Comments Add Comment

बंगलादेश सरकारद्वारा २० हजार वेबसाइट बन्द

८ फागुन, ढाका । अश्लील सामग्रीहरू राखेको आरोपमा बंगलादेश सरकारले झण्डै २० हजार वेबसाइट बन्द गराएको छ ।

बंगलादेशको उच्च अदालतले गत नोभेम्बरमा अश्लील वेबसाइट तथा प्रकाशनहरू बन्द गर्न निर्देशन दिएकाले सरकारी अधिकारीहरूले यस्तो अभियान थालेका हुन् ।

अश्लीलता विरुद्धको लडाइँ अभियानका क्रममा ती वेबसाइटहरु बन्द गराएको त्यहाँका सरकारी अधिकारीहरुले बताएका छन् ।

मुस्लिम समुदायको बाहुल्यता रहेको देश भएकाले कामोत्तेजक अनलाइन सामग्रीहरू पाच्य नहुने भन्दै सरकारी पक्षले नियन्त्रण गर्न लागेको हो ।

अहिले प्रतिबन्ध लगाइएका वा बन्द गराइएका वेबसाइटमध्ये अधिकांश साइट विदेशी छन् ।

बंगलादेशमा अश्लील वेबसाइटहरू नै सर्वाधिक हेरिएको सूचीमा रहँदै आएका छन् । देशमा अहिले झण्डै आधा जनता इन्टरनेटको पहुँचमा रहेको तथ्याङ्क छ ।

‘म बंगलादेशलाई सुरक्षित र रचनात्मक इन्टरनेट प्रयोगकर्ता रहेको देश बनाउन चाहन्छु, बालबालिकाका लागि पनि यो अत्यन्त घातक छ,’ बङ्लादेशका दूरसञ्चारमन्त्री मुस्तफा जब्बरले भने ।

अश्लीलताका विरुद्धमा आफूले ठूलो लडाइँ नै लड्नु परेको बताउँदै उनले यसलाई निरन्तरता दिने जानकारी पनि दिए ।

बंगलादेशका सरकारी उच्च अधिकारीहरूले सामाजिक सञ्जाल, टिकटक, विगोलगायतका एपहरूको दुरूपयोग भएको ठानेका छन् ।

दक्षिण एसियाली यो देशमा दुरूपयोग भएका यस्ता सामाजिक सञ्जाल र एपहरूलाई प्रतिबन्ध गराउनुपर्नेमा पनि मन्त्री जब्बरले जोड दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment