Comments Add Comment

चितवन एक्स्पो सेन्टरको निर्माण असारसम्म सकिने

५ फागुन, चितवन । चितवनको भरतपुरमा निर्माण भइरहेको चितवन एक्सो सेन्टरको करिब दुई तिहाइ निर्माणको काम सकिएको छ । सेन्टरको निर्माण गरिरहेको चितवन उद्योग संघका अनुसार सेन्टरको ७० प्रतिशत निर्माण सकिएको छ ।

बाँकी ३० प्रतिशत काम आउँदो असारभित्र नै सक्ने गरी काम अघि बढेको संघका अध्यक्ष भेषराज दुवाडीले जानकारी दिए ।

झण्डै ४३ करोड लागतमा बन्न लागेको भवनमा सरकारले १५ करोड रुपैयाँ दिएको छ भने उद्योगी व्यवसायीबाट १० करोड संकलन गरिएको छ । ‘सरकार र निजी क्षेत्रको साझेदारीमा यो देशकै पहिलो आधुनिक नमुना र लोभलाग्दो योजना हो’ दुवाडीले भने ।

१० करोड केन्द्र सरकारसँग र ७ करोड प्रदेश सरकारसँग माग गरिएको छ । प्रदेश सरकारसँग एसी, जेनेरेटर, ट्रान्सफर्मर लगायतका कामका लागि रकम माग गरेको दुवाडीले बताए । सेन्टर निर्माणका क्रममा तिरेको भ्याट र भन्सार वापतको रकम पुनः सेन्टर निर्माणका लागि दिन सरकारसँग माग भैरहेको अध्यक्ष दुवाडीले जानकारी दिए ।

अहिलेसम्म भ्याट र भन्सारबाट मात्रै १० करोड रकम सरकारले लिएको दुवाडीको भनाइ छ । ‘त्यही बराबरको रकम सरकारसँग माग गरेका हौं, पाँच करोड मागको फाइल गएको छ, त्यसलाई बढाउनुपर्ने भएको छ’ अध्यक्ष दुवाडीले भने ।

फागुनमा नै सेन्टरमा हुने फर्मा एक्सपोको उद्घाटनका लागि प्रधानमन्त्री केपी ओली चितवन आउँदा थप रकमका लागि कुरा गर्ने अध्यक्ष दुवाडीले बताए । ‘पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले पाँच करोड रकमको व्यवस्था मिलाउने वचन दिनुभएको छ, ऋण लिएरै अहिले काम गर्न भन्नुभएको छ’ अध्यक्ष दुवाडीले भने, ‘प्रधानमन्त्रीबाट पनि केही सहयोग हुने आशा छ ।’

प्रदर्शनी हुने मुख्य तीन वटै ब्लकको निर्माण सकिएको छ । ती ब्लकमा एसी जडानको काम धमाधम भइरहेको छ । एसी जडानको ४० प्रतिशत काम पनि सकिएको छ, निर्माणाधीन फुडकोटको ९० प्रतिशत र सचिवालयको ७० प्रतिशत काम सम्पन्न सकिएको छ ।

दुवै तिरका गेटहरु निर्माण गरिएका छन् । २०७३ जेठबाट प्रर्दशनी केन्द्र निर्माणको काम थालिएको थियो । घरेलु तथा साना उद्योग कार्यालय भरतपुरको स्वामित्वमा रहेको करिब २ बिघा ७ कट्ठा जग्गा संघले २९ वर्षका लागि भाडामा लिएको हो ।

प्रदर्शनी केन्द्रमा ४४.५ प्रतिशत क्षेत्रफलमा संरचना तयार हुनेछन् भने ५५.५ प्रतिशत क्षेत्र खाली क्षेत्र रहने छ । एक्स्पो सेन्टर ५१ हजार वर्गफिटको हुनेछ । ठूला उपकरण प्रदर्शनीका लागि ३० हजार वर्गफिट व्यवस्थित खुला ठाउँ समेत रहने छ ।
प्रदर्शनी केन्द्रमा सूचना केन्द्र हुनेछ । केन्द्रबाट उद्योग, कृषि, पर्यटनलगायतको सूचना उपलब्ध गराइने छ ।

प्रदर्शनी केन्द्रको मुख्य भागमा करीव तीन सय स्टल राख्न मिल्छ । एक व्लकमा करिव एक सय वटा स्टल सञ्चालन गर्न सकिन्छ । चितवन उद्योग संघका अध्यक्ष भेषराज दुवाडीले साना तथा मझौला उद्यमीहरुलाई प्रविधि, तथा सीप आदानप्रदान गर्न प्रर्दशनी केन्द्र बढी फलदायी हुने बताए ।

कृषि, गैरकाष्ठका वस्तु, पशुपालन, दूग्ध उद्योग, पंक्षीपालन, जडीबुटीमा आधरित उद्योगलाई नयाँ प्रविधि, बजार, सीप एवम् अनुसन्धानमा सहयोग पुग्ने दावी उनको छ ।

निर्माणकै क्रममा ठूलठूला एक्सपो

प्रदर्शनी केन्द्र निर्माणकै चरणमा दुई अन्तर्राष्ट्रियसहित पाँच वटा एक्सो समेत भइसकेका छन् । अन्तर्राष्ट्रिय पोल्ट्री एक्सपो, चितवन औद्योगिक प्रदर्शनी, गत बर्ष इक्यान मेला, क्यान मेला र हालसालै मात्रै अन्तर्राष्ट्रिय कृषि प्रर्दशनी सम्पन्न भइसकेको छ । फागुनमा अन्तर्राष्ट्रिय फर्मा एक्सपोको तयारी भइरहेको छ ।

आर्थिक राजधानीका रुपमा विकास हुँदै गरेको चितवनमा प्रर्दशनी केन्द्र बनाउँदा मौसम अनुकलता खोज्दै प्रदर्शनी गर्नुपर्ने बाध्यता हट्ने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment