Comments Add Comment

च्याम्पियन्स लिग : बार्सिलोनालाई लियोनको चुनौती

टीममा सुधार आवश्यक छ – पिके

७ फागुन, काठमाडौं । च्याम्पियन्स लिगमा आफूहरुको खेल सुधार गर्न नसके ठूलो पीडामा परिने डर रहेको बार्सिलोनाका डिफेन्डर जेरार्ड पिकेले बताएका छन् । गएका केही खेल हेर्दा र तालमेलमा देखिएको समस्याले पिके मात्र होइन प्रशिक्षक एर्नेस्टो भालभर्दे पनि टिमलाई लिएर विश्वस्त देखिँदैनन् ।

च्याम्पियन्स लिग अन्तिम १६ को पहिलो लेगमा फ्रेन्च क्लब लियोनविरुद्ध स्पेनिस क्लब बार्सिलोनाले मंगलबार राति पौने २ बजे खेल्दै छ ।

गएको शनिबार ला लिगामा रियल भायाडोलिडसँग १–० ले खेल जितेको बार्सिलोनाले सम्हालिएको खेल देखाउन सकेको थिएन । ‘हामी जस्तो बार्सिलोना हुनुपर्ने हो त्यस्तो भएको छैनौँ’ पिकेले भनेका छन्, ‘यदि हामीले बल छिटोछिटो बढाएनौँ, पोसेसनमा नियन्त्रण गरेनौँ र राम्रा पासहरु बनाएनौँ भने हामी कमजोर टिम हुने छौँ ।’

बार्सिलोनामा आर्थर, थोमस भर्माइलिन, ज्यास्पर चिलेसन, राफिन्हा, टोडिबो, सर्जी स्याम्पर, जस्ता खेलाडी छन् भने स्यामुअल उमटिटी पनि पूर्ण रुपमा फिट छैनन् । लियोनमा पनि फरवार्ड नबिल फेकिर प्रतिबन्धमा छन् भने मिडफिल्डर टान्गे डोम्बेले घाइते छन् ।

विश्वस्त छैनन् दुवै टिम

बार्सिलोना प्रशिक्षक भालभर्दे आफूहरु जस्तै समूह चरणमा लियोनले पनि कुनै खेल नहारेकाले बलियो मनस्थितिमा रहेको बताउँछन् । ‘हाम्रा लागि यो ठूलो चुनौती हुनेछ । तर हामी जितका लागि आतुर छौँ र खेलको प्रतिक्षामा छौं’ उनले भनेका छन् ।

बार्सिलोनाले पछिल्लो चार खेलमा चार गोल मात्रै गरेकाले फरवार्ड लाइनको आलोचना भइहरेको छ । त्यसमा पनि दुई गोल त लियोनल मेस्सीले पेनाल्टीमा गरेका थिए । जसमा भालभर्दे पनि जानकार छन् ।

‘सबैको आफ्नै धारणाहरु त हुन्छन् नै तर पनि फरवार्ड लाइनको आलोचनामा आइरहेका प्रश्नहरु अचम्म लाग्दा छन् । हुन सक्छ हामीले त्यति धेरै अवसरहरु बनाएका छैनौं तर हामी हरेक समय अट्याकमा नै छौं’ भालभर्देले भनेका छन् ।

फ्रेन्च लिग वानमा तेस्रो स्थानमा रहेको लियोनका प्रशिक्षक ब्रुनो गेनेसियो आफूहरु कप्तान फेकिर बिना खेल्नुपर्ने भएकाले केही चुनौती रहेको बताएका छन् । जारी सिजन फेकिरले २७ खेलमा ११ गोल गरेका छन् ।

‘हामीले टिममा सन्तुलन मिलाउन आवश्यक छ । नबिल हाम्रो कप्तान मात्रै होइन टेक्निकल लिडर पनि थिए । उनीबिना खेल्न जहिले पनि हाम्रा लागि कठीन हुन्छ । अन्य समयमा भन्दा बढी मेहनत गर्नुपर्ने हुन्छ’ प्रशिक्षक ब्रुनोले भनेका छन् ।

यस्ता छन् केही तथ्य

लियोनविरुद्धको खेल बार्सिलोनाले अहिलेसम्म हारेको छैन । च्याम्पियन्स लिगमा नै यसअघि भएको ६ खेलमा ४ खेल बार्सिलोनाले जितेको छ भने दुई खेल बराबरी भएको छ । जसमा हरेक खेलमा बार्सिलोनाले गोल गरेको छ ।

पछिल्लो पटक २००८–०९ को च्याम्पियन्स लिग अन्तिम १६ मा भेट हुँदा बार्सिलोना दुवै लेगमा गरेर ६–३ ले विजयी भएको थियो । पछिल्लोपटक २०११–१२ को सिजनपछि च्याम्पियन्स लिग नकआउट स्टेजमा लियोन अहिले नै पुगेको हो । त्यसमा पछिल्लो ६ पटकलाई हेर्दा लियोन अन्तिम १६ बाटै पाँचपटक बाहिरिएको छ ।

बार्सिलोना भने लगातार १५ औं पटक च्याम्पियन्स लिग नकआउट चरणमा पुगेको हो । बार्सिलोनाल जारी सिजन च्याम्पियन्स लिगमा खाएको पाँच गोल नै दोस्रो हाफमा भएको हो । जसमा तीन गोल अन्तिम १० मिनेटको समयमा खाएको छ ।

यो पनि पढ्नुहोस् : च्याम्पियन्स लिग : लिभरपुल कि बायर्न म्युनिख ?

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment