Comments Add Comment

पश्चिम सेती मेरै कार्यकालमा सुरु हुन्छ : प्रधानमन्त्री

स्याउले सवस्टेशनको उद्घाटन

७ फागुन, डडेल्धुरा । प्रधानमन्त्री केपी शर्मा ओलीले ७५० मेगावाटको पश्चिम सेती जलविद्युत आयोजना आफ्नै कार्यकालमा निर्माण सुरु गर्ने घोषणा गरेका छन् ।

मंगलबार डडेल्धुरा पुगेका उनले भने ‘सुदूपश्चिमको आर्थिक विकाससँग जोडिएको पश्चिम सेती मेरै कार्यकालमा निर्माण सुरु हुन्छ, विद्युत् नपुगेको क्षेत्रमा पनि व्यापक रुपमा विद्युतीकरण गर्ने छौं ।’

प्रधानमन्त्री ओलीले डडेल्धुराको अमरगढी नगरपालिका १ दूधकाँडेमा निर्माण भएको स्याउलेमा सवस्टेशनको उद्घाटन गरेका छन् । १३२/३३ सवस्टेशन सञ्चालनमा आएसँगै सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लामा उत्पादन हुने विद्युत राष्ट्रिय प्रसारण प्रणालीमा जोड्न सहज हुने भएको छ ।

प्रधानमन्त्री ओलीले सवस्टेसनले सुदूरपश्चिमको विद्युत् आपूर्तिलाई नियमित र भरपर्दो बनाउने बताए ।

कार्यक्रममा ऊर्जा, जलस्रोत तथा सिञ्चाइमन्त्री वर्षमान पुनले सवस्टेसनको निर्माणले सुदूरपश्चिमको ऊर्जा क्षेत्रको लागि महत्वपूर्ण पूर्वाधार तयार गरेको बताए ।

‘यस क्षेत्रमा अध्ययन, निर्माणाधीन तथा निर्माणको चरणमा रहेका आयोजनाबाट उत्पादन हुने विद्युतलाई वितरण गरी खपत गर्न नसकेकोलाई अन्य क्षेत्रमा लैजान सक्ने पूर्वाधार तयार भएको छ’, उनले भने ।

पश्चिम सेतीलाई अगाडि बढाउन अहिले लगानी बोर्डमा छलफल भइरहेको मन्त्री पुनले जानकारी दिए ।

दार्चुलास्थित ३० मेगावाटको चमेलिया जलविद्युत आयोजनाको विद्युत स्याउले सव स्टेशनबाटै डडेलधुरा, बझाङ, दार्जुला, डोटी, वैतडी र अछाममा वितरण भइरहेको छ ।

यसअघि नेपाल विद्युत प्राधिकरणले चमेलियाको विद्युत दार्चुलाको बलाँचबाट १३१ किलोमिटर १३२ केभी प्रसारण लाइनमार्फत कैलालीको अत्तरिया पुर्‍याई फेरि करिब एक सय किलोमिटर ३३ केभी फिडरमार्फत ती जिल्लामा आपूर्ति गर्दै आएको थियो ।

प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले स्याउले सवस्टेसन सञ्चालनमा आएपछि सुदूपश्चिमका पहाडी जिल्लाहरुमा विद्युत प्रवाहको गुणस्तरलाई पनि बढाएको बताए ।

सवस्टेशनका कारण सुदूरपश्चिम क्षेत्रको विद्युत प्रवाहको गुणस्तर तथा विश्वसनीयता मजवुत भएको घिसिङले बताए ।

३० मेगावाटको चमेलिया र नौगाड जलविद्युत केन्द्रबाट उत्पादन भएको करिब ३८ मेगावाट विद्युतमध्येबाट स्याउले सवस्टेसनमार्फत डडेल्धुरा, बैतडी, बझाङ, अछाम, डोटी र बाजुरा जिल्लामा वितरण भइरहेको छ ।

सवस्टेशनको निर्माण आर्थिक वर्ष ०७२/७३ मा सुरु गरिएको थियो । प्रसारण लाइनको निर्माणका लागि ८ पुस २०७२ मा इष्ट इन्डिया उद्योग/वाइबा इन्फ्राटेक जेभीसँग ठेक्का सम्भौता भएको थियो । कम्पनीले ८ असार २०७५मा निर्माण सकी सवस्टेसन सञ्चालनमा आएको थियो ।

जग्गाको मुआब्जा, नेपाल सरकारको ऋणको ब्याज र आयोजनाको प्रशासिनक खर्चसमेत गरी सवस्टेशनको ४५ करोड रुपैयाँमा निर्माण सम्पन्न भएको प्राधिकरणले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment