Comments Add Comment

सरकारलाई उद्योगीको सुझाव- भारतसँग व्यापार घाटा कम गर्न सल्लो र खयर रोपौं

निर्यातजन्य उद्योगलाई सरकारले असहयोग गरेको गुनासो

९ फागुन, बुटवल । भारतसँग नेपालको व्यापार घाटा कहालीलाग्दो अवस्थामा छ । आयातको तुलनामा निर्यात नगण्य छ । यस्तो निराशाजनक अवस्थाका बीच नेपालमा केही यस्ता उद्योगहरु पनि छन्, जसले आफ्नो उत्पादनको करिब ९५ प्रतिशत हिस्सा भारत निर्यात गरेर वर्षेनी करोडौं रुपैयाँ नेपाल भित्र्याइरहेका छन् ।

औंलामा गन्न सकिने यस्तै उद्योगमध्ये एक हो–रुपन्देही तिलोत्तमा—१६ को माउन्ट एभरेष्ट कथ्था मिल । यो उद्योगले खयरका काठ प्रशोधन गरेर कथ्था र सल्लाको खोटो प्रशोधन गरेर तारपिन तेल र रोजिन उत्पादन गरी भारत निर्यात गर्छ ।

यो उद्योगबाट उद्योगले बर्सेनि भारु ५० करोडभन्दा बढी नेपाल भित्रिने गरेको छ । यस्ता प्रकृतिका उद्योगमध्ये यो नेपालकै ठूलो र रुपन्देहीको पहिलो हो । उद्योगले पहाडका जंगलमा त्यत्तिकै खेर जाने सल्लाको खोटो र बेंसीमा पाइने खयरको काठ स्थानीयबाट संकलन गरेर उद्योगमा ल्याएर प्रशोधन गरी भारत निर्यात गर्दै आएको छ ।

नेपालमा रहेको ६० लाख बिघा खेतीयोग्य जग्गामा प्रतिबिघा २ सयका दरले सफ्ट उड लगाउँदा एक वर्षमा ३६ करोड आम्दानी हुने उनको हिसाब छ

काष्ठ व्यवसायी बसन्त रोका क्षेत्रीसहित चार जनाले ०६३ सालमा शुरु गरेको उद्योगले २० भन्दा बढी पहाडी जिल्लाबाट खोटो र खयर खरिद गर्दै आएको छ ।

करिब ५० करोड रुपैयाँ लगानी र ७ बिघा क्षेत्रफलमा फैलिएको उद्योगमा कथ्था, तारपिन तेल र रोजिन उत्पादन गर्ने छुट्टाछुटै प्लान्टहरु छन् । उद्योगबाट एक वर्षमा १५ सय टन रोजिन, ३ सय टन तारपिन तेल र करिब ३ सय टन कथ्था उत्पादन हुँदै आएको उद्योगका सञ्चालक वसन्त रोक्का क्षेत्रीले अनलाइनखबरलाई बताए ।

तारपिन तेलको ९० प्रतिशत उत्पादन नेपालकै रंग उद्योगहरुमा खपत हुन्छ भने कथ्था र रोजिन भने ९५ प्रतिशत भारत निर्यात हुन्छ ।

उद्योगले एक वर्षमा कम्तिमा २५ सय टन खोटो खरिद गर्ने गरेको छ । उद्योगले विशेष गरी दुर्गम पहाडी जिल्लाका सामुदायिक वन र निजी वनबाट खोटो र खयर संकलन गर्दै आएको छ । खोटो र खयर संकलन गर्न ७ सय जना र उद्योगका तीन प्लान्टमा ३ सय जना गरी एक हजार मानिसले प्रत्यक्ष रोजगारी पाएको उद्योगका प्रबन्धक दीपक रोकाले बताए ।

कथ्थाको प्रयोग पान, गुट्खा र औषधि बनाउन हुने गर्छ भने रोजिन फेसियल, कस्मेटिक, मसी, औषधि आदि उद्योगहरुमा औद्योगिक कच्चा पदार्थका रुपमा प्रयोगमा आउँछ ।

उद्योगबाट बाइप्रोडक्टका रुपमा फिनेल बनाउने तरल पदार्थ पनि उत्पादन हुन थालेको छ । साल्लाको खोटो र खयरका काठ संकलन गरेर ल्याउँदा सामुदायिक वनहरुलाई उद्योगले प्रतिकेजी १२ रुपैयाँका दरले रोयल्टी बुझाउँदा उक्त रकमले दुर्गम क्षेत्रका समुदाय प्रत्यक्ष लाभान्वित भइरहेका उद्योगका सञ्चालक रोक्का बताउँछन् । ‘विगतमा त्यत्तिकै खेर जाने खोटो र खयरले राम्रो मूल्य पाएको छ, हजारौं स्थानीयहरु स्वरोजगार र आत्मनिर्भर हुन पुगेका छन्’—संचालक रोक्का भन्छन्– ‘हामीले तिर्ने रोयल्टीबाट दुर्गमका जिल्लाहरुमा खानेपानी, सडक, विद्यालय र समुदायको आवश्यकता अनुसारका थुप्रै संरचनाहरु पनि बनेका छन् ।’

उद्योगले विभिन्न जिल्लाका करिब ६ सय बिघा क्षेत्रफलमा पाउलानिया, मसला, अगरउड, रुद्राक्ष, बोधिचित्त, खयर लगायतका जातका विरुवा, जडीबुटी र रुख रोपेको रोक्काले बताए । उनले भने– ‘करिब ७ लाख बिरुवा रोपेका छौं, एक डेढ लाख त काट्ने भइसके ।’

सरकारसँग गुनासो

पूर्णतया स्वदेशी कच्चा पदार्थको प्रयोगबाट उत्पादन गरी विदेश निर्यात गर्ने उद्योग भए पनि उद्योगले भोग्नुपरेको चर्को रोयल्टी शुल्क, चर्को बैंक ब्याज दर, निर्यातजन्य उद्योगलाई दिनुपर्ने सुविधा नदिइएकोप्रति सरकारको नजर पुग्न नसकेको उद्योगी रोक्काको गुनासो छ ।

विदेशमा रोजिनको मूल्य घटेको अवस्थामा नेपालमा रोयल्टी ८ रुपैयाँ प्रतिकेजीबाट एकैचोटि १२ रुपैयाँ पुर्‍याइँदा आफूहरु मर्कामा परेको रोक्का बताउँछन् ।

निर्यातजन्य उद्योगलाई संरक्षण र प्रबर्द्धन गर्ने सरकारको स्पष्ट नीति नहुँदा राम्रो सम्भावना हुँदाहुँदै पनि यस्ता प्रकृतिका उद्योगहरु १८ वटाबाट घटेर आधा दर्जनमा झरेको उनले खुलस्त पारे ।

‘सरकार रोयल्टी र कर मात्रै बढाउँछ, तर यस्ता उद्योगलाई कसरी संरक्षण र सहुलियत प्रदान गर्ने भन्ने कहिल्यै सोच्दैन’ उद्योगका प्रबन्धक दीपकले भने, ‘हाम्रा उत्पादनले चीन, ब्राजिल, अर्जेन्टिना लगायतका विकसित देशहरुसँग प्रतिस्पर्धा गर्नुपरिरहेको छ । तर सरकारबाट कुनै सहयोग पाएका छैनौं ।’

खोटो संकलन गर्न स्थानीय कामदारलाई प्रतिव्यक्ति २५ हजारदेखि ५० हजार रुपैयाँसम्म पेश्की रकम दिनुपर्दा करोडौं रकम अतिरिक्त लगानी गर्नुपर्ने अवस्था रहेको उद्योगीको भनाइ छ ।

विगतमा त्यत्तिकै खेर जाने खोटो र खयरले राम्रो मूल्य पाएको छ, हजारौं स्थानीयहरु स्वरोजगार र आत्मनिर्भर हुन पुगेका छन्

उत्पादित खोटो र खयर संकलन गरी उद्योगसम्म पुर्‍याइदिने काम राज्यले गर्नुपर्ने, निर्यातजन्य उद्योग भएकाले जिल्ला र पालिकैपिच्छे विभिन्न नाममा कर लिन नहुने उद्योगी रोकाको माग छ ।

नदी किनार र खाली जग्गामा वृक्षारोपण गरौं : उद्योगी

व्यवसायका क्रममा देशका अधिकांश जिल्ला घुमेका उद्योगका सञ्चालक रोक्काले नेपालको ६० लाख हेक्टर वनमध्ये १० प्रतिशत अर्थात ६ लाख हेक्टर वनक्षेत्र खाली रहेकाले त्यसमा वृक्षारोपण गर्नुपर्ने सरकारलाई सुझाउँछन् । यो खाली वन क्षेत्रमा एक हेक्टरमा १६ सय विरुवाका दरले विरुवा रोप्ने हो भने विरुवा हुर्केपछि वर्षदिनमा ३ खर्ब रुपैयाँ आम्दानी लिन सकिने रोक्काको दाबी छ ।

‘१० प्रतिशत खाली रहेको वन क्षेत्रमा वृक्षारोपण गर्ने हो भने वर्षमा करिब तीन खर्ब आम्दानी लिन सक्ने आंकलन छ’ रोक्का भन्छन्, ‘आम्दानी दिने जिम्मा हामी लिन्छौं सरकारले खाली रहेको वनलाई बिरुवा रोपेर हरियाली बनाओस् ।’

खयरको बिरुवा अरु खेती गर्न नमिल्ने ढुंगे बगर र गेग्रेटोमा पनि लगाउन सकिने, पानी पनि खासै नचाहिने र एकपटक हुर्केपछि तीन पटकसम्म त्यसको उत्पादन लिन सकिने भएकाले व्यवसायिकरुपमा यसको वृक्षारोपणलाई देशव्यापी अभियानका रुपमा लैजानुपर्ने उद्योगी रोकाको सुझाव छ ।

यसैगरी, उत्तरमा चीनको सीमादेखि दक्षिणमा भारतीय सीमासम्म बग्ने सबै नदीको दुवैतर्फ किनारमा बांस र अम्रिसो खेती गर्नुपर्ने उनको सुझाव छ । ‘गण्डकी, कोशी, कर्णाली, नारायणी आदि नदी किनारको दाया बाया बांस र अम्रिसो लगाउन सकिन्छ, जाजरकोट हुंदै बग्ने भेरी नदी किनारमा हजारौंको संख्यामा रुख कटहर लगाउन सकिन्छ,’ उनले भने, ‘रुख कटहरको फलबाट वाइन पनि बनाउन सकिन्छ, जसले विदेशी महंगो वाइनलाई विस्थापित गर्न सक्छ र रुखबाट काठ उत्पादन हुन्छ, यसरी वर्षेनी लाखौं रोजगारी सिर्जना हुने र करोडौंदेखि अर्बौंसम्म कमाउन सकिन्छ ।’

खेतका आली र कान्लामा सफ्ट उड लगाऔं

तराईदेखि पहाडसम्मका खेतका आली र कान्लामा सफ्ट उड लगाउनुपर्ने उद्योगी बसन्त रोकाको सुझाव छ । सफ्ट उड पात झर्ने खालको विरुवा भएकाले त्यसबाट मल बनेर यसले बालीनालीलाई असर हैन झन् फाइदा गर्छ । एक बिघा खेतको आली र कान्लामा मात्रै २ सय बोट सफ्ट उड रोप्न सकिने रोका बताउँछन् । यसले वर्षमा न्यूनतम ६० हजार अतिरिक्त आम्दानी दिन्छ ।

नेपालमा रहेको ६० लाख बिघा खेतीयोग्य जग्गामा प्रतिबिघा २ सय का दरले सफ्ट उड लगाउँदा एक वर्षमा ३६ करोड आम्दानी हुने उनको हिसाब छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment