Comments Add Comment

हुलाकी सडकमा पनि पप्पु कन्स्ट्रक्सन बाधक

साढे तीन वर्षमा पुलको फाउन्डेसन मात्रै

७ फागुन, वीरगञ्ज देशभर विभिन्न आयोजनाहरु अलपत्र पारेर बदनामी कमाइरहेको पप्पु कन्स्ट्रक्सन प्रालीबाट हुलाकी सडक पनि प्रभावित भएको छ । सम्झौता अनुसार हालसम्म ४४ प्रतिशत काम सकिनुपर्नेमा १४ प्रतिशत मात्रै प्रगति देखिएको जिल्ला प्रशासन कार्यालय पर्साले जनाएको छ ।

हुलाकी सडकको पहिलो खण्ड वीरगञ्जदेखि ३० किलोमिटर पश्चिमसम्मको ठेक्का एमएआर–पप्पु–कनटेक जेभीले पाएको थियो । दोस्रो, ३० किलोमिटर सडक निर्माणको जिम्मा भने कालिका बानियाँ जेभीले लिएको छ ।

भ्याटसहित १ अर्ब ३२ करोड ४७ लाख ८३ हजार ७ सय २९ रुपैयाँ ९० पैसामा पहिलो खण्डको ठेक्का पाएको पप्पुले ३० महिनामा काम सक्नुपर्ने थियो । १७ नोभेम्बर २०१७ मा भएको सम्झौताअनुसार २ जुन २०२० मा काम सम्पन्न हुनुपर्छ तर, मुआब्जा विवाद लगायतको बाहनामा काम भइरहेको छ ।

दोस्रो खण्डको निर्माण गर्ने जिम्मा हेटौंडाको बानियाँ निर्माण सेवाले लिएको छ । १ अर्ब ६ करोड ६८ लाख ४७ हजार ८ सय ५० रुपैयाँमा ठेक्का पाएको कालिका बानिया जेभीले २०२० अप्रिल ३० तारिखमा काम सम्पन्न गर्नुपर्ने छ । आगामी चैतबाट सडक पिच गर्ने तयारी भइरहेको उनीहरुले बताए ।

३ फागुनले सडकको स्थलगत निरीक्षण गरेकी संघीय संसदको विकास तथा प्रविधि समितिका सभापति कल्याणी खड्कालेपप्पु कन्स्ट्रक्सनको काम सन्तोषजनक नरहेको बताइन् । ‘पप्पुले अहिले पनि राम्ररी काम गरेको देखिएन’ उनले भनिन्, ‘पहिले गरेकामा पनि एकदमै ‘साइड कटिङ’ भएको छ ।’

तिलावे पुलको बेहाल

पर्साको बहुदरामाई नगरपालिका ५ भौराटारका भरतप्रसाद साहलाई वीरगञ्ज आउने जाने काम परिरहन्छ । उनी सँधै १ घण्टा जति तिलावेको जाममा फस्छन् । दैनिक आधादेखि पौने घण्टा जाम हुने गरेको उनले बताए ।

पटेर्वा सुगौली गाउँपालिकाका मनोज साहको समस्या पनि उस्तै छ । ‘दुई तीन वर्षदेखि पुलमा यस्तै समस्या छ,’ उनले भने ‘यसको समाधान भईदिए राम्रो हुन्थ्यो ।’

तिलावे पुल विन्धवासिनी गापामा रहेको एकतर्फी सवारी साधन मात्रै आवतजावत गर्न मिल्ने पुल हो । तिलावे खोलामाथिको यो पुरानो पुलमा दिनहुँ घण्टौं जाम लाग्दा सर्वसाधारण सास्ती बेहोर्न बाध्य छन् । पर्साको ग्रामिण क्षेत्रका थुप्रै व्यक्तिसँग मोटरसाइकल र चारपांग्रे सवारीसाधन हुनु तथा ट्राफिक नियमको पालना नगरी लेन मिचेर सवारी चलाइनुले तिलावेमा दिनहुँ जाम हुने गरेको छ ।

पप्पुले नै निर्माणको जिम्मा पाएको तिलावे पुलको काम पनि गतिलो नदेखिएको समिति सभापति खड्काले बताइन् । ‘पुरानो पुललाई डिस्टर्व हुने गरी नयाँ पुलको काम शुरु गरेको रहेछ । डाइभर्सन नभएको भनेर फाउन्डेसन बाहेक काम भएको छैन’ उनले भनिन् ‘सरकारी निकायले ६/७ दिनभित्रै डाइभर्सनको व्यवस्था गरिदिन्छु भनेको छ । त्यसपछि पनि काम भएन भने ठेकदारमाथि काम गर्न निर्देशन दिएको छु ।’

उनले वर्षामा पुरानै तिलावे पुल सञ्चालनमा ल्याउनुको विकल्प नदेखिएको बताइन् । ‘तत्काल डाइभर्सन बनाएर काम शुरु गरेपनि पुल बनाउन समय लाग्छ, वर्षामा पुरानो पुल चलाउनुपर्ने हुन्छ’ उनले भनिन् ।

डाईभर्सनका निर्माणका लागि १० लाख बढी खर्च लाग्ने अनुमान छ ।

वीरगन्जलाई जिल्लाका बाँकी भागसँग जोड्ने तिलावेकोे ९ महिना अगाडि नै बनिसक्नुपर्ने भएपनि अहिलेसम्म सामान्य काम मात्रै भएको छ । पुल १ सय मिटर लामो र ७ मिटर चौडाईको बन्नेछ । पुलको डिजाईन पनि ठेकेदारले नै बनाएको हुलाकी राजमार्ग आयोजना कार्यालयले जनाएको छ ।

पर्साका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराईले ठेकेदार र हुलाकी आयोजना दुवै उत्तिकै दोषी देखिए पनि अहिले त्यसमा अल्झिन नहुने बताउँछन् ।

‘डिजाइन एण्ड विल्ड मोडलमा तिलावे पुलको ठेक्का लगाइएको हो । पुरानो पुलमा असर पर्ने गरी डिजाइन बनाइएको रहेछ । हुलाकी राजमार्ग आयोजनाले पनि टाइममा सुपरभिजन गरेको देखिएन’ उनले भने ‘अब त्यतातिर अल्झने भन्दा पुल निर्माणमा ध्यान केन्द्रित गर्नु जरुरी छ । एक साताभित्र डाईभर्सन दिने गरी काम अघि बढाइने छ ।’

पप्पु कन्स्ट्रक्सनले साढे तीन वर्षमा पिलरको फाउन्डेसन राख्ने काम मात्र गरेको छ । २०७३ सालको असारमा पप्पु लुम्बिनी जेभीले ७ करोड ५० लाख रुपैयाँमा तिलावे पुल निर्माणको ठेक्का हात पारेको थियो ।

सम्झौता अनुसार २०७५ जेठ २४ गते सम्ममा काम सम्पन्न गर्नुपर्ने थियो । तर म्याद सकिएको ८ महिनाभन्दा बढी भईसक्दा काम प्रारम्भिक तहमै छ ।

पुरानो पुलको डाइभर्सन नदिँदा काम गर्न नसकिएको पप्पु कन्स्ट्रक्सनको दाबी छ । ‘पुलको पिलर र स्ल्याप ढलानका लागि सञ्चालनमा रहेको पुल छेउको जमीन काट्नु पर्ने हुन्छ, त्यसो गर्दा कम्तीमा २ महिना पुरानो पुलबाट आवातजावत गर्न हुन्न,’ पप्पु/लुम्बिनी जेभीका प्राजेक्ट मेनेजर जसुवा अब्राहमले भने, ‘डाइभर्सन नहुँदा सोचे अनुसार काम गर्न सकेका छैनौं ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment