Comments Add Comment

भारतको चौकीदारी छोडेर गाउँमै तरकारी खेती

राजबहादुर भन्छन् : आफ्नै देशमा पसिना बगाए विदेशिनु पर्दैन

८ फागुन, डडेल्धुरा । पछिल्लो समय देशमका युवाहरु रोजगारीको खोजीमा विदेशतिर उड्ने लहर नै चलेको छ । गाउँ-गाउँका नेपाली युवा खाडी मुलुक तथा भारतीय सहरहरुमा आफ्नो पसिना बगाइरहेका छन् ।

डडेल्धुराको अजयमेरु गाउँपालिका-४ चिपुरका ३५ वर्षीय राजबहादुर ऐडीको कथा भने फरक छ । उनी पनि अरु युवा जस्तै रोजगारीका लागि २०६५ सालतिर भारत गएका थिए । उनले त्यहाँ चौकीदारीको काम सुरु गरे । त्यो काम गर्दा उनले एक महिनाको तलव पाउँथे, जम्मा दुई हजार । अन्ततः उनी चार महिनामै कामबाट अघाए ।

एकदिन उनले अठोट गरे, ‘दुई हजारका लागि अर्काको देशमा चौकिदारी गर्नुभन्दा आफ्नै देशको माटोमा पसिना बगाउँछु ।’

यही अठोटका साथ राजबहादुर जन्मभूमिमा फर्किए । अनि सुरु गरे तरकारी खेती । १० वर्षअगाडि उनले थालेको तरकारी खेतीले उनको परिवारलाई पालिरहेको छ ।

उनी अहिले पाँच रोपनी जग्गामा तरकारी खेती गर्दै आइरहेका छन् । टमाटर, काउली, पिरो खुसार्नी, काँक्रा, प्याजलगायतका तरकारीहरु फलाउँछन् ऐडी । तीनवटा ‘पोली हाउस’ बाट एक सिजनामा २० देखि २५ क्विन्टल टमाटर उत्पादन गरिरहेको उनी बताउँछन् ।

आम्दानी कति ?

तरकारी खेतीबाट आफू सन्तुष्ट रहेको ऐडी बताउँछन् । तरकारी खेती गर्न थालेदेखि आफ्नो खाने बानीमा पनि सुधार आएको उनको अनुभव छ ।

‘म यो पेसाबाट एकदम सन्तुष्ट छु,’ उनले भने, ‘आफ्नै खेतिको तरकारी खाँदाको आनन्द बिछट्टै हुन्छ र यसले स्वास्थ्य एवम् पोषणमा पनि फाइदा मिल्छ ।’

उनले तरकारी खेतीबाट एक वर्षमा एक लाखभन्दा बढी आम्दानी गर्ने गरेको जानकारी दिए । पहिले गहुँ, धान, कोदो र मकै खेती गरी परिवारका सबै सदस्यलाई साँझ बिहानको छाक टार्नसमेत समस्या झेल्दै आएका ऐडीले तरकारी खेती गर्न थालेपछि जिविकोपार्जन सहज बनेको छ । तरकारी बेचेको पैसाले नै घर परिवार धानेको उनले बताए ।

घरमा उनीसहित ६ जनाको परिवार छ । दुई छोरी र एक छोराको पढाइ खर्च पनि तरकारी खेतीबाटै धानिएको उनले सुनाए ।

‘मेरो आम्दानीको अर्को बाटो केही पनि छैन,’ बारीमा लगाएको तमाटरको बोट देखाउँदै ऐडीले भने, ‘यी बोटहरुलाई आफ्नै छोरीछोरीको जसरी पालनपोषण गरिरहेको छु । बोटले पनि राम्रै उत्पादन दिइरहेका छन् ।’

व्यावसायिक तरकारी खेतीमा उनलाई परिवारको पनि पूरा साथ छ । यद्यपि, सुरु गर्दाका दिनमा भने परिवार त्यति खुशी थिएनन् ।

‘तरकारी सुरु गर्दा पारिवारिक साथ मिलेन । घरका मान्छेहरु यति धेरै जमिनमा तरकारी खेती लगाउनु हुँदैन, धान-गहुँ नै लगाउनुपर्छ भन्थे,’ उनले भने, ‘पछि आम्दानी हुन थालेपछि परिवारले राम्रो साथ दिएका छन् ।

तरकारीमा लाग्ने रोग

जिल्लाका ग्रामीण क्षेत्रमा यातायातको पहुँच बढ्न थालेपछि तरकारी उत्पादन गर्ने किसानको संख्यामा वृद्धि हुँदै गएको छ । तर पनि किसानहरू बेलाबेला तरकारीमा लाग्ने रोगहरूले भने चिन्तित छन् । तरकारीमा किरा लाग्ने समस्याले चिन्तित बनाउने गरेको ऐडी बताउँछन् ।

नर्सरी राख्नेदेखि लिएर तरकारीलाई बजार पुर्‍याउने बेलासम्म विभिन्न समस्याहरु खेप्नु परेको उनले सुनाए । तर, युवाहरुले समस्या आए पनि संघर्ष गरेर अगाडि बढ्नु पर्ने उनको भनाइ छ । तरकारी खेती गर्दा पानीको पनि आवश्यकता हुन्छ । पानीको समस्या भएको ठाउँमा थोपा सिंचाइको व्यवास्था गरेको पनि एडी बताउँछन् ।

बजारको अभाव

उत्पादन गरेको तरकारी सदरमुकाम पुर्‍याएर बिक्री गर्ने गरेका छन् ऐडीले । केही तरकारी स्थानीय पसलहरुमा खपत हुन्छन् भने बाँकी तरकारी जिल्ला सदरमुकाम बागबजार क्षेत्रमा लगिन्छ ।

‘परिमाण धेरै हुने भएकाले स्थानीय बजारमा सबै खपत हुँदैन,’ उनले भने, ‘बाँकी रहेको तकारी सदरमुकाम पुर्‍याउने गरेको छु ।’ हामीले यहाँ उत्पादन गरेको आलुको बिउ धनगढीसम्म पनि पुर्‍याउन सफल भएका छौँ ।’

युवाहरुले खाडी मुलुक तथा भारतीय शहर जानुभन्दा आफ्नै देशमा पसिना बगाउन सकेमा धेरै आम्दानी हुने एडी बताउँछन् । आधुनिक तरिकाले कृषि व्यवसाय गरेमा युवाहरु विदेश पलायन हुनु नपर्ने उनको भनाइ छ ।

‘युवाहरुले आफ्नै देशमा केही न केही व्यापार-व्यवसाय गर्नु पर्छ,’ उनले भने, ‘यही नेपालकै भूमिमा युवाहरुले पसिना बगाऔँ ।’ देशमा जे काम गरे पनि राम्रोसँग बुझेर र लगनशील भएर गर्नपर्ने उनको सुझाव छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment