Comments Add Comment

मोरङका टिपरलाई टाइम कार्ड, समय अगावै पुगे जरिवाना

Photo Credit : प्रतीकात्मक तस्वीर

६ फागुन, विराटनगर । टिपरको गतिले बजार क्षेत्रमा दुर्घटनाको जोखिम बढेपछि मोरङ प्रहरीले टाइम कार्ड लागू गर्ने तयारी गरेको छ ।

प्रदेश १ मा बिहान र बेलुका गरी जम्मा ४ घण्टा मुख्य राजमार्गमा टिपर कुदाउन प्रतिवन्ध छ । त्यसबाहेक मोरङ ट्राफिकले छुट्टै टाइम कार्ड लागू गर्ने तयारी गरेको हो ।

प्रहरीले तयार पारेको कार्डमा पुग्नुपर्ने दूरीको न्यूनतम समय निर्धारण गरिने छ । कार्डमा तोकिएको समयभन्दा छिटो पुगे टिपरलाई कारवाही गरिने जिल्ला ट्राफिक प्रहरी कार्यालय प्रमुख शिवकुमार पोखरेलले जानकारी दिए ।

उनले व्यवसायीसँगको छलफलपछि ट्राफिक प्रहरीले दूरी अनुसारको समय निर्धारण गर्ने उनले बताए ।

प्रहरी निरीक्षक पोखरेलका अनुसार, कार्ड लागू भएपछि मुख्य राजमार्गमा खटिएका ट्राफिक प्रहरीले ड्राइभरलाई दिएको कार्डमा छुटेको समय र पुग्नु पर्ने समय लेखिदिएका हुन्छन् । कागजमा लेखिएको समय अर्काे स्टेशनमा बस्ने ट्राफिकलाई म्यासेज पनि गरिएको हुन्छ । म्यासेज र कार्डमा लेखिएको समयभन्दा छिटो पुगे ड्युटीमा खटेका प्रहरीले जरिवाना गर्नेछन् । ‘दूरी अनुसार पुग्नुपर्ने गरी समय सीमा निर्धारण हुन्छ’, पोखरेलले भने, ‘समय सीमाभन्दा अघि पुगे जरिवाना गर्छाैं ।’

टिपर व्यवसायीले टिपका आधारमा ड्राइभरलाई भत्ता दिँदै आएका छन् । छिटो टिप लगाउने लोभमा ड्राइभरले तीव्र गतिमा सवारी कुदाउँदा दुर्घटना बढिरहेका छन् ।

गत साउनयता टिपरका कारण २० वटा सवारी दुर्घटना भएका छन् । जसमा १० जनाको मृत्यु भएको छ भने ४६ जना घाइते भएका थिए । मोरङमा मात्र ८ वटा टिपर दुर्घटना भएको प्रहरी तथ्याङ्कमा उल्लेख छ ।

व्यस्त बजारमा टिपरका कारण बढी समस्या देखिएपछि नियमन गर्न कडाइका साथ टाइमकार्ड लागू गर्न लागिएको जिल्ला प्रहरी कार्यालय, मोरङका डीएसपी घनश्याम श्रेष्ठले बताए ।

टिपरको निगरानीका लागि विराटनगर, विराटचोक र अन्य स्थानमा चेक प्वईन्ट राखिने श्रेष्ठले बताए । विराटनगर महानगरपालिका भित्र मात्र दैनिक २५० भन्दा बढी टिपर सञ्चालन हुने गरेको प्रहरी तथ्यांकमा उल्लेख छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment