Comments Add Comment

दुवईको गल्फ फुड प्रर्दशनीमा नेपाली उत्पादनप्रति आकर्षण

युएई । दुवईमा भइरहेको गल्फ फुड प्रर्दशनी (खाडी खाद्य/खाना प्रर्दशनी) मा नेपाली उत्पादनप्रति विभिन्न मुलुकका अवलोकनकर्ता आकषिर्त भएका छन् ।

नेपालमा उत्पादन हुने मध्येका पाँच सामग्री प्रदर्शनीमा राखिएको छ । जसमा चिया, अलैँची, अदुवा, कफी र खानेपानी छ । तीे नेपाली सामग्रीमा विभिन्न मुलुकका अवलोकनकर्ता आकषिर्त देखिएका हुन् ।

साउदी अरब, वहराइन, ओमन, भियतनामलगायतका राष्ट्रका अवलोकनकर्ताले नेपाली उत्पादन आफ्नो देशसम्म पुर्‍याउन चाहेको राष्ट्रिय अलैचीँ व्यवसायी संघका कोषाध्यक्ष सुवास भट्टराईले जानकारी दिए । उनले भने, ‘भिजिटर आउने र सामानबारे खोधिखोजी गर्ने गर्छन् ।’

उनले कतिपयलाई सामग्रीबारे जानकारी भएको तर नेपालीमै उत्पादन हुन्छ भन्ने जानकारी भने उनीहरुलाई नभएको भट्टराईले बताए । अलैचीँमा धेरैको चासो रहेको उनले बताए ।

खाडी राष्ट्रमा नेपाली उत्पादन सामग्रीको माग रहेतापनि बजारिकरणको मुख्य समस्या छ । तर, यस किसिमको प्रदर्शनीबाट नेपाली उत्पादन सामग्रीको प्रचारमा फाइदा पुगेको राष्ट्रिय अलैचीँ व्यवसायी संघका अध्यक्ष निर्मल भट्टराईले बताए ।

नेपाली उत्पादनले अन्तर्राष्ट्रिय बजार पाएमा स्थानीय कृषक र व्यापारी लाभान्वित हुने सरोकारवालाहरुले बताउँदै आएका छन् ।

बजारिकरणका लागि व्यवसायीको प्रयासमा सरकारले पनि सहयोग गर्नपर्ने आवाज उठ्दै आएको छ ।

यस पटकको सहभागीताले नेपाली उत्पादनलाई अन्य देशमा व्यापारका लागि समेत बाटो खुलेको सहभागीको धारणा छ ।

फागुन ५ गतेदेखि दुवईको वल्र्ड ट्रेड सेन्टरमा विभिन्न मुलुकमा उत्पादन भएका खाद्य तथा पेय पदार्थको प्रर्दशनी आयोजना गरिएको हो ।

नेपालको प्रतिनिधित्वका लागि सांसद योगेश भट्टराईको पहलमा कृषि वस्तु तथा निर्यात प्रबर्धन केन्द्रबाट स्टल बुकिङका लागि सहयोग भएको हो ।

केन्द्रले २० लाख रुपैयाँ सहयोग गरको थियो । अन्य खर्च कार्यक्रममा सहभागी सम्बन्धित संस्थाका प्रतिनिधि आफैले गरिरहेको महासंघका कोषध्यक्ष भट्टराईले बताए ।

प्रर्दशनीले अन्तर्राष्ट्रिय ब्राण्डहरुलाई उनीहरुको उत्पादन सामग्री विश्व बजारमा चिनाउन मद्दत गर्ने अपेक्षा लिइएको छ ।

कार्यक्रममा नेपालको प्रतिनिधित्व गर्दै राष्ट्रिय अलैचीँ व्यवसायी महासंघका केन्द्रीय अध्यक्ष निर्मल भट्टराई, कोषध्यक्ष सुवास भट्टराई र केन्द्रीय सदस्य निमेश मितल, चिया तथा कफी बिकास बोर्डका तर्फबाट डिल्ली गौतम, अदुवा उत्पादन व्यवसायी संघका तर्फबाट सन्जीव घिमिरे र नेपाल बोटल वाटर उद्योग संघका प्रतिनिधिले सहभागिता जनाएका छन् ।

४५ सय स्टल रहेको प्रदर्शनी फागुन ९ गते सकिने छ । गल्फ फुड नाम दिएको प्रदर्शनी सन् १९८७ बाट सुरु भएको हो । त्यसयता १८० भन्दाबढी राष्ट्रका उत्पादन मुलक उद्योगहरुले सहभागिता जनाउँदै आएका छन् ।

  

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment