Comments Add Comment

सुदूरपश्चिम प्रदेशसभालाई प्रधानमन्त्रीको सम्बोधन : निर्मलाको हत्यारा पत्ता लगाइछाड्छौं

८ फागुन, कैलाली । प्रधानमन्त्री केपी शर्मा ओलीले निर्मला पन्तको हत्यारा पत्ता लगाएरै छोड्ने बताएका छन् ।

बुधबार बिहान सुदूरपश्चिम प्रदेशसभालाई सम्बोधन गर्दै ओलीले निर्मलाको बलात्कारपछि हत्याको घटना अत्यन्त दुःखद भएको बताए । ओलीले भने, ‘हाम्री चेलीबेटीको यसरी हत्या हुनु अत्यन्त दर्दनाक कुरा हो । अत्यन्त दुःखद कुरा हो ।’

हत्यारा पत्ता लगाउने प्रयास जारी रहेको उनले बताए । ‘सरकारले हत्यारा पत्ता लगाउन थुप्रै अनुसन्धान गरेको छ । तर, कहिले काहीँ अपराधीले प्रमाण छोडेर जाँदैन’ उनले भने, तर, सरकारले हत्यारा पत्ता लगाएरै छोड्छ ।’

प्रधानमन्त्री ओलीले प्रदेश राजधानीबारे प्रदेशसभाले गरेको निर्णय उपयुक्त भएको समेत बताए । उनले भने ‘राजधानी सार्ने तपाईहरुले जुन निर्णय गर्नु भएको छ त्यो उपयुक्त छ, त्यसलाई सार्नै पर्छ । तर, त्यसमा लगानी गर्न आवश्यक छ ।’

विप्लव माओवादीका क्रियाकलाप देश र जनताका हित विपरीत भएको प्रधानमनत्री ओलीले बताए । ओलीले  ‘विप्लव’ माओवादीप्रति लक्षित गर्दै हिंसात्मक गतिविधि सरकारको लागि स्वीकार्य नभएको स्पष्ट पारे ।

राजनीतिक आवरणमा चन्दा आतंक मच्चाउने काम भइरहेको भन्दै प्रधानमन्त्री ओलीले विप्लव समूहको नाम नलिई भने, ‘राजनीतिक आवरणमै लुटपाट र देशलाई डुबाउने खालका कामहरु हुँदैछन्, यस्ता विकासका बाधक र हिंसात्मक क्रियाकलापहरु सरकारले हेरेर बस्दैन ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment