Comments Add Comment

नक्कली नोट छाप्दाछाप्दै नरेश र सरस्वतीको जोडी पक्राउ

८ फागुन, पोखरा । केटिएम ड्युक मोटरसाइकल चढेर माघ २२ गते एक जोडीले पोखरा १६ अर्मलाको एउटा पसलमा सय रुपैयाँको रिचार्ज कार्ड किने । एक हजारको नोट दिएका उनीहरुलाई पसलले ९ सय रुपैयाँ फिर्ता गर्‍यो ।

पसलेले उनीहरुले दिएको नक्कली भएको थाहा पाउँदा ग १४ प ३५४ नम्बरको मोटरसाइकल पोखरातिर हुइकिसकेका थिए । उनले जिल्ला प्रहरी कार्यालयमा खबर गरे ।

घटनाको सुइँको पाएलगत्तै प्रहरी स्रोत खोज तलासीमा लाग्यो । सोमबार यो जोडी प्रहरीको फन्दामा पर्‍यो । पोखरा ५ पर्स्याङस्थित कोठाबाट रंगेहात पक्राउ परेका छन् । वडा प्रहरी कार्यालय बगरबाट खटिएको टोलीले सोमबार ३३ वर्षीय नरेश लामा र २५ वर्षीया सरस्वती बलामी पक्राउ गरेको छ ।

प्रक्राउ परेका बलामी र लामाबाट प्रहरीले लेनेभो कम्पनीको ल्यापटप, क्यानोन ब्रान्डको कलर प्रिन्टर, कैंची, पेपर, कटरसहित नेपाली १ लाख २८ हजार ४ सय ३० रुपैयाँ र भारतीय एक हजार एउटा नोट बरामद गरेकोे छ । यस्तै च २५ ६३४१४६ नम्बरको १३ वटा एक हजारका नक्कली नोट, च २५ ६३४१६३ नम्बरको ६ वटा एक हजारको नक्कली नोट पनि बरामद भएको छ ।

उनीहरुको साथमा सयको नमस्ते रिचार्ज कार्ड ७९ वटा, ५० को रिचार्ज कार्ड ११ वटा र एनसेल रिचार्जकार्ड सयको ७४० वटा र ५० रुपैयाँको रिचार्जकार्ड ५६ वटा भेटिएको छ ।

युट्युबमा हेरेर नक्कल

मकवानपुरको हेटौंडा महानगरपालिका ९ घर भएका नरेश लामा र सरस्वती बलामी मंसिर ९ गते पोखरा आए । करिब ३ दिन लेकसाइडका विभिन्न होटलमा बास बसेपछि पोखरा ५ प्रर्स्याङमा कोठा भाडा लिएर बस्न थाले ।

युट्युबमा नक्कली नोट बनाएको देखेपछि सिको गर्न थाले । नक्कली नोट छाप्न चाहिने प्रिन्टर पोखरा न्यूरोडमा रहेको भाटभटेनी सुपर मार्केटमा गएर किने । आफ्नो कोठाबाटै ल्यापटप, फोटोकपी पेपर, कैंची र गमको प्रयोग गरेर धमाधम नक्कली पैसा बनाउन थाले । ‘पोखराका करिब २० भन्दा बढी ठाउँमा नक्कली नोट प्रयोग गरेर सामान किनिसकेका छौं,’ प्रहरीले उनीहरुको भनाइ उद्दृत गर्दै भन्यो, ‘बढी मात्रामा रिचार्जकार्ड किन्ने गर्थ्यौं ।’

उनीहरुले एकदिनमै १० देखि २५ वटासम्म नक्कली नोट साट्ने गरेको स्वीकारेका छन् । महिला र केटाकेटी भएको पसलमा गएर प्राय नक्कली नोट साट्ने गरेको उनीहरुले खुलाए । आफूहरु नक्कली नोट साट्दा प्रयोग गर्ने गरेको ड्युक मोटरसाइकल ग्लोबल रिकन्डिसनबाट किनेको उनीहरुले बताएका छन् ।

पक्राउ परेका लामा र बलामीको भेट करिब डेढ वर्ष पहिले पोखरामै भएको थियो । भेटपछि उनीहरुबीच प्रेम सम्बन्ध चलिरहेको उनीहरुले स्वीकारेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment