Comments Add Comment

साउदी राजकुमार पाकिस्तानमा, २० अर्ब डलरको सम्झौता घोषणा

६ फागुन, काठमाडौं । दुईदिने भ्रमणका लागि पाकिस्तान आएका साउदी अरबका राजकुमार मोहम्मद बिन सलमानले पाकिस्तानसँग २० अर्ब डलर बराबरको सम्झौताको घोषणा गरेका छन् । सम्झौतामा ग्वादर नजिक एक तेल प्रशोधन केन्द्रमा ८ अर्ब डलर लगानी पनि सामेल छ ।

सम्झौताको घोषणा गरेपछि साउदी राजकुमारले पाकिस्तानको भविष्य उज्ज्वल रहेको बताए । ‘गत वर्ष पाकिस्तानले पाँच प्रतिशतको दरले आर्थिक प्रगति गर्‍यो । अहिलेको नेतृत्वमा पाकिस्तानको सुनौलो भविष्य छ,’ उनले भने, त्यसैले मैले पाकिस्तानसँग २० अर्ब डलरको सम्झौता गरें जुन पाकिस्तानमा साउदीको लगानीको पहिलो कदम हो ।’

साउदी राजकुमारलाई स्वागत गर्न पाकिस्तानका प्रधानमन्त्री इमरान खान र सेना प्रमुख कमर जावेद बावजा एयरपोर्ट गएका थिए । इमरान खानले साउदी राजकुमारलाई आफ्नो कारमा बसालेर प्रधानमन्त्री निवासमा लगेका थिए । कार प्रधानमन्त्री इमरान खान आफैंले चलाएका थिए ।

साउदी राजकुमारको सम्मानमा प्रधानमन्त्री निवासमा विशेष भोजनको आयोजना गरिएको थियो । त्यसक्रममा प्रधानमन्त्री इमरान खानले साउदी अरबमा हज गर्न जाने क्रममा पाकिस्तानी नागरिकले भोग्नु परेको कठिनाइ र साउदी अरबमा काम गर्ने पाकिस्तानका मजदुरका समस्याबारे छलफल गरेका थिए ।

इमरान खानका अनुसार २५ लाख पाकिस्तानी नागरिक साउदी अरबमा काम गर्दछन् । यी मजदुरहरु आफ्नो घरपरिवारलाई छाडेर श्रम गर्दछन् र लामो समयसम्म परिवारका सदस्यबाट टाढा हुन्छन् । इमरान खानले भने- यी मजदुरहरु मेरो मनमा छन् । मजदुरी गर्नेहरुसँग धेरै प्रकारका समस्याहरु हुन्छन् । त्यसैले साउदी राजकुमारले उनीहरुका समस्याको ख्याल गर्नुहोला ।’

त्यसक्रममा साउदी राजकुमारले भने, ‘पाकिस्तानले उनीहरुलाई साउदी अरबमा पाकिस्तानका प्रतिनिधि ठाने हुन्छ र सबै समस्या समाधानका लागि मिलेर काम गरौंला ।’

यसअघि आइतबार साँझ अबेर पाकिस्तान आएका साउदी राजकुमारको भव्य स्वागत गरिएको थियो । साउदी राजकुमारको विमान पाकिस्तानको आकासमा आएलगत्तै लडाकु विमानहरुले स्कर्टिङ गरेका थिए । साउदी राजकुमारको विमानको दायाँ-बायाँ र अगाडि-पछाडि उड्दै पाकिस्तानी लडाकु विमानहरुले रावलपिन्डीको नूर खान विमानस्थलमा अवतरण गराएका थिए ।

त्यसपछि सर्वोच्च समन्वय परिषदको पहिलो बैठक बसेको थियो, जसको अध्यक्षता साउदी राजकुमार मोहम्मद बिन सलमान र प्रधानमन्त्री इमरान खानले गरे । साउदी राजकुमारले नै यस उच्चस्तरीय परिषद स्थापना गर्ने प्रस्ताव राखेका थिए । परिषदमा पाकिस्तान र साउदी अरबका रक्षामन्त्री र विदेशमन्त्री छन् ।

साउदी राजकुमार पाकिस्तान आउनु अगाडि नै साउदी विदेशमन्त्री आदिल अल जुबेर रावलपिन्डी आएका थिए जहाँ पाकिस्तानी विदेशमन्त्री शाह महमूद कुरैशीले उनलाई स्वागत गरेका थिए ।

साउदी राजकुमारले सोमबार पाकिस्तानका सेना प्रमुख जनरल कमर जावेद बाजवासँग पनि भेटवार्ता गर्नेछन् ।

पाकिस्तानी जनताले साउदी राजकुमारको भ्रमणलाई ऐतिहासिक मानेका छन् र उनीहरुले साउदी अरबबाट आर्थिक सहयोग पाउने आशा पनि राखेका छन् ।

मोहम्मद बिन सलमान सन् २०१७ अपि्रल महिनामा साउदी अरबको राजकुमार बनेका थिए । राजकुमार बनेपछि उनको यो पहिलो पाकिस्तान भ्रमण हो । भ्रमणको क्रममा अर्बौं डलरको व्यापारिक र गैरव्यापारिक सम्झौता हुने अनुमान छ ।

पाकिस्तान हाल गम्भीर आर्थिक समस्यासँग जुधिरहेको छ । त्यसैले उसले निकटतम सहयोगी देशहरुसँग सहयोग मागिरहेको छ । पाकिस्तान र साउदी अरबबीच सैन्य सम्बन्ध निकै मजबुत मानिन्छ । राजकुमारको भ्रमणको क्रममा साउदी अरबले पाकिस्तानलाई सहयोगका लागि पक्कै पनि केही गर्ने अनुमान छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment