Comments Add Comment

शान्ति सुरक्षा सुदृढ बनाउन सरकार सफल : गृहमन्त्री थापा

८ फागुन, काठमाडौं । गृहमन्त्री रामबहादुर थापा बादलले सरकार देशमा शान्ति सुरक्षा सुदृढ बनाउन सफल भएको दावी गरेका छन् ।

राष्ट्रियसभा बैठकमा बुधबार सांसदहरुले उठाएको प्रश्नको जवाफ दिँदै मन्त्री थापाले ९५ प्रतिशत अपराधीलाई कानूनी कठघरामा ल्याएको बताए ।

‘अपराधीलाई कानूनी कठघरामा ल्याउन राज्य मूलभूत रुपमा सफल छ’ उनले भने ‘९५ प्रतिशत अपराधीलाई कानूनको कठघरामा ल्याएका छौं, कतिपय घटनामा अझ पनि सफल हुन सकेका छैनांैं । हामी त्यसमा प्रयासरत छौं ।’

मन्त्री थापाले कञ्चनपुरकी बालिका निर्मला पन्तको बलात्कारपछि हत्याको घटनामा भने जति प्रयास गर्दा पनि अपराधी पत्ता लगाउन नसकेको स्वीकार गरे । ‘यस घटनामा अपराधीलाई जसरी शीघ्रताको साथमा कानूनको कठघरामा ल्याउनुपर्थ्यो  त्यसमा सफल भएका छैनौं’ उनले भने ‘तर प्रयासलाई निरन्तरता दिएका छौं, हामीलाई विश्वास छ अपराधी कानूनी कठघरामा आउनेछन् ।’

घटनाको अनुसन्धानमा गम्भीर लापरबाही गर्ने प्रहरी अधिकारीलाई प्रमाण लोप गराएको आरोपमा फौजदारी कारबाही अगाडि बढाउन सांसदहरुले माग गरेका थिए ।

जवाफमा मन्त्री थापाले उनीहरुमाथि अनुसन्धान भइरहेको भन्दै आवश्यक देखिएमा फौजदारी मुद्दा चलाउने पनि बताए । ‘छानबिन आयोग र समितिको रिपोर्ट अनुसार कारबाही गरिएको हो, उनीहरुमाथि अनुसन्धान जारी छ । अनुसन्धानबाट त्यो निश्कर्ष आयो भने फौजदारी अपराधमा कारबाही हुन सक्छ’ मन्त्री थापाले भने ।

मन्त्री थापाले ३३ किलोको सुन तस्करी भएको ठूलो सञ्जाल ध्वस्त पार्न सरकार सफल भएको दावी गरे । तर तस्करले नयाँ बाटो प्रयोग गर्न थालेको भन्दै त्यसलाई पनि ध्वस्त पार्ने बताए । ‘तस्करले नयाँ बाटो, नयाँ उपाय अवलम्बन गरेर छिटपुट रुपमा सुन तस्करी भइरहेको छ’ मन्त्री थापाले भने ‘नयाँ सञ्जाल, नयाँ रुटलाई पनि ध्वस्त पार्ने कुरामा सरकार लागिरहेको छ । ती पनि ध्वस्त नै हुनेछन् ।’

मन्त्री थापाले सरकारले सिण्डिकेट अन्त्य गरेको भन्दै फेरि फर्केर आउने सम्भावना नभएको जिकिर गरे । पूर्वराजदूत केशव झाको हत्याको अनुसन्धान चलिरहेको जानकारी दिँदै उनले यससँग सम्बन्धित विषय परीक्षणका लागि विधिविज्ञान प्रयोगशालामा पठाइएको जानकारी गराए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment