Comments Add Comment

‘बाल्टीको पानीले आगो निभ्दैन, प्रधानमन्त्रीको हस्तक्षेप चाहियो’

‘हामी बच्चा हैनौं, ललिपपले फकिँदैनौं’

Photo Credit : फाइल तस्वीर

७ फागुन, काठमाडौं । बैंकको ब्याज घटाउने माग राखेर आन्दोलन गर्दै आएका उद्योगी व्यवसायीहरुले नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको मौद्रिक नीतिको अर्धवार्षिक समीक्षाबाट सन्तुष्ट हुन नसकेको प्रतिक्रिया दिएका छन् । अर्थमन्त्रीले आफ्ना मागहरु पूरा नगरेको भन्दै उनीहरुले अब समृद्धिका प्रधानमन्त्रीले हस्तक्षेप गर्नुपर्ने मागसमेत गरेका छन् ।

अर्थमन्त्रीसँग छलफल भएकै दिन सोमबार साँझ नै राष्ट्र बैंकले बोर्ड बैठक बसेर मौद्रिक नीतिको समीक्षा प्रतिवेदन सार्वजनिक गरेको हो । तर, राष्ट्र बैंकले सार्वजनिक गरेको मौद्रिक नीतिले आफूहरुलाई सन्तुष्ट हुन सक्ने आधार नदिएको मोरङ व्यापार संघका अध्यक्ष पवन सारडाले अनलाइनखबरलाई बताए ।

‘हिजो साँझ अर्थमन्त्रालयमा बैठक सकिएलगत्तै साँझ बिराटनगर फर्किएँ, माग सम्वोधन हुनेमा ढुक्क थिएँ’ अध्यक्ष सारडाले अनलाइनखबरसँग भने, ‘राति आएको समीक्षाले सन्तुष्ट हुन सकिएन, उद्योग व्यवसाय क्षेत्रमा आगो लागेको थियो, त्यो आगो निभाउन दमकल चाहिनेमा राष्ट्र बैंकले बाल्टीमा पानी बोकेर निभाउन खोज्यो ।’
यो पनि पढ्नुहोस मौद्रिक नीतिमार्फत ब्याजदरको समस्या समाधान गर्ने अर्थमन्त्रीको आश्वासन

बैंकको संरक्षणमा राष्ट्र बैंक नै लागेको आरोप लगाउँदै उनले अहिलेकै ब्याजदरमा उद्योग व्यवसाय सञ्चालन गर्न नसकिने बताए । अध्यक्ष सारडाले मौद्रिक नीतिबाट आफ्ना माग सम्वोधन हुन नसकेको तर राष्ट्र बैंकले सर्कुलर जारी गरेर ब्याजदर घटाउला कि भन्ने आशामा आफू अझै रहेको उनले बताए ।

बैंकहरुलाई तरलतामा थोरै सहजता दिएर उद्योगीहरुको माग सम्वोधन गर्न राष्ट्र बैंक अग्रसर नदेखिएको अध्यक्ष सारडाले बताए । ब्याजदरका कारण उद्योग व्यवसाय क्षेत्रमा ठूलो आगो लागेको तर त्यसलाई निभाउन दमकल प्रयोग गर्न सरकार चुकेको उनले बताए ।

त्यसैगरी, उद्योग संगठन मोरङका अध्यक्ष भीम घिमिरेले पनि मौद्रिक नीतिको समीक्षाले आफ्ना मागहरु सम्बोधन हुन नसकेको बताए । राष्ट्र बैंकले समीक्षाका नाममा उद्योगी व्यवसायीहरुलाई ललिपप खुआएर फकाउन खोजेको अध्यक्ष घिमिरेले आरोप लगाए । उनले भने, ‘हामीलाई केटाकेटीजस्तो ललिपप देखाएर फकाउन खोजियो, हामी केटाकेटी होइनौं, ललिपपले फकिँदैनौं ।’

भीम घिमिरे, अध्यक्ष, उद्योग संगठन मोरङ ।

मौद्रिक नीतिको समीक्षामा पुनर्कर्जामा एक प्रतिशत घटाएर माग सम्वोधन भयो भनिए पनि यसले राहत नदिने घिमिरेको तर्क छ ।

‘राष्ट्र बैंकले निजी क्षेत्रमा लगानी गर भनेर बैंकहरुलाई ४ प्रतिशतमा कर्जा दिन्छ, त्यो बैंकलाई ४ प्रतिशतमा लिएको कर्जा ९ प्रतिशतमा लगानी गर्ने अनुमति पहिले दिइउको थियो त्यसलाई घटाएर ८ प्रतिशत बनाइएको छ’ घिमिरेले भने, ‘४ प्रतिशत लागत छ त्यसमा थप ४ प्रतिशत जाड्दा शतप्रतिशत बैंकलाई नाफा भयो नि, बैंकलाई १०० प्रतिशत नाफा खान दिनु ठीक होइन यसले गर्दा बैंकहरुलाई राष्ट्र बैंकले अझै संरक्षण गरेको देखिएको छ ।’

यसमा दुई प्रतिशत हुँदा मात्रै पनि ५० प्रतिशत नाफा हुने भन्दै हामीले २ प्रतिशत थप गरेर ब्याज लिन माग गरेको उनले सुनाए ।
यो पनि पढ्नुहोस ‘बैंक र बीमा नवसामन्त हुन्, उपभोक्ता ठग्ने काम भइरहेको छ’

बैंकहरुलाई संरक्षण गर्न अर्थमन्त्रीको भूमिका देखिएको भन्दै अब प्रधानमन्त्रीले मुलुकको समृद्धिका लागि उत्पादन र रोजगारमूलक क्षेत्रको प्रोत्साहन गर्नेमा आफू विस्वस्त रहेको घिमिरेले अनलाइनखबरलाई बताए ।

‘आर्थिक क्षेत्रलाई संरक्षण गरेन भने समृद्धि असम्भव भन्ने पक्षमा प्रधानमन्त्री हुनुहुन्छ’ घिमिरेले भने, ‘मुलुकको समृद्धिका लागि अब प्रधानमन्त्रीले हस्तक्षेप गर्नुपर्ने हुन्छ ।’

बालुवाटारसम्म पुग्दा पनि आगो निभेन

बैंकको ब्याजदर अति बढेको भन्दै सडक आन्दोलन गरेर अन्तिममा प्रधानमन्त्री केपी ओलीसम्म पुगेका उद्योगी व्यवसायीहरु मौद्रिक नीतिको अर्धवार्षिक समीक्षामा आफ्ना मागहरु सम्वोधन हुने आशामा थिए ।

गत शनिबार बालुवाटारमा प्रधानमन्त्री ओलीसँग भएको भेटमा उद्योगी व्यवसायीहरुले ब्याजदर घटाउन माग गरेका थिए । व्यवसायीका कुरा सुनिसकेपछि प्रधानमन्त्रीले तीन दिनभित्र ब्याजदरको विषय समाधान गर्न अर्थमन्त्री र गभर्नरलाई निर्देशन दिएका थिए ।

प्रधानमन्त्री ओलीको निर्देशनपछि सोमबारमात्रै अर्थमन्त्रालयमा बसेको सर्वपक्षीय छलफलमा अर्थमन्त्री खतिवडाले मौद्रिक नीतिको समीक्षामार्फत ब्याजदरको समस्या सम्वोधन गर्ने आश्वासन दिएका थिए । यसका लागि अर्थमन्त्री खतिवडाले राष्ट्र बैंकका गभर्नर डा. चिरञ्जीवि नेपाललाई ब्याजदरको समस्या समाधान गरेर मौद्रिक नीति ल्याउन सुझाएका थिए ।
यो पनि पढ्नुहोस ऋणीलाई डेपुटी गभर्नरको प्रश्न : ७ प्रतिशतमा ऋण लिने, निक्षेपमा १२ खोज्ने ?

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment