Comments Add Comment

उकालो लाग्यो सुनको भाउ, एकैदिन ६ सय बढ्याे

८ फागुन, काठमाडौं । एकैदिन तोलामा ६ सय रुपैयाँ बढ्दै सुनको मूल्यले बुधबार पाँच वर्षअघिको ‘रेकर्ड’ भेट्याएको छ ।

मंगलबार प्रतितोला ६२ हजार ७ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य बुधबार प्रतितोला ६३ हजार ३ सय पुगेको हो । यसअघि ०७० भदौ १२ गते सुनको भाउ ६३ हजार ३ सय रुपैयाँ पुगेको थियो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार नेपाली बजारमा सुनको मूल्य यो नै हालसम्मको उच्च हो । माघ मसान्तमा प्रतितोला ६१ हजार ८ सय रुपैयाँ कारोबार भएकोमा फागुन १ मा सुनको भाउ दुई सय रुपैयाँ घटेको थियो ।

त्यसपछि पुनः बढ्न थालेको सुनको मूल्य अझै बढ्ने सम्भावना रहेको संघका पूर्व अध्यक्ष तेजरत्न शाक्यले बताए । अन्तर्राष्ट्रिय बजारमा मंगलबार प्रतिऔंस १ हजार ३ सय २५ अमेरिकी डलर रहेकोमा बुधबार १८ डलर बढेकाले नेपाली बजारमा पनि सुनको उपभोक्ता मूल्य बढेको उनले बताए ।

अमेरिका-चीनबीचको व्यापार युद्धका कारण डलर कमजोर हुँदै गएकाले पनि सुनको मूल्यमा असर गरेको उनको भनाइ छ । साथै डलरको तुलनामा भारतीय मुद्रा समेत कमजोर हुँदा सुनको मूल्यमा असर परेको शाक्यको विश्लेषण छ ।

एशिया क्षेत्रमा भारतीय मुद्रा कमजोर हुँदै जानु, सेयर बजार कमजोर भइरहेको र बेरोजगारी बढ्दा सुनमा लगानी बढेको व्यवसायीको भनाइ छ ।

महासंघका अनुसार बुधबार तेजाबी सुनको भाउ पनि तोलामा ६ सय रुपैयाँ बढेको छ । मंगलबार प्रतितोला ६२ हजार ४ सय रुपैयाँमा कारोबार भएको तेजाबी सुन बुधबार ६३ हजार रुपैयाँमा कारोबार भइरहेको छ ।

मंगलबारको तुलनामा बुधबार चाँदीको भाउ पनि ५ रुपैयाँ बढेर प्रतितोला ७ सय ८५ रुपैयाँ पुगेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment