Comments Add Comment

मौद्रिक नीतिबारे बैंकर्स : राष्ट्र बैंकले गल्ती दोहोर्‍यायो

बैंकर्स संघका अध्यक्ष भन्छन्– आधिकारिक धारणा भोलि

७ फागुन, काठमाडौं । नेपाल राष्ट्र बैंककले सार्वजनिक गरेको मौद्रिक नीतिको अर्धवार्षिक समीक्षाका विषयमा बैंकरहरुले मिश्रित प्रतिक्रिया दिएका छन् । समीक्षामा उठाइएका धेरै विषय राम्रो भए पनि केही कुराहरु आपत्तिजनक रहेको उनीहरुको भनाइ छ ।

राष्ट्र बैंकले सोमबार राति १० बजे मौद्रिक नीतिको समीक्षा वेबसाइटबाट सार्वजनिक गरेको थियो । समीक्षामा तरलता बढाउने व्यवस्था गरिएको विषयलाई बैंकरहरुले स्वागत गरेका छन् । वाणिज्य बैंक, विकास बैंक तथा वित्त कम्पनीहरुले विदेशबाट आफ्नो प्राथमिक पूँजीको शतप्रतिशतसम्म विदेशी मुद्रामा ऋण लिन पाउने व्यवस्थालाई पनि सकारात्मक भनेका छन् ।

तर, कर्जाको ब्याजदर निर्धारण गर्दा सम्वन्धित बैंकको आधार दरमा थप गरिने प्रिमियम निश्चित प्रतिशतसम्म मात्र हुने, वााणिज्य बैंकहरुले स्वीकार गर्ने कल निक्षेपको रकम कुल निक्षेपको १० प्रतिशतभन्दा बढी हुन नहुने लगायत व्यवस्थामा बैंकरहरुको आपत्ति छ ।

स्प्रेडदरको विषयमा राष्ट्र बैंकले सुधारेको गल्ती पुनः दोहोर्‍याएको बैंकरहरुको निश्कर्ष छ ।

यो पनि पढ्नुहोस् : मौद्रिक नीतिको समीक्षा : कर्जा बढी प्रवाह हुँदा जोखिम बढ्यो (पूर्ण पाठसहित)

बाणिज्य बैंकहरुको छाता संगठन नेपाल बैकर्स संघका अध्यक्ष ज्ञानेन्द्र ढुंगानाले समग्रमा मौद्रिक नीतिको अद्र्धवार्षिक समीक्षा सकारात्मक भएको प्रतिक्रिया दिए । केही विषय बैंकलाई प्रभाव पार्ने खालका भएपनि समग्रमा समीक्षालाई आफूले सकारात्मक रुपमा ल्याएको अनलाइनखबरलाई बताए ।

राष्ट्र बैंकले मौद्रिक नीतिमार्फत तरलता बढाउने विषय समेटेकोमा ढुंगानाले स्वागत गरे । रिफाइनान्सिङको व्याजदर घटाउने व्यवस्थालाई पनि सकारात्मक मानेका छन् ।

आधारदरमा प्रिमियम तोक्ने विषय उल्लेख गरिएको तथा कल डिपोजिट १० प्रतिशतमा झार्ने लगायतका विषयहरुले बैंकहरुलाई (नकारात्मक) प्रभाव पार्न सक्ने उनको भनाइ छ । यस विषयमा थप अध्ययन गर्न बाँकी रहेको भन्दै बैंकर्स संघको बैठक बसेर आधिकारिक धारणा सार्वजनिक गरिने ढुंगानाले बताए ।

‘ब्याजदर घटाउने र तरलता बढाउने गरी आएको छ, यसलाई समग्रमा राम्रै भन्नुपर्छ’ नेपाल बंगालादेशका सीईओसमेत रहेका अध्यक्ष ढुंगानाले भने, ‘मैले बुधबारका लागि बैठक बोलाएको छु, भोलि धारणा सार्वजनिक गर्नेछौं ।’

यसअघि सोमबार ब्याजदरको विषयमा भएको छलफलबाट बाहिरिएपछि अध्यक्ष ढुंगानाले उद्योगी व्यवसायीहरुमा राजनीतिक गन्ध आएको बताएका थिए । नेपाल उद्योग वाणिज्य महासंघको चुनाव आउन लागेको सन्दर्भमा उद्योगी व्यवसायीहरुले विभिन्न गतिविधि गरिरहेको हुनसक्ने उनको आशंका थियो ।

संघकै निवर्तमान अध्यक्ष अनिल केशरी शाह भने आफूले मौद्रिक नीतिको अर्धवार्षिक समीक्षालाई सकरात्मक रुपमा लिएको बताए । मुलुकको समग्र अर्थतन्त्रका विषयमा सोच्ने अर्थमन्त्रालय र राष्ट्र बैंकले ल्याएको मौद्रिक नीतिलाई नराम्रो भन्न नसक्ने उनले बताए ।

नविल बैंकका प्रमुख कार्यकारी अधिकृतसमेत रहेका शाहले मुलुकको अर्थतन्त्र राम्रो भए सबै क्षेत्र राम्रो हुने भन्दै पहिले अर्थतन्त्र कसरी राम्रो बनाउने भन्ने विषयमा सोच्नु पर्ने बताए ।

‘म सानो हुँदा बुवाआमाले धेरै चकलेट खान नखानु भन्नु हुन्थ्यो मलाई झन धेरै खान मन लाग्थ्यो’ बालापनको उदाहरण दिदै बैंकर शाहले भने, ‘अहिले भएको पनि त्यसतै हो, सुन्दा नराम्रो लागे पनि पछिसम्मका लागि राम्रो हुनसक्छ ।’

‘बैंक र व्यवसायीलाई हेर्ने दृष्टिकोण समान हुनपर्‍यो’

सानिमा बैंकका प्रमुख कार्यकारी अधिकृत भुवन दाहालले मौद्रिक नीतिको अर्धवार्षिक समीक्षामा समेटिएका केही विषयहरु व्यवसायीको दबावमा आएको हो कि भन्ने भान भएको बताए । अर्थमन्त्री डा. युवराज खतिवडा राष्ट्र बैंकको गभर्नर हुँदा सच्याइएको विषय पुनः कसैको दबावमा आएको हुन सक्ने बैंकर दाहालले बताए ।

खतिवडा गभर्नर हुँदा ०७० सालमा ऋण लिने र निक्षेपमा दिने ब्याजको अन्तर (स्प्रेड दर) कार्यान्वयनमा ल्याउन घोषणा गरेका थिए । उनले स्प्रेड दर पाँच प्रतिशतमा झार्नुपर्ने व्यवस्था गराए । त्यसको करिब एक वर्षपछि उनले उक्त व्यवस्था सच्याएर सरकारी सुरक्षणपत्रमा भएको लगानीको ब्याज आम्दानीलाई समेत समावेश गरी स्प्रेडदर तय गर्नुपर्ने निर्देशन जारी गरेका थिए ।

तर, खतिवडाले सच्याएको विषय अहिले आउनु अचम्म भएको दाहालले बताएका छन् । दाहाल भन्छन्, ‘ब्याजदर र स्प्रेड रेट पहिले पनि निक्षेप र कर्जाकै आधारमा गणना गर्ने भन्ने थियो । अर्थमन्त्री ज्यू नै गभर्नर भएका बेला परिवर्तन भएको थियो तर फेरि त्यसरी नै आएको छ । व्यवसायीहरुकै दबावमा आएको हो कि ?’

सर्कुलरपछि धेरै कुरा प्रष्ट हुनेछन् : अनलराज भट्टराई

पूर्वबैंकर अनलराज भट्टराईले भने राष्ट्र बैंकले अब जारी गर्ने सर्कुलरपछि धेरै विषयहरु स्पष्ट हुने बताएका छन् । मौद्रिक नीतिको समीक्षामा उल्लेख गरिएको तरलता बढाउने तथा ब्याजदर सहज पार्ने विषयहरु राम्रो भएको प्रतिक्रिया दिँदै उनले सर्कुलर आएपछि बाँकी विषयहरु पनि थप प्रष्ट हुने भट्टराईले बताए ।

‘अहिले आएको केवल पोलिसी हो, सर्कुलर आउनै बाँकी छ’ नेपाल उद्योग परिसंघका बैंकिङ सल्लाहकार समेत रहेका भट्टराईले भने, ‘सर्कुलर आएपछि धेरै विषय प्रष्ट हुन्छन्, त्यसपछि सीएनआईको आधिकारिक धारणा सार्वजनिक गर्छौं ।’

आजभोलि नै राष्ट्र बैंकको सर्कुलर आउनसक्ने भन्दै उनले त्यसपछि धेरै कुरा आफूले भन्न सक्ने बताए ।

पछिल्लो समय चर्किएको ब्याजदरको विषयमा भने कसैको अनावश्यक हस्तक्षेप हुन नहुने उनको धारणा छ । खुला बजार अर्थतन्त्रमा बजारले नै ब्याजदर निर्धारण गर्ने भन्दै कसैले यति ब्याजदर लेउ भन्न नमिल्ने भट्टराईले बताए । बजार अनियन्त्रित भएको खण्डमा नियामक कडाई भने गर्न सकिने उनको धारणा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment