Comments Add Comment

हाम्ली डन : फ्रुटी दिएर बालिका फकाए, उखुबारीमा बलात्कारपछि जलाए

७ फागुन, काठमाडौं । धनुषाको मिथिला-३, मगर टोलमा बलात्कारपछि हत्या गरिएकी ११ वर्षीया बालिका रेश्मा भनिने दुतिया रसाइलीको घटनामा संलग्न व्यक्तिलाई प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको छ ।

धनुषाको बटेश्वर-४ बस्ने ‘हाम्ली डन’ भनेर चिनिने निरज जर्घामगरलाई घटनामा संलग्न भएको आरोपमा प्रहरीले पक्राउ गरेर सार्वजनिक गरेको हो ।

यसअघि २ फागुनमा मगर टोलमा बिहान साढे १० बजे उखुबारीमा नग्न अवस्थामा जलेको शव फेला परेको थियो । बोल्न नसक्ने अपाङ्गता भएकी बालिका रसाइलीको शव भेटिएलगत्तै प्रदेश प्रहरी कार्यालय जनकपुर र जिल्ला प्रहरी कार्यालय धनुषाको संयुक्त टोलीले अनुसन्धान थालेको थियो ।

लगत्तै, संकित व्यक्तिको खोजतलास गर्ने क्रममा भारतीय सीमा क्षेत्रमा लुकिछिपी भाग्न लागेको अवस्थामा दुहबी टोलबाट मगरलाई पक्राउ गरिएको प्रदेश २ का प्रहरी प्रमुख डिआईजी हरिबहादुर पालले बताए ।

पक्राउ परेपछि प्रहरीलाई बयान दिने क्रममा उनले थप चार जनाको नाम लिएर सामूहिक बलात्कारपछि हत्या गरेको बताएका थिए । तर, अनुसन्धानका क्रममा उनले नाम लिएका व्यक्तिहरुको संलग्नता नरहेको खुलेको प्रहरीले दाबी गरेको छ ।

मगरमाथि जबरजस्तीकरणी गरी कर्तव्य ज्यान मुद्दामा म्याद थप गरेर विस्तृत अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।

बिहेबाट बालिकालाई फकाएर लगे, हत्यापछि बिहेमै फर्किए

गत बुधबार मगरको मामाघर मिथिला-३ मा इन्द्रबुर्जा मगरको छोरीको विवाह भोज राखिएको थियो । भोजमा मृतक बालिका पनि सहभागी थिइन् । भोज पश्चातको नाचगानमा सहभागीहरु सरिक भए ।

त्यसबीच त्यहाँ बिजुलीको लाइन काटिन्छ र किशोर-किशोरीबाहेक अधिकांश तितरवितर हुन्छन् । केही घरतिर लाग्छन् । त्यही मौका पारेर रक्सी, लागूऔषध ट्याबलेट र गाँजासमेत सेवन गरेका अभियुक्त मगरले रसाइलीमाथि नजर लाउँछन् ।

उनले नजिकैको किराना पसलमा चाउचाउ र फ्रुटी पनि किनिदिन्छन् । त्यसपछि फकाएर खोलाको बाटो हुँदै उत्तरतर्फ करिब दुई सय मिटर उत्तरपश्चिमतिर रहेको उखुबारीमा लैजान्छन् ।

अनुसन्धान अधिकारीहरुका अनुसार त्यहीँ मगरले बालिकाको जबरजस्ती करणी गर्छन् । र, पोल खुल्ने डरले घाँटी थिचेर हत्या गर्छन् । त्यतिले मात्रै उनी आफूलाई सुरक्षित महसुस गर्दैनन्, शवमाथि उखुको सुकेको पात, बालिकाको कपडा र चप्पल राखेर आगो लगाउँछन् ।

आगो लाग्न थालेपछि उनी त्यहाँबाट निस्किएर पुनः विवाह घरमा गएर नाचगानमा सरिक हुन्छन् । र, मामा घरमा गएर सुत्छन् । भोलिपल्ट बिहान हत्याको हल्लाखल्ला भएपछि उनी आफैं हेर्न जान्छन् । त्यसपछि मामाघर फर्किए, अनि गाउँबाट भागे ।

अपराधिक पृष्ठभूमि

पक्राउ परेपछि प्रहरीलाई उनले सुरुमा झुक्याउने कोशिश गरेका थिए । अन्य व्यक्तिको पनि नाम लिएर प्रहरी अनुसन्धानलाई मोड्ने प्रयासमा उनी थिए । तर, अन्ततः प्रहरी घटनामा उनको मात्र संलग्नता रहेको निष्कर्षमा पुगेको छ ।

उनले प्रहरीलाई पछिल्लो पटक दिएको बयानका क्रममा फिंगर पि्रन्ट लगायतका सबुत मेटाउन शव जलाएको बताएका छन् । अनुसन्धान अधिकारीहरुका अनुसार मगर विभिन्न चोरीका घटनामा यसअघि पनि संलग्न थिए ।

उनी युवतीमाथि दुर्व्यवहार गरेको आरोपमा इलाका प्रहरी कार्यालय, ढल्केबरको हिरासतमा समेत बसेको देखिएको छ । महानगरीय प्रहरी वृत्त, कालिमाटीले पनि उनीविरुद्ध सार्वजनिक कसुरको मुद्दा चलाएको छ । उनी सुन्धारास्थित केन्द्रीय कारागारमा दुई महिना जेल सजाय भुक्तान गरेर निस्किएको प्रहरीको भनाइ छ ।

अधिकारीहरुका अनुसार उनको आमाले बुबालाई छोडेपछि बुबा भारतमा गएर लेबर काम गर्ने गरेको छन् । आमाले अर्कै विवाह गरी काठमाडौंमा बस्दै आएको खुलेको छ । त्यसयता उनी काठमाडौं, जनकपुर लगायतका क्षेत्रमा बस्ने गरेका थिए भने उनी कहिले पेन्टर, कहिले सवारी साधनमा खलासी त कहिले लेबरको काम गर्ने गरेको देखिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment