Comments Add Comment

पार्किङसहितको सपिङ् कम्प्लेक्स बनाउँदै बुटवल उपमहानगर

६ फागुन, बुटवल । बुटवलमा पार्किङको समस्या हल गर्न उपमहानगरपालिकाले पार्किङसहितको अत्याधुनिक सपिङ् कम्प्लेक्स भवन बनाउने भएको छ ।

हाल लुम्बिनी बस टर्मिनल रहेको परिसरमा पार्किङसहितको तीन तलाको अत्याधुनिक भवन बनाउने गरी नगर विकास कोषसँग सम्झौता भएको छ ।

बुटवल उपमहानगरपालिका प्रमुख शिवराज सुवेदी र नगर विकास कोषका कार्यकारकी निर्देशक मनिरामसिंह महतका बीच सोमबार सम्झौतापत्रमा हस्ताक्षर भएको हो ।

१० करोड ८४ लाख रुपैयाँको कुल लागतमा बन्ने सो भवनको निर्माण कार्य वैशाखबाट सुरु हुने र तीन वर्षमा पूरा गर्ने सम्झौतामा उल्लेख छ ।

पार्किङसहितको सपिङ् कम्पलेक्स निर्माणले बुटवललाई आर्थिक कारोबारको केन्द्र बनाउन र दिगो आयस्रोतको आधार बन्न महत्वपूर्ण भूमिका खेल्ने नगर प्रमुख सुवेदीले बताए ।

कोषका कार्यकारी निर्देशक महतले सम्झौता अनुरुपका कामहरु समयमै प्रभावकारी रुपमा सम्पन्न गरिने बताए ।

भवन बन्न लाग्ने लागतको ९० प्रतिशत अर्थात् नौ करोड ७५ लाख बराबरको बजेट ऋणको रुपमा नगर विकास कोष काठमाण्डौंले लगानी गर्ने छ ।

बाँकी १० प्रतिशत अर्थात् एक करोड आठ लाख ४५ हजार रकम भने बुटवल उपमहानगरपालिका आफैले खर्च गर्ने छ ।

कोषले आठ प्रतिशत ब्याजदरमा २० वर्षका लागि उक्त रकम बराबरको ऋण उपलव्ध गराएको बुटवल उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजेन्द्र सिग्देलले बताए ।

तीन तलाको भवनमा पार्किङ बाहेक विभिन्न साइजका ६८ वटा व्यवसायिक सटरहरु निर्माण हुने र ती सबै अत्याधुनिक मापदण्डका रहने बुटवलका योजना प्रमुख इन्जिनियर सुमन श्रेष्ठले बताए ।

उनका अनुसार भुइँतलामै १४ सटर तथा पहिलो र दोस्रो तलामा २७/२७ वटा सटर बन्नेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment