Comments Add Comment

मुस्लिम आयोगका प्रस्तावित अध्यक्षको नागरिकता नक्कली !

८ फागुन, काठमाडौं । मुस्लिम आयोगको प्रस्तावित अध्यक्ष समिम अन्सारीले पेश गरेको नागरिकतासम्बन्धी कागजात नक्कली भएको पुष्टि भएको छ ।

अन्सारीको नागरिकता र शैक्षिक प्रमाणपत्र नक्कली भएको उजुरी संसदीय सुनुवाई समितिमा परेको थियो । सुनुवाई समितिले संवैधानिक परिषद्लाई अन्सारीको सबै प्रमाणपत्र माग गरेको छ भने जिल्ला प्रशासन कार्यालयलाई नागरिकतासम्बन्धी सबै विवरण उपलब्ध गराउन भनेको छ । साथै निर्वाचन आयोगलाई पनि नेकपा केन्द्रीय समितिको सदस्यहरुको सूची माग गरेको छ ।

समिति स्रोतका अनुसार गरेको प्रारम्भिक अध्ययनका क्रममा समिमले संवैधानिक परिषदमा पेश गरेको नागरिकता र सरकारी ढड्डामा भएको तथ्यांक मिलेन ।

समिमले संवैधानिक परिषदमा पेश गरेको आफ्नो नागरिकताको फोटोकपीमा जन्ममिति ०३६ साल असोज २० गते र स्थायी ठेगाना काठमाडौं-९ उल्लेख गरिएको छ । ०५५ पुस २२ गते नागरिकता बनाएका उनले पेश गरेको नागरिकता पछि ‘प्रतिलिपि लिएको पाइएको छ ।

तर, जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट प्राप्त कागजात भने फरक छ । नागरिकता बनाएको मिति सही छ । तर, समिमको जन्ममिति ०३० साल असोज २४ गते उल्लेख छ । साथै स्थायी ठेगाना काठमाडौं-१९ उल्लेख गरिएको छ ।

जिप्रकामा भएको ढड्डामा ०३० लेख्दा शुन्यमा भने केरमेट जस्तो बनाइएको छ । काठमाडौं महानगरका तत्कालीन उपप्रमुख विदुर मैनालीले नागरिकताका लागि गरेको सिफारिसमा पनि जन्ममिति ०३० साल असोज २४ गते स्थायी ठेगाना काठमाडौं-१९ नै छ ।

अझ शंकास्पद के भने जिप्रकामा भएको ढड्डा र समिमले पेश गरेको नागरिकताको फोटोकपी दुबैमा उनको नागरिकता जारी गर्ने सीडीओको नाम उल्लेख छैन ।

अनलाइनखबरले हेरेको जिप्रका, काठमाडौंको ढड्डामा समिमभन्दा अघिल्लो र पछिल्लो नागरिकता लिनेको विवरणसँगै जारी गर्ने अधिकारीको नाम पनि उल्लेख गरिएको छ । तर, समिमको हकमा ‘द’ मात्र लेखिएको छ ।

उनीसँग भएको नागरिकतामा पनि जारी गर्ने सीडीओको नाम उल्लेख गरिएको छैन, हस्ताक्षर मात्र छ ।

सुनुवाई समितिका सदस्य भन्छन्, ‘उनको नागरिकता र शैक्षिक प्रमाणपत्र दुबै नक्कली भएको देखिन्छ । संवैधानिक परिषद् र जिप्रकाबाट सबै डकुमेन्ट आएपछि प्रष्ट हुन्छ ।’

समितिमा रहेका नेकपाका सांसदहरु समेत उनलाई अस्वीकृत गर्ने पक्षमा देखिएका छन् । यद्यपि नेकपा सांसदहरुले पार्टी नेताहरुसँग परामर्श गर्न बाँकी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment