Comments Add Comment

रोहितको पारिश्रमिक ८० प्रतिशत वृद्धि, आज इन्डोनेसिया जाँदै

८ फागुन, काठमाडौं । इन्डोनेसियामा व्यवसायिक फुटबल खेल्दै आएका नेपाली रोहित चन्द बुधबार त्यसतर्फ जाँदैछन् । रोहित पुनः पर्सिजा जकार्ताबाटै व्यवसायिक फुटबल खेल्न इन्डोनेसिया प्रस्थान गर्न लागेका हुन् ।

रोहितका दाइ रोविन चन्दले पर्सिजा जकार्ताबाट फुटबल खेल्न आजै राति १० बजे इन्डोनेसिया प्रस्थान गर्ने जानकारी दिए । यसअघि रोहितले पर्सिजा जकार्ताबाट भन्दा पनि अन्य देशका क्लबबाट व्यवसायिक फुटबल खेल्ने मनसाय बनाएका थिए ।

रोहितले अष्ट्रेलियाका ए डिभिजन क्लबसँग कुरा पनि गरेका थिए । रोविनले भने ‘अष्ट्रेलियाका ए डिभिजन २/३ वटा क्लबसँग ट्रायलका लागि निश्चित भइसकेको थियो तर त्यहाँ लिग सकिन लागेको रहेछ । सही समय नभएको कारण पर्सिजा जकार्तासँग आबद्ध भएको हो ।’

रोहितलाई सिंगारपुरका क्लबबाट पनि प्रस्ताव आएको थियो । तर उनले अस्वीकार गरेको रोविन बताउँछन् । रोविन भन्छन्, ‘मलेसियाबाट पनि अफर आएको थियो । तर अहिले उनीहरुमा एक–दुई वटा क्लबबाहेक अन्यमा आर्थिक समस्या रहेछ ।’

पर्सिजा जकार्तामा चाहिँ कति पारिश्रमिकमा अनुबन्धित भएको हो भन्ने चाहिँ उनले खुलाउन चाहेनन् । ‘पारिश्रमिकको विषयमा गोप्य नै राखौं । पहिलेकोमा ७० देखि ८० प्रतिशत बृद्धि भएको छ ।’

रोहित ११ महिनाका लागि पर्सिजा जकार्तामा अनुबन्धित भएका हुन् । यो उनको पाँचौ पटक क्लबसँगको सम्झौता हो ।
एएफसी कप खेल्नका लागि खेलाडी दर्ता गर्ने भोलि अन्तिम मिति हो । त्यसकारण पनि रोहित आजै इन्डोनेसिया प्रस्थान गर्न लागेका हुन् ।

गएको सिजन पर्सिजा जकार्तालाई लिग च्याम्पियन बनाएका रोहित मोस्ट भ्यालुएवल प्लेयर घोषित भएका थिए । रोहितको २०१८ को डिसेम्बर अन्तिममा पर्सिजासँग सम्झौता सकिएको थियो ।

यसअघि उनी २०१३ देखि २०१५ सम्म पर्सिजा जाकर्तामा अनुबन्धित भएका थिए । त्यसपछि २०१७ देखि २०१८ सम्म उनले उही क्लबबाट व्यवसायिक फुटबल खेले ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment