Comments Add Comment

शिक्षामन्त्रीको प्रस्ताव : चैतभित्रै स्ववियु चुनाव गरौं

६ फागुन, काठमाडौं । शिक्षा तथा विज्ञान प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले चैत महिनाभित्रै स्ववियु चुनाव गर्ने प्रस्ताव गरेका छन् ।

प्रतिनिधिसभाको सोमबारको बैठकमा सांसदहरुले उठाएको प्रश्नको जवाफ दिँदै उनले चैतभित्रै स्ववियु चुनाव गराउन प्रतिपक्षी दल पनि तयार हुनुपर्ने बताए ।

‘फागुनभित्र हामीले ढिलो चाँडो चुनाव गरिसक्नुपर्ने आवश्यकता हो, र प्राथमिकता हो । चैतभित्र स्ववियु चुनाव गराइसकौं, सहमति गरौं यसमा’ उनले भने ‘चैतपछि वैशाखमा शैक्षिक सत्रलाई प्रभावित गर्ने गरी नजाऔं, प्रणालीगत रुपमा यसलाई पनि हल गर्न जरुरी छ । ’

त्रिभुवन विश्वविद्यालय अन्तर्गतका क्याम्पसमा दुई वर्षअघि निर्वाचित भएको स्वतन्त्र विद्यार्थी युनियनको कार्यकाल यही फागुनमा सकिदैछ । तर नयाँ चुनाव गराउने विषयमा दलहरुबीच एकमत छैन । नेपाली कांग्रेसले आफ्नो भातृ संगठन नेविसंघ भित्र विवाद रहेको भन्दै स्ववियु चुनाव पछि सार्न प्रस्ताव गरेको छ ।

शिक्षामन्त्री पोखरेलले प्रधानमन्त्री केपी शर्मा ओलीले स्ववियु चुनावको विषयमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासहित सरोकारवालासँग छलफल गरिसकेको बताए । ‘प्रधानमन्त्रीले पहल लिइसक्नुभएको छ, प्रतिपक्षी पनि सकारात्मक हुँदै यो समयभित्र नै स्ववियु चुनाव गराऔं’ शिक्षामन्त्री पोखरेलले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment