकारीहरु पनि ब्याजदर राष्ट्र बैंकले तोक्ने नभई बजारले निर्धारण गर्ने बताउँछन् । तर, अर्थमन्त्री खतिवडा भने प्रधानमन्त्रीको ठाडो निर्देशनपछि सकसमा परेका छन् ।

जब ‘ब्याज’विरुद्ध सडकमा जुलस निस्कियो….

बैंकको ब्याजदर अत्यधिक भएको भन्दै बिराटनगर, भैरहवा लगायतका औद्योगिक सहरहरुमा सडकमै उत्रेर यसको विशेष विरोध भइरहेको छ । प्रदेश नम्बर १ को बिराटनगर र प्रदेश ५ को भैरहवाका उद्योगी व्यवसायीहरुले ब्याजदर बढेको भन्दै विरोध गरिरहेका छन् ।

विगतका वर्षहरुमा बैंकको ब्याजदर बढ्दा विरोध गर्ने शैली र अहिलेको शैली भने अलि फरक छ । बिराटनगर र भैरहवाका उद्योगी व्यवसायीले नयाँ तरिका अपनाएर सडकमै यसको यसको विरोध गरेका छन् ।

भैरहवाका उद्योगी व्यवसायीहरुले सडकमा नारा जुलुस लगाउँदै ‘ब्याजदर आतंक’को विरोध गरे । उनीहरुले नेपाल राष्ट्र बैंकको भैरहवा कार्यालयका निर्देशकमार्फत गभर्नरको ध्यानाकर्षणसमेत गराइसकेका छन् ।

उता, प्रदेश नम्बर एकको बिराटनगरका उद्योगी व्यवसायीहरुले ब्याजदर घटाउन सडक संघर्ष नै गरेका छन् । उनीहरुले केही दिनअघि मात्रै चरणवद्ध आन्दोलनका कार्यक्रमहरु सार्वजनिक समेत गरेका थिए ।

बैंकहरुले वृद्धि गरेको ब्याजदरका कारण व्यवसाय सञ्चालन गर्न सक्ने अवस्था नरहेको उद्योगी व्यवसायीहरुले बताउँदै आएका छन् । मोरङ व्यापार संघ र उद्योग संगठन मोरङको अगुवाइमा व्यवसायीले ब्याजदर नघटे तालाचाबी सरकारलाई बुझाएर राष्ट्र बैंक क्षेत्रीय कार्यालयमा तालाबन्दी गरी धर्ना दिनेसम्मका आन्दोलनका कार्यक्रम घोषणा गरे ।

अन्ततः भवानी राणा नेतृत्वको उद्योग वाणिज्य महासंघले यसको नेतृत्व लिने भएपछि अहिले मोफसलका उद्योगी व्यवसायीहरु केही नरम देखिएका छन् । यही क्रममा शनिबार बिराटनगरका उद्योगी व्यवसायी र महासंघका पदाधिकारीले बालुवाटारमा प्रधानमन्त्री, अर्थमन्त्री र उद्योगमन्त्रीसँग छलफल गरेका छन् ।

बैंकको ब्याजदरका विषयमा विषयमा संसदीय समितिमा पनि सांसदहरुले कुरा उठाउँदै आएका छन् । संसदको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको गत बिहीबार बसेको बैठकमा सांसद प्रमोद शाहले ब्याजदरको विषय उठाएका थिए । कर्जाको ब्याजदर महंगो हुँदा उद्योग धन्दाहरु चल्न गाह्रो परेको भन्दै उनले सरकारले यस विषयमा पनि सोच्नुपर्ने बताए ।

डेपुटी गभर्नर भन्छन्– ७ प्रतिशतमा कर्जा, १२ प्रतिशतमा निक्षेप असम्भव

बैंकको ब्याजदर आकाशिएको भन्दै उद्योगी व्यवसायीहरुले सडकमै नारा घन्काइरहँदा बैंक तथा वित्तीय संस्थाहरुको नियमनकारी निकाय नेपाल राष्ट्र बैंक के गर्दैछ त ? हामीले यसबारेमा बिराटनगरका उद्योगी व्यवसायीसँग छलफल गरेर काठमाडौं फर्केका राष्ट बैंकका डेपुटी गभर्नर चिन्तामणि सिवाकोटीसँग जिज्ञासा राख्यौं ।

तिहारलगत्तै देखिएको निक्षेपको ‘ब्याजदर आतंक’ लाई राष्ट्र बैंककै कारण नियन्त्रणमा आएको दाबी राष्ट्र बैंकका अधिकारीहरुको छ । निक्षेपमा १३ प्रतिशतसम्म पुगेको ब्याजदर यतिबेला १० प्रतिशत भन्दा तल पुगेको छ । यद्यपि, राष्ट्र बैंकले बैंकिङ ब्याजदर निर्धारण गर्न नपाउने र बैंकको ब्याजदर बजारले निर्धारण गर्ने राष्ट्र बैंकका अधिकारीहरु बताउँछन् ।

तथापि अहिले उद्योगी व्यवसायीहरुले उठाएको ब्याजदरको विषयचाहिँ कर्जातर्पmको हो । केही वर्ष पहिले ७ प्रतिशतमा लिएको कर्जाको ब्याजदर अहिले शतप्रतिशत बढेर १४ पुगेको भन्दै उनीहरुले विरोध गरिरहेका छन् । यो व्याजदर बढ्नुको मुख्य कारण भनेको आधार दर स्प्रेड दर (कर्जा र निक्षेपको ब्याजदरको अनुपात) नै रहेको बैंकको दाबी छ ।

यसमा पनि राष्ट्र बैंकले चासो दिएको बैंकका अधिकारीहरुको तर्क छ । व्यवसायीहरुमा जतिसक्दो सस्तो व्याजदरमा कर्जा लिन पाउनुपर्ने र महंगो ब्याजदरमा निक्षेप राख्न पाउनुपर्ने चाहाना भएकाले समस्याजस्तो देखिएको राष्ट्र बैंकका डेपुटी गभर्नर सिवाकोटी बताउँछन् ।

‘व्यवसायीहरु ७ प्रतिशतमा व्याजदरमा कर्जा लिने र १२ प्रतिशतमा निक्षेप राख्ने चाहना राख्नुहुन्छ, त्यो सम्भव हुन्छ ?’ डेपुटी गभर्नर सिवाकोटीले अनलाइनखबरसँग भने, ‘ब्याजदर क्रमशः घटिरहेकै छ, राष्ट्र बैंकले पनि यसका लागि आवश्यक काम गरिरहेकै छ नि ।’

डेपुटी गभर्नर सिवाकोटी नेतृत्वको टोलीले बिराटनगर पुगेर गत मंगलबार त्यहाँका उद्योगी, व्यवसायीहरुसँग छलफल गरेको थियो । डेपुटी गभर्नर सिवाकोटीसँगै वाणिज्य बैंकहरुको छाता संगठन बैंकर्स एशोसिएसन नेपालका अध्यक्ष ज्ञानेन्द्र ढुंगानालगायतको टोलीले बिराटनगर पुगेको थियो ।

यसक्रममा ब्याजदर सबै ठाउँको एउटै भएकाले बिराटनगरका उद्योगी व्यवसायीहरुलाई आफ्नो केन्द्रीय संघमार्फत छलफलका लागि आउन आग्रह गरिएको डेपुटी गभर्नर सिवाकोटीले बताए ।

बैंकर्स संघका नेताहरुसँगै मिलेर बिराटनगर पुगेका डेपुटी गभर्नरसँगको छलफलबाट चित्त नबुझेपछि बिराटनगरका उद्योगीहरु शनिबार प्रधानमन्त्री निवास बालुवाटार पुगेका थिए । त्यहाँ अर्थमन्त्री डा. युवराज खतिवडा, उद्योगमन्त्री मात्रिका यादव र राष्ट्र बैंकका गभर्नर डा. चिरञ्जीवि नेपाल पनि साथमा थिए ।

के भन्छन् बैंकर्स एशोसिएसनका नेता ?

ब्याजदर आकाशिएको भन्दै सडकमै उद्योगी व्यवसायीहरु उत्रिरहँदा बैंकर्स एशोसिएसनले भने उनीहरुले भनेजसरी बैंकिङ ब्याजदर उभो नलागेको दाबी गरेको छ । मंगलबार ब्याजदरकै विषयमा बिराटनगरमा भएको छलफलमा सहभागी भएर काठमाडौं फर्किएका एशोसिएसनका अध्यक्ष ज्ञानेन्द्र ढुंगानाले उद्योगी व्यवसायीहरु आत्तिनैपर्ने गरी ब्याजदर नबढेको बताएका थिए ।

केही वर्ष पहिले लिएको कर्जामा ब्याजदर बढ्नु स्वाभाविक भएको ढुंगानाको तर्क छ । ‘केही वर्ष पहिले वहाँहरुले ७ प्रतिशतमा कर्जा लिनुभएको थियो अहिले पनि त्यही ७ प्रतिशत होस भन्ने चाहानु भएको छ’ ढुंगानाले भने, ‘केही समयअघिको भन्दा ब्याजदर घटिरहेकै छ, राष्ट्र बैंकले स्प्रेडदर घटाएको छ, बेसरेट घटेको छ आत्तिनुपर्ने कुनै अवस्था छैन ।’

ब्याजदर बजारले निर्धारण गर्ने भन्दै ढुंगानाले कुनै पनि बैंकले आफूखुसी नेपाल राष्ट्र बैंकको नीति नियम बाहिर गएर ब्याज नलिएको दाबी गरे ।

पछिल्लो समय बैंकको मुनाफा धेरै भयो भनेर मिडियामा आएका कारण पनि उद्योगी व्यवसायीहरु आत्तिएको उनले बताए । धेरै मुनाफा बैंकले कमाएको भनेपछि ब्याज सस्तो हुनुपर्ने उद्योगी व्यवसायीहरुको माग रहेको ढुंगानाले बताए ।

नेपाल बंगलादेश बैंकका प्रमुख कार्यकारी अधिकृत समेत रहेका अध्यक्ष ढुंगानाका अनुसार यतिबेला कर्जाको ब्याजदर १४ प्रतिशतको हाराहारीमा छ र यो पनि घट्ने क्रममा रहेको छ । तथापि उद्योगी व्यवसायीहरुसँग भएको छलफलपछि भने निजी क्षेत्रको छाता संगठन नेपाल उद्योग वाणिज्य महासंघसँगको नेतृत्वमा राष्ट्र बैंक, अर्थमन्त्रालय लगायतसँग छलफल गर्ने कुरा भएको ढुंगानाले जानकारी दिए ।

नेपाल बैंकर्स संघले दिएको जानकारी अनुसार हाल कर्जाको ब्याजदर १५ प्रतिशत भन्दा तल छ भने निक्षेपको ब्याजदर ९.५० प्रतिशतको हाराहारीमा छ । कर्जाको ब्याजदर निर्धारण गर्न महत्वपूर्ण मानिने बैंकको आधार दर (बेस रेट) पनि औसतमा घटेको बताउँदै यसले बैंकको ब्याजदर थप घटाउने एशोसिएसनका कार्यकारी अधिकृत अनिल शर्मा बताउँछन् ।

यो पनि पढ्नुहोस्

३ दिनभित्र बैंकको ब्याज घट्नेमा मोरङका व्यवसायी ढुक्क

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment