Comments Add Comment

डीपीएल क्रिकेट : फाइनल प्रवेशका लागि काठमाडौं र अत्तरिया भिड्ने

लिग राउण्डको अन्तिम खेलमा अत्तरियासँग काठमाडौं ७ विकेटले पराजित

७ फागुन, काठमाडौं । धनगढी प्रिमियर लिग (डीपीएल) क्रिकेटको अन्तिम खेलमा काठमाडौं गोल्डेन्स सीवाईसी अत्तरियासँग ७ विकेटले पराजित भएको छ । तर, फाइनल प्रवेशका लागि भने यी दुई टिमले नै प्रतिस्पर्धा गर्ने भएको छ ।

ड्रिम फाप्ला मैदानमा डीपीएलको लिग राउण्डको अन्तिम खेलमा अपराजित रहेको काठमाडौं पाँचौ खेलमा आएर अत्तरियासँग ७ विकेटले पराजित हुन पुग्यो । टस जितेर पहिले ब्याटिङ गर्नु नै काठमाडौंका लागि दूर्भाग्य बन्यो ।

निर्धारित २० ओभरमा सबै विकेट गुमाउँदै ७५ रन मात्रै बनाएपछि अत्तरियाले न्यून स्कोरको चुनौती पायो । काठमाडौंका लागि कप्तान ज्ञानेन्द्र मल्लले ३२ रन बनाए । उनले पनि स्लो ब्याटिङ गरे । ४९ बलमा ३२ रन बनाउनु टी-२० क्रिकेटमा राम्रो मानिदैन । त्यसो त, योगेन्द्रसिंह कार्कीले १३ र अंकित दबासले १० रनमा आउट हुँदा अन्य ब्याट्सम्यानले भने दोहोरो अंक पनि जोड्न सकेनन् ।

काठमाडौंलाई सस्तैमा समेट्ने क्रममा अत्तरियाका कप्तान दीपेन्द्रसिंह ऐरीले तीन विकेट लिए । उनले दुई ओभर बलिङ गर्दै चार रन मात्र खर्चेर तीन विकेट लिए ।

७६ रनको झिनो रनको विजयी चुनौती पछ्याउँदै ब्याटिङ गरेको अत्तरियाले १७ ओभरमा तीन विकेटको क्षतिमा लक्ष्य पूरा गर्‍यो । अत्तरियाका लागि जयकिसन कोल्सवालाले ३३ रन बनाए । त्यस्तै, कप्तान दीपेन्द्रसिंह ऐरी ११ बलमा २० रन बनाएर अविजित रहँदा सन्दीप जोरा ७ रनमा नटआउट रहे ।

अत्तरियाले पाँच खेलमध्ये चार खेलमा जित र एक खेलमा हार ब्यहोर्दै ८ अंक बनाउँदै शीर्ष स्थानमा रहेको छ । पाँच खेलमध्ये तीन खेलमा जित, एक खेलमा हार र एक खेल वर्षाको कारण रद्द भएपछि अंक बाँड्दै सात अंक बनाएको काठमाडौं भने लिग राउण्डमा दोस्रो हुँदै पहिलो क्वालिफायरमा प्रवेश गरेको हो ।

पाँच खेलमध्ये तीन खेलमा जित र दुई खेलमा हार ब्यहोरेको रुपन्देही च्यालेन्जर्सले ६ अकं बनाउँदै तेस्रो स्थानमा हुँदा पाँच खेलमध्ये दुई खेलमा हार, एक खेलमा जित र दुई खेलमा वर्षाको कारण अंक बाँड्दै चार अंक बनाएको महेन्द्रनगर इलिमिनेटर राउण्डमा प्रवेश गरे ।

योसँगै अब फाइनल प्रवेशका लागि पनि सीवाईसी अत्तरिया र काठमाडाैं  गोल्डेन्सले पहिलो क्वालिफायर राउण्डमा प्रतिस्पर्धा गर्ने भएको छ ।

भोलि हुने पहिलो क्वालिफायरमा यी दुबै टिमले प्रतिस्पर्धा गर्नेछ । विजेता टिम फाइनलमा प्रवेश गर्ने छ । त्यस्तै, पराजित हुने टिमले महेन्द्रनगर युनाइटेड र रुपन्देही च्यालेन्जर्सबीचको विजेता टिमसँग फाइनल प्रवेशका लागि खेल्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment