Comments Add Comment

अस्ट्रेलियाका नेपालीबीच ‘जेनेरेशन ग्याप’

सिड्नी । एकातिर गितार भिरेर पप गीत गाउने युवाहरुको टोली, अर्कोतिर मादल र बाँसुरीसहित रातो सारी र ढाका टोपीमा सजिएका ज्येष्ठहरुको जमात ।

आइतबार अस्ट्रेलियाको सिड्नीस्थित अवर्न पार्कमा दुई फरकफरक उमेर समूहका नेपालीहरुको अनौठो संयोग देखियो ।

त्यतिमात्र होइन, युवा पुस्ताहरु हातमा बियरको क्यानसहित गितारको तालमा पप गीतमा मस्त थिए । ज्येष्ठहरुको टोली स्वस्थानी व्रतकथाको पञ्चामृतका साथ कीर्तनमा बयस्थ । यो अनौठो संयोग मात्र होइन पछिल्लो समयमा अस्ट्रेलिया आउने नेपालीहरुको संख्यामा वृद्धि भएसँगै अस्ट्रेलियाका ठूला शहरहरुमा देखिदै आएको ‘जेनेरेशन ग्याप’को एउटा गतिलो उदाहरण हो ।

अहिले अस्ट्रेलियामा चार पुस्ताका नेपालीहरु छन् भन्दा फरक नपर्ला । पहिलो पुस्ता आफ्ना सन्तानहरुले घुमघामका लागि वा नातिनातिनाको हेरचाह गर्न बोलाएका अभिभावकहरु हुन् । दोश्रो, अस्टेलियामा वर्षौ विताएका चलनचल्तीको भाषामा केही हदसम्म सेटल भएकाहरुको पुस्ता हो ।

तेश्रो, अध्ययनको सिलसिलामा आएका ‘टिनएजर्स’सहित युवा युवतीहरुको पुस्ता र चौथो, भर्खरै जन्मिएका र हुर्कदै गरेका बालबालिकाहरुको नयाँ पुस्ता ।

अनौठो त के छ भने यी चार पुस्ताहरुको गतिविधि र क्रियाकलाप धेरै फरक फरक छ ।

अभिभावकको पुस्ता पूजापाठ, कीर्तनतर्फ चासो राख्छ भने अस्ट्रेलियामा केही हदसम्म सेटल भएकाहरुको पुस्ता सामाजिक गतिविधिहरुमा आफ्ना क्रियाकलाप केन्द्रित गर्छ ।

उच्च शिक्षाका लागि आएका युवायुवतीहरुको पुस्ता भने पढाइ सँगसँगै पप, डिस्को र ग्याम्बलिङतिर बढी मात्रामा रुचि राख्छन् ।

क, ख, रा सिक्दै गरेको पछिल्लो पुस्ता ।

बालबालिकाको नयाँ पुस्ता नेपाली भाषा नबिर्सियोस भन्नका लागि कखरा सिक्दै छन् । ‘अब छोराछोरी पप जाने भन्छन्, हामीलाई के थाहा बाबु पब भनेको के हो ? मर्ने बेलामा भगवानको भजन गाउँदै मर्न पाए मनलाई शान्ति मिल्थ्यो कि ?’ आइतबार अबर्न पार्कमा स्वस्थानी व्रतकथा सुन्दै गरेकी एक वृद्ध महिलाले गुनासो गर्दै थिइन ।

एउटा उमेरको मानिसले आफ्नो उमेर समूहको साथी बनाउनु कुनै नौलो कुरा होइन । पपमा जाने युवकयुवतीहरुको जमात र पार्कहरुमा बसिबियालो गर्न भेट हुने वृद्धवृद्धाहरुको हुलले पनि यो कुरालाई प्रस्ट पार्छ । त्यही भएर त अबर्न पार्कमा माघ महिनाभरी स्वस्थानीको ब्रतकथा सुन्न उल्लेख्य संख्यामा नेपाली वृद्धवृद्धाहरुको उपस्थिति हुने गरेको छ ।

स्वस्थानी पढ्दै ज्येष्ठ पुस्ता ।

अर्बन नेपाली समाज

चार पुस्ताको खाडल पुर्ने कार्यको सुरुआत सिड्नीका सबअर्बहरु मध्ये रक्डेलरकोग्राह र अबर्न सबैभन्दा धेरै नेपालीहरु बस्ने सबअर्ब मानिन्छ ।

अनुमानित तथ्यांकअनुसार अबर्नमा करिब पाँचहजार भन्दा बढी नेपालीहरु बसोबास गर्दै आएका छन् ।

नेपालीहरुको बाक्लो उपस्थिति भएको कारण सम्पूर्ण नेपालीहरुको हक, हित र आपसी सद्भावका लागि अबर्न नेपाली समाज गठन भएको छ ।

करिब तीन सय जना अभिभावकहरु, सामाजिक अगुवाहरु तथा युवकयुवतीहरुको स्वतस्फूर्त उपस्थितिका माझ गत आइतबार अशोक उप्रेतीको अध्यक्षतामा २१ सदस्यीय अबर्न नेपाली समाज गठन भएको हो ।

उक्त भेलाले समाजको उपाध्यक्षमा विपीन थापा र राजु गिरी तथा महासचिवमा मनोज अधिकारी तथा कोषाध्यक्षमा जितेन श्रेष्ठलाई निर्वाचित गरेको छ ।

साथै उक्त भेलाले समाजको कार्यसमितिमा कार्यक्रम संयोजक रवीन्द्रकुमार, महिला संयोजकमा अन्जु थापा, खेलकुद संयोजकमा वीरेन्द्र बलामी, अभिभावकको तर्फबाट जित गोपाली र युवा संयोजकमा रुपक बुढाथोकीलाई संयोजक तोकेको छ ।

सोही क्षेत्रमा बस्ने आशिष अधिकारी, तुलसी भुषाल, उद्धव पोख्रेल, हेमन्त घिमिरे, प्रतीक सिग्देल, युदिका कुँवर, कृष्ण सुवेदी, सन्तोष आचार्य, भुपेन्द्र कंडेल, विपिन अधिकारी सदस्यहरुमा निर्वाचित भएका छन् ।

भेलाले सामाजिक अगुवाहरु दिनेश पोखरेल, राजकुमार श्रेष्ठ, पत्रकार मनऋषि धिताल, रमेश बानियाँ, देवेन्द्रराज भन्तना र शशी राइलाई सल्लाहकारका रुपमा चयन गरेको छ ।

समाजको गठनपश्चात नवनियुक्त अध्यक्ष अशोक उप्रेतीले अस्ट्रेलियामा रहेका विभिन्न उमेर समूहका नेपालीहरुको मनस्थितिलाई बुझ्दै उनीहरुको समस्यालाई समाधान गर्न समाजले हरदम प्रयास गर्ने प्रतिवद्धता व्यक्त गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment