Comments Add Comment

अस्ट्रेलियामा नेपाली चेलीको नर्सिङ कलेज

अष्ट्रेलियामा नेपाली चेलीको यात्रायात्राबीचको सहयात्रा

सिड्नी / अस्ट्रेलियामा क्रियाशील दुईजना नेपाली नर्सले नर्सिङ कलेज सञ्चालन गरेका छन् ।

नेपालीहरुको बाक्लो बस्ती रहेको दक्षिण सिड्नी क्षेत्रको सदर्ल्याण्डमा झन्डै तीन दशकअघि खुलेको अस्ट्रेलियन नर्सिङ तथा ट्रेनिङ सिभिसेजको स्वामित्व लिएर उनीहरूले सञ्चालन गरेका हुन् ।

नेपालको बाग्लुङकी राधिका शर्मा र काभ्रेकी उषा नेपाल दुवै अस्ट्रेलियाका स्थापित नेपाली नर्स हुन् ।

तीन वर्षको अन्तरमा २००५ र २००८ मा अस्ट्रेलिया आएका राधिका र उषाको नेपालमा फरकफरक पेशा र पृष्ठभूमि थियो ।

नेपालमा अंग्रेजी भाषा प्रशिक्षकका रुपमा काम गरेकी राधिकाको साहित्यमा उत्तिकै रुचि थियो ।  उषा नेपालमा रेडियो पत्रकारितामा जमेको नाम पनि हो ।

अस्ट्रेलिया आएपछि अलिकति आवश्यकता र धेरै बाध्यताले उनीहरुलाई नर्सिङ पेशामा पुर्‍यायो ।     यी चेलीहरुहरुलाई नर्सिङ पेशाले साथी बनायो ।  र, व्यवसायिक सहयात्री पनि । उनीहरुको व्यवसायिक सहकार्यहरुलाई उषाको भाषामा भन्ने हो भने – यो यात्रा-यात्राबीचको सहयात्रा हो ।

अस्ट्रेलियामा राधिकाको नर्सिङ यात्रा

अस्ट्रेलियन नर्सिङ तथा ट्रेनिङ सर्भिसेजकी कार्यकारी प्रमुख राधिका शर्मा अहिले चार बच्चाकी आमा पनि हुन् ।

बाग्लुङमा माध्यामिक शिक्षा पूरा गरी उनी काठमाडौं आइन् । पद्म कन्या क्याम्पसमा अंग्रेजी साहित्य र गणितमा स्नातक शिक्षा पूरा गरिन् ।

अंग्रेजी साहित्यमा स्नातकोत्तर पढ्दै गर्दा २००५ मा अस्ट्रेलिया आएकी उनले २००६ देखि नर्सिङ  पेशा सुरु गरिन । संयोग नै भन्नुपर्छ उनले नर्सिङ पेशा सुरु गर्नुअघि अहिले आफै प्रमुख भएको कलेजकी विद्यार्थी पनि हुन् ।

आफ्नो बच्चाको स्वास्थ्य जाँचका क्रममा भेटिएकी एक साथीको सुझावमा उनले यही कलेजमा नर्सिघको आधारभूत कक्षा सुरु गरेकी थिइन् ।

प्रशिक्षार्थीका रूपमा काम गर्न गएको नर्सिङ होममा उनले जागिर पनि पाइन् । त्यहीँ ५ वर्ष काम गरिन् । अहिले उनी प्रमुख रहेको कलेजले नर्सिङ प्रशिक्षका रुपमा पनि बोलायो । उनले यही नर्सिङ पढाइन् ।  पछि अस्ट्रेलियन क्याथलिक युनिभर्सिटीबाट २०१० मा नर्सिङमा स्नातक गरिन् ।

पढाइ जारी रहँदै उनले सेन्ट भिन्सेन्ट प्राइभेट अस्पतालमा विद्यार्थी नर्सका रुपमा काम गरिन् र पछि २०११ मा  सोही हस्पिटलमा जागिर पाइन् । अहिले त्यहाँ उनी रजिस्टर नर्सका रुपमा निरन्तर कार्यरत नै छिन् ।

उनले न्युरो साइन्समा पोस्ट ग्राजुएट पनि पूरा गरेकी छिन् । अस्ट्रेलियाको आप्रवासन कानूनमा पनि पोस्ट ग्राजुएसनसम्मको अध्ययन पनि पूरा गरेकी छिन् । विगत दश वर्षदेखि नर्सिङको प्रशिक्षण पनि गरिरहेकी छिन् ।

उषा नेपालको अस्ट्रेलिया यात्रा

काभ्रेमा जन्मेर काठमाडौँ कन्या क्याम्पसबाट ब्यबस्थापनमा स्नातकसम्मको अध्यन पूरा गरेकी उषा नेपाल अहिले दुई बच्चाकी आमा हुन्  ।

२००८ को डिसेम्बरमा अस्ट्रेलिया आएकी उनको नेपालमा परिचय एक कुशल रेडियो पत्रकारका रुपमा थियो  ।

२००१ मा काठमाडौंको एचबीसी एफएममा बाल कार्यक्रम सञ्चालकका रुपमा पत्रकारिता सुरु गरेकी उषा नेपालले दक्षिण यसियाको पहिलो सामुदायिक रेडियो सगरमाथाको समाचार शाखामा २००३ देखि काम गरिन् ।

सोही वर्ष उनले रेडियो नेपाल लगायत ५० भन्दा बढी स्टेशनका लागि रेडियो कार्यक्रम उत्पादन तथा प्रसारण गर्ने एन्टेना फाउन्डेसनमा विजनेश यात्रा नामक कार्यक्रमबाट प्रवेश गरिन् ।

उनले छिनोफानो नामक कार्यक्रमका लागि गाउँगाउँमा पुगेर रिपोर्टिंङ पनि गरिन् । रेडियो पत्रकारिताको तालिमका लागि उनी जर्मनी पनि गइन् ।

उनको पहिलो बच्चा जन्मेकाले गाउँगाउँ गएर समाचार संकलन गर्ने रहर स्थगित भयो ।  अनलाइनखबरसँगको कुराकानीमा उनले भनिन्– समाचार सञ्चालककै क्रममा रारा पुग्ने रहर बाँकि रह्यो । दुई वर्षकी छोरी नेपालमै छोडेर उनी अस्ट्रेलिया आइन् । फेरि ब्यबस्थापनमै स्नातक पढिन् ।

नेपालको पत्रकारिताको रुचिलाई यथाबत राख्न अस्ट्रेलिया आएपछि पनि २००९ मा नेपाली भाषाको ‘रेडियो आवाज’ सुरु गरेको र अस्ट्रेलियाको नेपाली पत्रका ३२ पेज एक्लैले टाइप गर्ने गरेको स्मरणले उनी अहिले पनि गौरबान्वित हुन्छिन् ।

उनले ब्यबस्थापनमा पढाइ सकेर सोही बिषयगत जागिर पनि पाइन् तर अस्ट्रेलियाको बसाइमा बच्चाको हेरचाह गर्न निकै कठिनाइ भएकोले उनले २०१२ पेशा परिवर्तन गर्ने सोचाइ बनाइन् । नर्सिङको पढाइ सुरु गरिन् । पढाइसंगै प्रयोगात्मक गर्न गएको नर्सिङ होममा जागिर पनि पक्का भयो ।

आफ्नो क्षमताको अभिवृद्धि गर्ने सोचाइसँगै उनले २०१४ मा रजिस्टर नर्सको पढाइ पनि सुरु गरिन् । २०१६ मा नर्सिङमा स्नातक सकिन ।

सिड्नीको कोग्राहस्थित सेन्ट भिन्सेन्ट पब्लिक अस्पतालमा विद्यार्थी नर्सका रुपमा काम गर्दै गर्दा त्यही रोजगारी पनि मिल्यो ,

अहिले उनी सेन्ट जर्जेज अस्पतालमा रजिस्टर नर्सका रुपमा कार्यरत छिन् । उनी नर्सिङ प्रशिक्षक पनि हुन् ।

उनलाई पनि आफ्नो काममात्र होइन केही न केही त नयाँ पनि गर्नु पर्‍यो भनेर सल्लाह गर्दै गर्दा उनको एक वर्षअघि राधा शर्मा यो नर्सिङ कलेजमा संगै लगानी गरेर जाने सल्लाह भयो । ‘दुवै जना एकै पेशाका साथी भएकाले यात्रा-यात्राकै बीचमा सहयात्रा सुरु भो ,’ उषा ले थपिन ।

अस्ट्रेलियन नर्सिङ कलेजको कथा नर्सङ क्षेत्रको आधारभूत ज्ञानसहितको दक्ष् जनशक्ति तयार गर्न अस्ट्रेलियन नर्सिङ तथा ट्रेनिङ सिभिसेजको सुरुवात १९९० मा भएको थियो ।

यहाँको सरकारी निकायमा तालिम प्रदायक सस्थाका रुपमा दर्ता भएको यो सस्थाको स्वामित्व २०१७ देखि राधा शर्माले लिएकी थिइन् ।

२०१९को सुरुवातदेखि उषा नेपालले पनि लगानी गरेकी छन् । अस्ट्रेलियामा अझै पनि पर्याप्त संख्यामा योग्य नर्सिङ पेशाकर्मीको आवस्यकता भएको र आफ्नो अनुभव पनि भएकोले कलेज सञ्चालन गरेको राधिका र उषा दुवैको भनाइ छ ।

यही नर्सिङ कलेजबाट धेरै नेपालीले आधारभूत नर्सिङ शिक्षा लिएको र रोजगार पनि भएको उनीहरुको दावी छ ।

हरेक हप्ता पाँचजनालाई जागिर

अहिले यो कलेजमा झन्डै तीनसय विधार्थी भर्ना भएका छन् । पढाइ सकेर यहाको नर्सिङ क्षेत्रको दक्ष् जनशक्तिका रुपमा प्रतिहप्ता न्युनतम पाँचजनाले काम पनि पाइरहेको कार्यकारी प्रमुख राधिका शर्माको भनाइ छ ।

साधारण अंग्रेजी लेखपढ गर्न जान्ने विद्यार्थी आफ्नो रुचि र आवश्यकता अनुसार नर्सिङको सर्टिफिकेट तीन वा चार पढ्न सक्छ ।

यहाँ अहिले इन्डिभिजुअल सपोर्ट, येजिंग सपोर्ट, डिस्याबिली, लिजर एण्ड हेल्थ र हेल्थ सर्भिस असिस्टेन्ट गरी पाँच वटा बिषयमा आधारभूत नर्सिङको पढाइ हुन्छ ।

आफ्नै प्रयोगशाला, पुस्तकालय र अत्याधुनिक कक्षा कोठासहितको भवनमा पढाइ हुने यो कलेजको छिटै शाखा बिस्तार गर्ने र डिप्लोमा सम्मको स्तरोन्नती गर्ने सपना दुवै जनाको छ ।

अहिले अस्ट्रेलियाका आन्तरिक विद्यार्थी मात्र अध्ययन गर्ने यो कलेजसंगै भएको रोजगार एजेन्सीले काम मिलाइदिने ब्यबस्था पनि छ ।

प्रमुख ब्यबस्थापक राधिका शर्माका अनुसार–यहाँ विद्यार्थीलाई आधारभूत नर्सिङ कक्षा मात्रै होइन रोजगारी केन्द्रित अन्तर्वार्ता कला, रेजुमी लेखन र संचार कलाको विकास गर्न छुट्टै कार्यशालाहरु पनि आयोजना गरिन्छ ।

यो कलेजले अस्ट्रेलियामा बेरोजगारी भत्ता लिएकालाई स्वरोजगार मुलक तालिम दिएर रोजगारीमा पठाउन, सरकारबाट अनुदान पनि प्राप्त गरेको छ ।

अस्ट्रेलियन सरकारको सहकार्यमा ग्रामीण हन्टर तथा अरेन्ज इलाकाका त्यहाँका स्थानीयवासीलाई

नर्सिङ पढाउने परियोजना पनि हालै सुरु गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment