Comments Add Comment

राजनारायणसँगै लोकमानमाथि पनि कानुनी कारबाही गर्न डा. केसीको माग

८ फागुन, काठमाडौं । डा. गोविन्द केसीले अख्तियारको सदस्यबाट राजीनामा दिएका राजनारायण पाठकमाथि कानुनी कारबाही गर्न माग गरेका छन् । साथै अख्तियारका पूर्वप्रमुख लोकमान सिंह कार्की र पूर्वप्रधानन्यायाधीश गोपाल पराजुलीमाथि पनि कारबाही गर्नुपर्ने उनको माग छ ।

७८ लाख घुस लिएको सार्वजनिक भएपछि पाठकले अख्तियारको आयुक्त पदबाट राजीनामा दिएका थिए ।

डा. केसीले बुधबार विज्ञप्ति जारी गर्दै चिकित्सा क्षेत्रमा अनावश्यक चलखेल गरेकाले दुई वर्ष अगाडि नै महाभियोग लगाउन माग गरेको स्मरण गराएका छन् । पाठकले घुस लिएको थाहा पाएर पनि प्रधानमन्त्री केपी शर्मा ओली लामो समयसम्म मौन बस्नु गम्भीर भएको भन्दै उनले भनेका छन्, यो विषय बाहिर आएपछि समेत कारवाही गर्नुको सट्टा राजीनामा दिन लगाएर उन्मुक्ति दिन खोज्नु दण्डहीनताको चरम नमुना हो ।’

उनले अघि भनेका छन्, एकापट्टि दैनिक भाषणमा सुशासनको चर्को नारा लगाउने अनि अर्कापट्टि देशमा व्याप्त दण्डहीनताको विषयमा मौन बसी प्रश्रय दिनु प्रम ओलीको दोहोरो चरित्र स्पष्ट छ ।’

पाठकसँगै लोकमान सिंह र गोपाल पराजुलीलाई कानुन अनुसार कारवाही गर्नुपर्ने डा. केसीको माग छ ।

उनले गण्डकी मेडिकल कलेजका आन्दोलनरत विद्यार्थीहरुको माग पुरा गर्न र संसदमा दर्ता भएको शान्ति सुरक्षा विधेयक र सामाजिक सञ्जाल सम्बन्धी विधेयक सच्याउन माग गरेका छन् ।

साथै १५ औं अनसनका क्रममा भएको सम्झौता कार्यान्वयन गर्न माग गरेका छन् । अन्यथा, सहमति विपरीत अघि बढेमा जुनसुकै समयमा आमरण अनसन सहितको सत्याग्रह सुरु गर्ने चेतावनी दिन चाहन्छौं’ डा. केसीले भनेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment