Comments Add Comment

श्रीमान् खोजिदिनुपर्‍यो भन्दै महानगरमा उजुरी

७ फागुन, पोखरा । सुस्मिता र राजुबीच केही वर्षअघि एउटा पार्टीमा भेट भयो । पार्टीमासामान्य चिनजान गरेका उनीहरु विस्तारै नजिकिए, त्यही सम्बन्ध प्रेममा परिणत भयो । एक वर्ष पहिले उनीहरुले प्रेमलाई मूर्तरुप दिन बिहे गरे ।

बिहे गरेको केही महिनामै राजु सम्पर्कविहीन भए । सबैतिर खोजतलास गर्दा पनि सम्पर्कमा नआएपछि सुस्मिताले महानगरमा ‘श्रीमान् खोजिदिनु पर्‍यो’ भन्दै उजुरी दिइन् ।

****

पोखराकै चुनमाया द्वन्द्व पीडित हुन् । जनयुद्धमा श्रीमान् गुमाएकी उनले सरकारबाट राहत पाएकी छैनन् । आफूले कानुन बमोजिम पाउनुपर्ने रकम नपाएको भन्दै उनले महानगरमा रहेको महिला सहायता कक्षमा गुनासो गरेकी छिन् । भन्छिन्, ‘द्वन्द्वको घाउ अब महानगरले मल्हमपट्टी गरिदिन्छ कि !’

****

फूलकुमारीले कुनै अनौपचारिक शिक्षा लिएकी छैनिन् । अक्षर पढ्न जान्दिनन् । गएको वर्ष उनकै छिमेकी एकजना महिलासँग घरव्यवहार चलाउन ऋण लिइन् । ऋण लिँदा कागजपत्रमा औंठा छाप गरिन् । तर छिमेकीले जालसाजी गरेको दावी गर्दै उनलेे ‘न्याय पाऊँ ‘ भन्दै महानगरमा उजुरी दर्ता गरेकी छन् ।

फूलकुमारी भन्छिन्, ‘छल गरेर कागजपत्र बनाइयो । महानगरले मलाई न्याय दिन्छ भनेरै उजुरी दिएकी हुँ । छानबिन गरेर सत्यतथ्य कुरा बाहिर ल्याओस् ।’

महिला सहायता कक्षमा उनले अन्य कानुनी प्रक्रियाबारे निःशुल्क परामर्श पनि लिइरहेकी छिन् । परामर्शबाट थुप्रै कानुनी प्रक्रियाबारे बुझ्न सजिलो बनाइरहेको उनी बताउँछिन् ।

पोखरा महानगरपालिकाले महिलालाई निःशुल्क परामर्श दिन ‘महिला सहायता कक्ष’ व्यवस्था गरेको छ, जहाँ महिलासँग सम्बन्धित उजुरीहरु आउने गरेका छन् । कतिपय उजुरी परामर्शले सल्टिएका छन् भने कुनै न्यायिक समितिमा जान्छ ।

‘महानगरमा जनप्रतिनिधिका रुपमा पद बहाली गर्दा नै महिलालाई निःशुल्क रुपमा कानुनी परामर्श दिने भनेर भनेका थियौं । त्यसअनुसार महिला सहायता कक्ष सञ्चालनमा ल्याएका हौं,’ न्यायिक समिति संयोजक समेत रहेकी उपमेयर मञ्जुदेवी गुरुङले भन्छिन्, ‘यसले महिलालाई गोप्य रुपमा उजुरी दिन सजिलो भएको छ ।’
उनले उक्त कक्षमा घरायसीदेखि सामाजिक विषयसम्मका उजुरी आउने गरेको खुलाइन् ।

महिला सहायता कक्षमा गत वर्षको असारयताको १ वर्षमा विभिन्न ७८ उजुरी परेका छन् । त्यसमा घरायसी झैंझगडा, अंशबन्डा, सम्बन्धबिच्छेद, पञ्जीकरण दर्ता, बहुविवाह आदि छन् । संयोजक गुरुङका अनुसार न्यायिक समितिमा प्राय उजुरी मौखिक आउने गरेका छन् । ‘आएका उजुरी हामी सकभर परामर्शबाट नै सल्टाउने कोसिस गर्छौं,’ संयोजक गुरुङले भनिन्, ‘हाम्रो क्षेत्राधिकारभन्दा बाहिर भएमात्रै उहाँहरुलाई सम्बन्धित निकायमा जान सहयोग गरिरहेका छौं ।’

महानगरका कानुनी वरिष्ठ अधिकृत नारायणप्रसाद शर्माका अनुसार महानगरमा दुई प्रकारका उजुरी आउने जानकारी दिए । ‘एउटा न्यायिक समितिमासँग सम्बन्धित हुन्छ भने अर्को प्रमुख तथा प्रशासकीय अधिकृतसँग सम्बन्धित हुन्छ,’ उनले भने ।

समितिमा चालु आर्थिक वर्षमा जम्मा १२ वटा निवेदन दर्ता भएका छन्, जसमध्ये ६ वटा महिलासँग सम्बन्धित थिए । ‘कानुनी महाशाखा र न्यायिक समितिको क्षेत्राधिकारभन्दा बाहिर पर्ने ५६ वटा ठाडो उजुरी दर्ता भएका छन्,’ शर्माले भने, ‘ती मुद्दा सकेसम्म मिलाउने नमिले सम्बन्धित निकायमा पठाइरहेका छौं ।’ महानगरबाट २ वटा मुद्दा जिल्ला अदालतमा पेस भएको उनले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment