Comments Add Comment

युवराज लामा : चलचित्र र खेलपछि अब होटल व्यवसायमा

भन्छन् – अर्काको देशमा शरणार्थी हुनु भन्दा नेपालमै केही गरौं

७ फागुन, वीरगञ्ज । नेपालमा युवराज लामालाई नचिन्ने कमै होलान्, नेपालमा मात्रै नभएर उनको ख्याती अन्तर्राष्ट्रिय जगतमा पनि छ ।  चलचित्रको पर्दाबाट मात्रै होईन, खेलकुदको क्षेत्रबाट उनले आफ्नो छुट्टै पहिचान स्थापित गरेका छन् ।

कराँते खेलबाट उनले आफूलाई मात्रै होइन, नेपाललाई पनि विभिन्न देशमा चिनाएका छन् । लामो समयदेखि चलचित्रको पर्दामा नदेखिएका कारण धेरैलाई लाग्न सक्छ उनी अहिले के गरिरहेका होलान ?

राष्ट्रिय खेलकुद परिषद्का पूर्वसदस्य सचिव समेत रहेका लामा पछिल्लो समय होटल तथा पर्यटन व्यवसायमा सक्रिय छन् । काँचको पर्दाबाट ओझेलमा परेपनि उनले मुलुक छोडेका छैनन् ।

नेपालमै केही गर्नुपर्छ भनेर होटल सञ्चालन गरेर उनी अरुका लागि प्रेरणाको स्रोत बन्न सफल देखिएका छन् ।  पूर्व-पश्चिम राजमार्ग अन्तर्गत बाराको निजगढमा उनले ‘तारा इन’ नामको होटल सञ्चालनमा ल्याएका छन् । लामासँगै श्रीमती मंगला श्रेष्ठ न्यासुरेे पनि होटलको व्यवस्थापन र पाहुनाको स्वागतमा सक्रिय देखिन्छिन् ।

निर्माणकै क्रममा होटलमा पौने २ करोड लगानी भइसकेको र निर्माण सम्पन्न हुँदा २ करोड पुग्ने अनुमान लामाको छ । त्यसमा उनले जग्गाको मूल्य जोडेका छैनन् ।

‘७ कठ्ठा भन्दा अली बढी जमीन छ, जमीन आफ्नै थियो, होटलमा पौने दुई करोड लगानी भइसकेको छ, दुई करोडको हाराहारीमा खर्च लाग्ने अनुमान छ ,’ उनले भने,  ‘ होटलमा ५ सयदेखि २५ सय रुपैयाँसम्मका आरामदायी रुम छन् । ‘ जग्गाको समेत दाम जोड्दा होटलको दाम १२ करोड जति पर्न आउँछ ।

देश विदेशमा पहिचान र सम्बन्ध बनाएका युवराज लामाको होटलमा सस्तोमा रुम किन चाहियो ? भन्ने प्रश्नमा उनले न्यून आय भएका व्यक्ति पनि युवराज लामा भनेर आए भने फर्केर नजाउन भनेर सस्ता खाले कोठा राखेको सुनाए । ‘पैसा सबै कुरा होइन, ग्राहकको मनोभावना बुझेर व्यवहार गर्नुपर्छ । ५, ६, ७ सय रुपैयाँको रुम पनि राखेको छु,’ उनले भने , ‘किनकी युवराज लामाले धनी मानिस मात्रै राख्छ भन्ने नहोस भन्ने मलाइ छ । त्यसैले पुरानो घरमा सस्तो रुम तयार परेको छु, कहिलेकाँही तीन सय रुपैयाँ मात्रै छ दाइ भन्ने पनि आउँछन् । स्टाफलाई ल एउटा वेडमा सुताइदेउ भन्छु । अनि उनीहरुलाई युवराज दाइको तारा इनमा सुतेर आएको चै भन्नु है भन्छु ।’

राजमार्गसँगै जोडिएको होटलको अगाडि मोहडा कम देखिएपनि भित्रतर्फ प्रशस्त जमिन छ । होटललाई आकर्षक ढंगले डिजाइन गरिएको छ ।

भित्र प्रवेश गरेपछि दुई-दुई कोठाको लहरै एकतले कटेज देखिन्छ । कोठाको नाम हिमाल, तराई मधेस, पहाड लगायत नेपालका विभिन्न जिल्ला र ऐतिहासिक ठाउँका नाम चिनाउने गरि राखिएको छ ।

‘म त निजगढबाट काठमाडाैंमा आको, काठमाडाैंबाट निजगढ गएर केहि चिज गर्न सके त्यसले एउटा सकारात्मक सन्देश दिन्छ । किनभने गाउँबाट सहर पस्ने र सहरबाट विदेश पलायन हुने परम्परा कही न कही ब्रेक गर्नुपर्छ । भन्ने सोचेर म निजगढ फर्के । पहिला त निजगढमा कहाँ होटल चल्छ र ? भन्ने बढी देखिए । तर, मैले हार मानिन, आएर अध्ययन गर्दा संभावना देखे, संभावना झनै बढेको छ, फाष्टट्रयाक पनि निर्माण हुँदैछ’, उनी भन्छन् ।

साढे २ वर्षअघिबाट निर्माणको थालनी गरेको होटल बस्न लायक भएपनि व्युटिफिकेसन भइनसकेको लामाको भनाइ छ ।

होटलमा २१ वटा रुम तयार हुँदैछ, ५ वटा नर्मल सर्भिस रुम, १६ वटा एसी, डिलक्स रुम छ, पछाडि गोष्ठी सेमिनार हल निर्माणको अन्तिम चरणमा छ । स्वीमिङ पुल बन्दैछ । एक रात बस्ने, फोटो खिच्ने जाने ग्राहक पनि आउने गरेको उनको अनुभव छ ।

‘कोहीकोही युवराज दाइलाई भेटाउने भए मात्रै बस्छु नत्र बस्दैनौं भन्ने कन्डिसन राखेर पनि आउँछन् । उनीहरुसँग बसेर भलाकुसारी गर्छु’, उनले भने ‘ रिक्रेशन सेन्टरको रुपमा बढाइरहेको छु, पुल, टेबल टेनिस, चिल्ड्रेन प्ले एरिया, व्याटमिन्टन खेल्ने ठाउँ बन्दै छ । पाहुनाहरु काठमाडाैंलगायत टाढाबाट आउँछन, थाकेको हुन्छ, ढाड दुखेको हुन्छ । उनीहरुका लागि मेसिन लगाएर मसाज गर्न एक दुईवटा कुर्सी राखिदिन्छु, त्यसमा एक्लै बसेर रिल्याक्स हुन सकिन्छ । यान केन्द्र भनेर नाम राख्छु भन्ने सोच छ’, उनले भने ।

अहिले ११ जनाले रोजगारी पाइरहेको होटल पूर्ण रुपमा सञ्चालनमा आएपछि १७/१८ जनाले रोजगारी पाउने दावी लामाको छ ।

खानामा अहिले दालभात तरकारी, चिकेन चिल्ली, मटन चिल्ली, ब्रेक फाष्ट मात्रै राखिएको छ । आवश्यकता अनुसार थप्दै जाने सोचमा उनी छन् ।

लामाको काठमाडौंमा कार्पेट उद्योग, थान्का पेन्टिङ र ट्राभल एजेन्सी समेत सञ्चालनमा छ । काठमाडौंको व्यापार उनका दुई छोराले सम्हाल्दै आएका छन् ।

विदेश बस्ने अफरलाई त्याँगे

नेपालबाट अन्तर्राष्ट्रिय प्रतियोगितामा भाग लिन गएका कतिपय खेलाडीहरु उतैबाट गायब भएको कुरा आउँछ । युवराज लामालाई पनि त्यस्तो अफर नआएको भने होईन तर उनले त्यस्ता अफरलाई सँधै लत्याइरहे ।

सन् १९८२ मलेशिया र सिंगापुरमा कराँते प्रतियोगिताका लागि गएँ, सिंगापुरका साथीहरुले यतै बस भने माउन्ट वर्नर क्याम्पमा बसेका, कराँते गुरुहरुले पनि बस्न भनेका थिए । त्यस्तै सन १९८३ मा युरोप जाँदा जर्मन, फ्रान्स साथीहरुले त यतै बस राम्रो काम लगाइदिन्छु भनेका थिए ।

‘मेेरो देशमा बस भन्ने मान्छेहरुलाई मैले सँधै देशलाई म जस्तो मानिस आवश्यकता छ । तर तिमीहरुसँग दुईवटा कुरा सिकेर जान्छु भने, क्रान्ति गरेर जुन जीवनशैली अपनाएको छ त्यो एउटा सिक्छु, अर्को एकदम टाईममा काम गर्ने, काम गर्ने बेलामा यताउता नगर्ने कुरा सिक्छु । र त्यसलाई मेरो देशमा प्रयोग गर्छु । तिम्रो देशमा बस्यो भने सरणार्थी सेकेन्ड सिटिजन हुन्छु नेपालमा फष्ट सिटिजन हुन्छु, त्यसैले मेरो ध्यान र म नेपालमै हुन्छ’, उनी सम्झन्छन् ।

‘ म सानैदेखि विदेशमा पलायन हुनेको विरोधी हुँ, त्यसमाथि म त नेपालको अन्तर्राष्टिय खेलाडी, म कुनै देशको सरणार्थी हुँदा मेरो देश नै सरणार्थी हुन्छ, इज्जत रहँदैन । भन्दा वाङ सर तीन छक पर्नुभयो, उहाँ अझै पनि हुनुहुन्छ,’ उनले थपे ।

उनले आफू विदेश पलायन नभएको मात्रै होइन सन्तानलाई समेत विदेश पलायन हुन दिएनन् । ‘ मैले छोराछोरीलाई विदेश पठाउने र विदेशमा सेटल गराउनतिर कहिल्यै लागिन, त्यसले गर्दा केही समय म वेवकुफ पनि भएँ । किनकी मेरा साथीभाइहरुको छोराछोरी कोहि अमेरिका, कोही अष्ट्रेलिया कोही युरोप तर मेरा छोराछोरी मेरै वरीपरी घुमिरहेका थिए, युवराज लामा बुद्धि नभएको मान्छे फिल्म खेल्ने मान्छेको वुद्धि कहाँ हुन्छ र ? भन्ने समेत भने , ‘ लामा भन्छन् , ‘ तर अहिले जतिजना आफन्त साथीहरुको छोराछोरी विदेशमा छन् , उनीहरु खुशी छैनन्, किन खुशी छैनन भने टाढा बस्नुपरेको छ, पैसा त हुन्छ, तर खुशी हुँदैन । उनीहरुले अहिले छोराछोरीलाई ‘पुल व्याक’ गरिरहेका छन् । मेरो छोराछोरीहरु कामको सिलसिलामा विभिन्न देश घुमिरहेका छन् ।’

३६ वर्ष काठमाडाैंमा रहेर ४० वटा जति देश घुम्दा, नेपाललाई चिनाउँदै गर्दा नेपाल जति राम्रो देश कुनै पनि छैन र नेपाली जति राम्रो मान्छे संसारमा कतै छैनन् भन्ने आफूले बुझेको लामा बताउँछन् ।

राजनीतिक नियुक्तिबाटै राष्ट्रिय खेलकुद परिषद्का  सदस्यसचिव बनेका लामा पोलिटिकल्ली समस्या देख्छन् । ‘नेताहरु लगभग ९९ प्रतिशत फटाइमा लागेपछि जनता पनि फटाहा हो कि भन्ने लाग्छ, ‘करेक्ट रिङ ‘ दियो भने नेपाली जति राम्रो कोही छैनन्, ‘ उनले भने ।

‘सोरेतो’ मार्फत फिल्म क्षेत्रमा फर्किंदै

आफूले होटल व्यवसायसँगै फिल्मी करियरलाई पनि अघि बढाउने सोच बनाएको उनले बताए । त्यसका लागि आफैंले एउटा विषयमा वर्क आउट गरिरहेको उनले सुनाए । ‘नयाँ विषय छ । ८० प्रतिशत स्कृप्ट तयार भइसकेको छ ,’ लामाले भने  ।

यसअघि लामाले १७ वटा चलचित्र आफैंले बनाइसकेका छन् । त्यसबाहेक एक्टरको रुपमा काम गर्ने गरि नेपाली चलचित्र ‘सोरेतो’मा साईन गरिसकेका छन् । चलचित्र सिम्रौनगढ, सिमरा, निजगढ एरियामै सुटिङ हुन्छ । हरि हुमागाईले निर्देशक रहेको फिल्ममा विजय लामा, समी मोक्तान लगायत कलाकारले अभिनय गर्दैछन् ।

लामाले नेपाली चलचित्र जगतलाई देउता, गोरेटो, धर्मपुत्र खान्दान, मुस्कान, मन मन्दिर, दुई थोपा आँसुलगायत चर्चित फिल्म दिएका छन् । ‘फिल्म लाइन र राजनीति गर्ने मान्छेलाई ब्रम्हनालमा पुगेपछि पनि राम्रो अफर पाएपछि फर्कन्छ भन्ने उखान छ,’ उनले भने ,’राजनीति गर्ने मानिस अन्तिम अवस्थामा पुगेपनि तपाईंलाई राम्रो पद दियो भने उठ्छ रे त्यस्तै कलाकारलाई पनि तपाईंलाई फलानो फिल्ममा राम्रो रोल छ भन्यो उठ्छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment