Comments Add Comment

भारतबाटै आयो पानी र लेदो मिसिएको पेट्रोल

सुरेश बिडारी

७ फागुन, वीरगञ्ज । भारतीय आयल कर्पोरेशन (आईओसी)को रक्सौल डिपोबाट पेट्रोल र डिजल भररेर आएका ट्याङ्करमा पानी र लेदो भेटिएको छ । आईओसीबाट तेल भरेर आएका प्रत्येकजसो ट्याङ्कीमा पानी र लेदोको मात्रा अत्यधिक पाइएको हो ।

ना २ ख ३८४० नम्बरको ट्याङ्करका चालक मनोज ठाकुरले रक्सौलबाट तेल भरेर वीरगञ्ज ल्याएर नेपाल आयल निगमको कर्मचारीकै अगाडि चेक गर्दा डिजलमा पानी देखिएको बताए ।

‘हामीले सँधै जस्तै रक्सौलबाट डिजल ल्यायौं, तर वीरगञ्जमा आएर डिजल निकालेर हेर्दा डिजलमा पानीको मात्रा देखियो,’ उनले भने ‘ यस्तो कहिले पनि भएको थिएन । आज देखिएको छ । ‘

उनले श्री आयल वीरगञ्ज, जीतपुरको गोदावरी आयल र वैदेही आयलका लागि डिजल ल्याएका थिए । तर डिजलमा गडबडी देखिएपछि आयल निगमको वीरगञ्ज कायालय अगाडि ट्याङ्कर राखेर बसेका छन् ।

उनको जस्तै रक्सौलबाट तेल भरेर आएका ना २ ख ७०३७, ना ७ ख ६५१५, ना २ ख ५०३९, ना ८ ख १३६५, ना २ ख ८३५९, ना ७ ख ६६९०  लगायतका दर्जनौं गाडी त्यसैगरी आयल निगमको वीरगञ्ज स्थित कार्यालय वरपर नै राखिएको छ ।

केहि दिनअघि मात्रै जिल्ला डिजलमा मिसावट गरेपनि जिल्ला प्रशासन कार्यालय पर्सा नेतृत्वको अनुगमन टोलीले बोलबम पेट्रोल पम्पमा शिलबन्दी गरेर नमुना परीक्षणका लागि सम्बन्धित कार्यालयमा पठाएको थियो । त्यसपछि पेट्रोलियम ढुवानी व्यवसायी र पेट्रोल पम्पका सञ्चालकहरु सजग भएका हुन् । सोमबार ल्याइएको पेट्रोल डिजलमा पनि त्यस्तै समस्या देखिएको उनीहरुको गुनासो छ ।

डिजल र पेट्रोल दुवैमा समस्या देखिएपछि पेट्रोलियम ढुवानी व्यवसायी र पेट्रोल पम्पका सञ्चालकहरुले जिल्ला प्रशासन कार्यालय र आयल निगमको वीरगञ्ज स्थिति कार्यालयमा गुनासो समेत गरे ।

जिल्ला प्रशासन कार्यालय पर्साका साहायक प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्मा नेतृत्वको टोलीले अनुगमन गर्दा पनि तेलमा पानी र लेदो मिसिएको निष्कर्ष निकालेको छ ।

प्राविधिक परीक्षणका लागि टोलीले तीन/तीन वटा छुट्टा छुट्टै बोतलमा सिल लगाएर डिजल र पेट्रोलको सेम्पल लिएको छ ।

‘आईओसीको रक्सौल डिपोबाट पेट्रोलियम पदार्थ लोड गरी नियम अनुसार ताल्चा लगाई बारा पर्सा जिल्लाका विभिन्न पेट्रोल पम्पमाहरुका लागि ढुवानी गरिएका ट्याङ्कर नेपाल आयल निगमको वीरगञ्ज कार्यालयमा ल्याई चेकजाँच गर्दा लेदो तथा पानी समेत मिसिएको पाईएको छ,’ उनले भने ‘ तीन तीन वटा सेम्पल बक्समा पेट्रोल (एमएस) तथा डिजल (एचएसडी) सिलबन्दी गरी नमुना परीक्षणका लागि लिएर आएका छौं ।’

उनले नेपाल आयल निगम र भारतीय आयल कर्पोरेशनले आपसी समन्वयमा गरेर यस्तो समस्या आउनै नदिने वातावरण निर्माण गर्नुपर्ने बताए ।

‘आईओसी र एनओसीबीच भएको सम्झौताका कुरामा हामीले बोल्न मिल्दैन, व्यवसायीहरुको गुनासोका आधारमा हामीले परीक्षणका लागि सेम्पल लिएका छौं,’ उनले भने ।

नेपाल आयल निगम वीरगञ्ज शाखा कार्यालयका अनुसार बारा पर्सामा सञ्चालित पेट्रोल पम्पका लागि आज रक्सौल डिपोबाट २१ ट्याङ्कर डिजल र १० ट्याङ्कर डिजल भरिएको छ । बारा पर्सामा १ सय ४० को हाराहारीमा पेट्रोलपम्प  सञ्चालनमा छन् ।

आयल निगमको वीरगञ्ज कार्यालयका प्रमुख जगदिश प्रसाद यादवले भने आइओसीले रक्सौलमा ट्याङ्की सफा गरेका कारण त्यस्तो समस्या देखिएको जानकारी आफूले पाएको बताए ।


‘यस विषयमा आईओसीसँग कुरा भएको थियो, उनीहरुले ट्याङ्की सफा गरेका कारण पाईपमा केहि कसर बसेर त्यस्तो आएको हुन सक्ने बताएका छन्,’ उनले भने ‘मैले तेलमा पानी आउन सक्छ भनेर बिहानै चालकहरुलाई शंका लागे वाटर फाईन्डिङ टेष्ट गर्न भनेको थिँए तर उनीहरुले गरेनछन् ।’

उनकाअनुसार पेट्रोलियम पदार्थमा आउन सक्ने फोहोर र पानीलाई थिग्र्याउनका लागि ट्याङ्कीमा व्यवस्था हुन्छ ।

तर एउटा लेभलमा पुगेपछि सफा गर्नुपर्ने हुन्छ । सफा गर्ने क्रममा पानीको पनि प्रयोग हुन्छ । सफा गर्ने क्रममा बाहिर निकाल्ने पाइपमा केहि कमजोरी रहेर समस्या देखिएको हुन सक्ने उनको भनाई छ ।

राष्ट्रिय पेट्रोलियम डिलर्स एसोसियसनका केन्द्रीय सदस्य अनिल सिंहले आफूहरुले फोहोर र लेदोको पनि पैसा तिर्नुपर्ने अवस्था आएको बताए । ‘आयल निगमले कुनै समस्या हुँदैन भन्छ, कुनै ग्राहकको सवारीमा त्यस्तो तेल पर्‍यो भने कारबाहीको भागीदार हामी नै बन्नुपर्छ,’ उनले भने  ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment