Comments Add Comment

उखु किसान र चिनी उद्योगीबीच सहमति, आन्दोलन फिर्ता

७ फागुन, सर्लाही । नेपाल उखु किसान सघले आन्दोलन फिर्ता लिएको छ । हरिवनमा मंगलबार प्रमुख जिल्ला अधिकारी द्रोण पोखरेलको रोहबरमा भएको छलफलमा चार बुँदे सहमति भएपछि किसानले उखुको अनुदान रकम मागगर्दै सुरु गरेको आन्दोलन फिर्ता लिएका हुन् । उनीहरुले सोमबारदेखि आन्दोलन सुरु गरेका थिए ।

चिनी उद्योगहरुले गत आर्थिक वर्ष ०७४र७५ मा किसानबाट खरिद गरेको विवरण एक हप्ताभित्र जिल्ला भुक्तानि समितिमा पठाउने र सो समितिले प्राप्त गरेको विवरण प्रमाणित गरेपछि किसानलाई अनुदान रकम वितरणका लागि कोष तथा लेखा नियन्त्रक कार्यालयले चिनी उद्योगहरुलाई रकम पठाउने सहमति भएको हो ।

चिनी उद्योगले खरिद गरेको उखुको परिमाणलाई आधार मानेर किसानलाई भुक्तानि दिने, किसानले रकम पाउने कुराको जिम्मेवारी चिनी उद्योगहरुले लिने र किसानले घोषित आन्दोलनका सबै कार्यक्रम फिर्ता लिने सहमति भएको छ ।

सहमतिपछि उखु किसानले गतवर्ष बिक्री गरेको उखुको प्रति क्वीन्टल ६५ रुपिँया २८ पैंसा तत्काल पाउने आश पलाएको नेपाल उखु उत्पादक महासङ्घका अध्यक्ष कपिलमुनि मैनालीले जानकारी दिए ।

पूर्व निर्धारित कार्यक्रमअनुसार उखु किसानले अनुदान रकम मागगर्दै मंगलबार मध्यान्ह पूर्व-पश्चिम राजमार्ग अन्तर्गत हरिवनमा केहीबेर चक्काजाम गरेका थिए ।

स्थानीय प्रशासन, उद्योगी लगायत सरोकारवालासँग सहमति भएपछि चक्काजाम खोलिएको उखु किसानहरुले बताएका छन् ।

अनुदान बापतको रकम महोत्तरीमा २३ करोड , सर्लाहीका उखु किसानका लागि २६ करोड ७४ लाख ३१ हजार रुपिँया कोष तथा लेखा नियन्त्रक कार्यालय मार्फत भुक्तानी हुन बाँकी छ ।

दशैं लगत्तै आएको सो रकम झन्झटिलो प्रक्रियाका कारण किसानले अझै पाउन सकेका छैनन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment