Comments Add Comment

ट्याक्सीले चक्रपथबाहिर पनि मिटरमै जानुपर्ने

८ फागुन, काठमाडौं । चक्रपथभन्दा बाहिर पनि अब ट्याक्सीहरु मिटरमै जानुपर्ने भएको छ । चक्रपथभन्दा दुई किलोमिटर बाहिरसम्म मात्र मिटरमा जाने नियम सच्याएर अब चक्रपथभन्दा बाहिर पनि मिटरमै चल्नुपर्ने व्यवस्था गरिएको हो ।

यातायात व्यवस्था विभागले उपत्यकाभरि नै ट्याक्सीलाई मिटरमा गुड्ने व्यवस्था मिलाउन र त्यसको अनुगमन गर्न ट्राफिक प्रहरीलाई पत्र लेखेको छ ।

अब मिटर ट्याक्सीहरु उपत्यकाभित्र जहाँ गए पनि मिटरमै चल्नुपर्ने महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख बसन्त पन्तले जानकारी दिए । चक्रपथभन्दा बाहिर भाडामा बार्गेनिङ हुने गर्दा त्यसकै बाहनामा ठगी मौलाएपछि नयाँ नियम लगाइएको ट्राफिक प्रहरी महाशाखाले जनाएको छ ।

यो नयाँ व्यवस्थापछि अब ट्याक्सी मिटर नचलाई हिँड्न पाउने छैनन् । यसले मनलाग्दी तबरले भाडा मागेर ठग्ने क्रम निरुत्साहित हुने विश्वास सरकारको छ ।

विगतमा रिंगरोडबाहिर पातलो बस्ती भएको र सडकको अवस्था पनि राम्रो नभएको भन्दै २ किलोमिटरसम्म मात्रै मिटरमा जाने व्यवस्था थियो ।

‘अब पहिले जस्तो अवस्था छैन । रिंगरोडबाहिर सुविधासम्पन्न सडकहरु बनेका छन्, बाक्लो वस्ती र बजार फैलिएका छन् । त्यसैलाई ध्यानमा राखेर पुरानो व्यवस्था हटाइएको हो,’ प्रमुख पन्तले भने ।

अब यसअनुसार ट्याक्सी चालकलाई मिटर नवीकरणका समयमा सम्झौतामा हस्ताक्षर गराइनेछ । हाल ट्याक्सी चढ्नासाथै १४ रुपैयाँबाट भाडादर सुरु हुन्छ । प्रतिकिलोमिटर ३९ रुपैयाँका दरले मिटरमा बिल उठ्छ ।

ट्याक्सी चालकले मिटरको बिल प्रिन्ट गरेर दिनुपर्ने व्यवस्था छ । उपत्यकामा दर्तामा रहेका ९ हजारभन्दा बढी ट्याक्सीले अहिले सेवा दिइरहेका छन् । तर, अधिकांश ट्याक्सी मिटरमा नचल्ने समस्या ब्याप्त छ ।

पछिल्ला दिनमा महानगरीय ट्राफिक प्रहरी महाशाखाले ‘हाउ मच’ अभियान चलाएर मिटरमा नगुड्ने ट्याक्सीमाथि कारवाही गरिरहेको छ । दैनिक ६५ देखि ७० वटा ट्याक्सी कारवाहीमा पर्ने गरेका छन् ।

तर, अघिल्लो दिनमा कारबाहीमा परेका ट्याक्सी भोलिपल्टै पुनः ठगीमा लाग्ने गरेको भेटिएको छ । जरिवाना रकम थोरै हुँदा ट्याक्सीहरुले ठग्ने क्रम रोकिन सकेको छैन ।

भनेको गन्तब्यमा जान नमान्ने, मिटरमा गुड्न अस्वीकार गर्ने ट्याक्सीलाई ट्राफिकले ३ हजारसम्म जरिवाना गर्ने गरेको छ । ५ पटकसम्म पनि गल्ती दोहोराएको भेटिएर चालकको ६ महिना लाइसेन्स निलम्बन हुन्छ ।

यात्रु पनि सचेत नहुँदा ट्याक्सीमा ठगीको समस्या घटेको छैन । ट्राफिक प्रहरीले चलकाएको कारवाही अभियान पनि प्रभावकारी नहुँदा यात्रुले चर्को भाडा तिरेर ट्याक्सी चढ्नुपर्ने बाध्यता कायमै छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment