Comments Add Comment

आहा रारा गोल्डकपमा १० टीम, विजेतालाई ८ लाख

उद्घाटन खेलमा सहारा र एपीएफ भिड्ने

७ फागुन, पोखरा । मोफसलको प्रतिष्ठित आहा–रारा गोल्ड कपमा यसपटक विदेशी र विभागीयसहित १० टिमको प्रतिस्पर्धा हुने भएको छ ।

बिहीबार सुरु हुने १७ औं संस्करणको आहा रारा गोल्ड कप विजेताले ८ लाख १ हजार रुपैयाँ पुरस्कार पाउनेछ भने उपविजेताले ४ लाख १ हजार पाउनेछ । पुरस्कार राशी वृद्धि गरिँदै लगिएको आयोजक साहारा क्लबले जनाएको छ ।

प्रतियोगितामा दुई विदेशीसहित १० टीम सहभागी हुनेछन् । मनाङ मर्स्याङ्दी क्लब, थ्रीस्टार क्लब, त्रिभुवन आर्मी क्लब, नेपाल एपीएफ क्लब, नेपाल पुलिस क्लब, हिमालयन शेर्पा क्लब, साहारा क्लब धरान फुटबल क्लब, भारतको युनाइटेड सिक्किम फुटबल क्लब र क्यामरुनको डफिन्स फेमिली टीम सहभागी हुनेछन् ।

प्रतियोगिताको उद्घाटन खेल आयोजक सहारा क्लब पोखरा र नेपाल एपीएफ क्लबबीच हुने छ । गएको वर्ष यो प्रतियोगितामा १२ टिम सहभागी थिए । पुलिस क्लबले गएको संस्करणको उपाधि जितेको थियो भने थ्रीस्टार उपविजेता बनेको थियो ।

‘खेलकुदको विकासमा सहकार्य गरौं, पोखरालाई खेलकुद पर्यटन शहरको रुपमा स्थापित गरौं’ भन्ने मूल नारासहित पोखरा रंगशालामा १८ गतेसम्म प्रतियोगिता सञ्चालन हुने छ ।

यसपटकको प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीलाई १ थान अप्रिला स्कुटर प्रदान गरिने सहारा अध्यक्ष केशव थापाले जानकारी दिए । व्यक्तिगततर्फ विभिन्न पाँच विधामा र जनही नगद १५ हजार रुपैयाँ पुरस्कार राखिएको छ ।

सर्वाधिक गोलकर्ताले २५ हजार रुपैयाँ पाउनेछ । सहभागी प्रत्येक क्लबलाई एक खेल खेलेबापत अतिरिक्त प्रोत्साहन रकम प्रदान गरिने आयोजकले जनाएको छ ।

प्रि–क्वार्टरफाइनलको खेल विजेता टिमलाई २० हजार र पराजित टिमलाई १० हजार रुपैयाँ प्रदान गरिने भएको छ । त्यस्तै क्वार्टरफाइनल चरणको खेल विजेता टिमलाई ३० हजार र पराजित टिमलाई २० हजार, सेमिफाइनल विजेता र पराजित दुवै टिमलाई ५० हजार रुपैयाँ दिने क्लबका सचिव विश्वराज बरालले जानकारी दिए ।

१७ औं प्रतियोगितामा पनि मुख्य प्रायोजन हिमश्री फुड्सको उत्पादन आहा, रारा चाउचाउले गरेको छ । प्रतियोगिता अवधिभर टिकट काटेर अवलोकन गर्ने दर्शकमध्ये १ जनाले सिजीको एलजी टिभी प्राप्त गर्ने छन् ।

प्रतियोगिताका अवसरमा २०७४ सालमा उत्कृष्ट खेल प्रदर्शन गर्ने खेलाडी १ जनालाई ३५ हजार रुपैयाँ, प्रमाण–पत्र र दोसल्लाले ‘सर्वाेत्कृष्ट राष्ट्रिय फुटबल खेलाडी २०७५’ बाट सम्मान गर्ने कार्यक्रम रहेको आयोजकले जानकारी दिएको छ ।

प्रतियोगिताबाट वचत रकम सहारा क्लब पोखराद्वारा सञ्चातिल फुटबल एकेडेमी सञ्चानार्थ खर्च गरिने आयोजकले जनाएको छ ।

दर्शकलाई समस्या

पहिलो चरणको खेलका लागि ८० रुपैयाँ, क्वार्टरफाइनलको सय रुपैयाँ, सेमिफाइनलको १ सय ५० र फाइनल खेल हेर्न २ सय रुपैयाँको टिकट काट्नु पर्ने आयोजकले जानकारी दिएको छ ।

नयाँ निर्माण गर्नका लागि भन्दै प्यारापिट भत्काइएपछि यसपटक फुलबल पारखीलाई केही समस्या हुने भएको छ । अस्थायी प्यारापिट निमार्ण गर्ने आयोजकले बताए पनि पर्याप्त नहुने देखिएको छ । यसअघि भएको मनकामना केबलकार कपमा पनि त्यो समस्या देखिएको थियो ।

रंगशाला निर्माण गर्ने प्रदेश र नेपाल सरकारका छुट्टाछुट्टै योजना छन् । जसका कारण खेलकुदप्रेमी अझै अन्योलमा छन् । दुई सरकारबीच समन्वयन नहुँदा प्रदेश राजधानी पोखराको रंगशाला निर्माणको योजना नै बाझिएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment