Comments Add Comment

हेटौंडाको सडक क्षेत्रमा मुख्यमन्त्री र सुमार्गीको घर, जोगिन्छ कि भत्किन्छ ?

६ फागुन, काठमाडौं । प्रदेश ३ सरकारले अस्थायी राजधानी हेटौंडा बजार क्षेत्रको पूर्व-पश्चिम राजमार्ग र त्रिभुवनन राजपथको खण्डलाई दायाँ-बायाँ १६-१६ मिटर कायम गर्ने गरी संघीय सरकारसमक्ष सिफारिस गरेको छ । हेटौंडा बजार क्षेत्रको राजमार्ग खुम्च्याउने र राप्ती किनारमा बाइपास बनाएर सञ्चालन गर्ने निर्णय भएको छ ।

बजार क्षेत्रमा सडक मिचेर बनेका घरहरुको बिषय चाही लामो समयदेखि अन्योल छ । कतिपयले मुआब्जा बुझेपनि घर भत्काउन मानेका छैनन् भने कतिपयले मुआब्जा नै नबुझेको दावी गर्दै आएका छन् ।

अब प्रदेश सरकारले कर्रा-सामुरीपुल र बुद्धचोक-हेटौंडा अस्पताल सडकखण्ड १६-१६ मिटर कायम गर्ने गरी संघमा सिफारिस गर्ने निर्णय गरेको छ । खुलिसकेको बाइपासको ट्रयाकलाई राष्ट्रिय राजमार्ग बनाउने प्रदेश सरकारको निर्णय छ ।

यो निर्णयको विरोध पनि सुरु भएको छ । बिरोधीमध्येका एक अधिवक्ता ध्रुबप्रसाद चौंलागाइँ बाइपास बनाउन लाग्ने रकम राजमार्ग पीडितलाई मुअब्जा स्वरुप वितरण गर्दा उपयुक्त हुने बताउँछन् । उनले भने, ‘राजमार्गलाई राप्तीमा लैजाँदा हेटौंडा बजारको भविश्य के हुन्छ भन्ने पनि विचार गरियोस् ।’

उनले बाइपास निर्माणमा लाग्ने अर्बौं रकम संघीय सरकारले दिने ग्यारेन्टी नहुने पनि बताए । नगरको मुख्य बजार क्षेत्रभन्दा बाहिरकाहरु यो निर्णयप्रति असन्तुष्ट छन् । कमानेका बुद्धिराम तिमल्सिना प्रदेश सरकारको यो निर्णयले हेटौंडालाई विकसित नगर बन्न बाधा पुर्‍याउने बताए ।

हेटौंडामा पछिल्लो सयममा बसाइ आउनेको संख्या ठूलो छ । तराई र अन्य जिल्लाबाट यहाँ बसाइ आउनेहरु बढ्दै गर्दा कायम भएको सडकलाई खुम्च्याउने कामले शहरलाई कुरुप बनाउने स्थानीयको तर्क छ ।

सडक क्षेत्रका बासिन्दाले प्रदेश सरकारको निर्णयको स्वागत गरेपनि बाहिरकाहरु बिरोधमा छन् । सडकको सीमानम खुम्चाउने गरी भएको सिफारिसले बजार क्षेत्रमा जामको समस्या अझ बढाउने उनीहरुको तर्क छ ।

हेटौंडा बजारको क्षेत्रको राजमार्ग सार्ने विषय जहिल्यै राजनीतिक बिषय बन्दै आएको छ । २०७४ कात्तिकको संसदीय चुनाव अघि पूर्वपश्चिम राजमार्ग र त्रिभुवन राजपथको रुट परिर्वतन गरेर हेटौंडा बजार छल्ने निर्णय भएको प्रचार भएको थियो ।

त्यसअघि बजारका सडकका दुबैतर्फ २५/२५ मिटरमा रहेका भौतिक संरचना हटाउने गरी डोजर चलाउँदा आन्दोलन पनि भयो । तर, स्थानीय चुनावसँगै सडक विस्तार रोकिएको थियो । डिभिजन सडक कार्यालय हेटौंडाले राजमार्ग विस्तार अघि बढाउने सूचना पनि निकालेको थियो ।

राजमार्गको २५ मिटरभित्रै मुख्यमन्त्री डोरमणि पौडेलको पनि घर पर्छ । छोरा नवीनको नाममा रहेको ‘नवीन सदन’ हेटौंडाको मुख्य लोकतान्त्रिक चोकमा छ । यसलाई हेटौंडको ‘पेन्टागन हाउस’ काम नामले पनि चिनिन्छ ।

१६ मिटरभन्दा चौडा हुने गरी सडक विस्तार गर्दा मुख्यमन्त्रीको घर पुरै भत्किन्छ कि भत्किन्न भन्नेमा अन्योल छ । तर, कतिपय स्थानीयहरु मुख्यमन्त्री पौडेलले आफ्नो सम्पत्तिको माया गरेर १६ मिटरको निर्णय गरेको आरोप लगाउँछन् ।

हेटौंडामा सबैभन्दा महंगो घरजग्गा यही बजार क्षेत्रमै पर्छ । त्यसैले आफ्नो करोडौंको सम्पत्ति क्षति पुग्ने गरी सडक विस्तार नगर्न सरकारलाई दबाव दिने समूह सानो थिएन ।
हेटौंडा बजारभित्रको राजमार्ग छेउमा व्यवसायी अजयराज सुमार्गीको घर पनि छ । उनको ‘सुमार्गी कम्प्लेक्स’ हेटौंडाको ठूलो भवनभध्ये पर्छ ।

हेटौंडाका चर्चित होटल सीमा, होटल लिडो-इन र रिजाल कम्प्लेक्स पनि २५ मिटरभित्रै छन् ।

हरेकपटक सडक विस्तार योजना अघि बढ्दा त्यसविरुद्वको आन्दोलनको नेतृत्व गर्ने मकवानपुर उद्योग वाणिज्य संघको कार्यालय सडक मिचेर बनेको छ । १६ मिटर विस्तार गर्दा संघको भवनको केही भाग भत्किन्छ ।

२५ मिटर सडक कायम गर्दा करोडौंको नोक्सानी हुने संघको तर्क हुने गर्छ । संघका अध्यक्ष कृष्ण कटुवाल प्रदेश सरकारले हालै १६ मिटरमा सडक खुम्च्याउने गरी भएको सिफारिस स्वागतयोग्य भएको बताउँछन् ।

शहरको बीचमा राजमार्ग राख्न नहुने भन्दै उनले १६ मिटरमात्रै भत्काउँदा कम क्षति पुग्ने बताए ।

प्रदेश सरकारका प्रवक्ता कैलाश ढुंगेल भने हेटौंडा बजारलाई सुन्दर बनाउन १६-१६ मिटर विस्तार गर्ने योजना बनेको बताउँछन् । ‘संघीय सरकारले सिफारिसमा निर्णय गर्‍यो भने यो लागू हुन्छ’, उनले भने ‘त्यो अवस्थामा चार लेनको सडक बन्छ ।’

प्रदेश सरकारको सिफारिस अनुसार संघले निर्णय गरे रातोमाटेदेखि राप्ती पुलसम्म तिन किलोमिटर बाइपास रोड बनाउनुपर्नेछ । त्यसका लागि १५ अर्ब लाग्ने अनुमान छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment